खेलाडीले निर्धक्क खेल्ने अवस्था नै छैन : मन्त्री लिम्बू

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूले खेलाडीले निर्धक्क खेल खेल्ने वातावरण निर्माण गर्न नसकिएको स्वीकार गरेका छन् ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लिम्बूले खेल खेल्दा खेलाडीलाई केही भइहाल्छ कि भनेर पिरोलिनु पर्ने अवस्था रहेको स्वीकार गरे ।
उनले भने ‘खेलाडीहरूको लागि बिमाको समस्या छ । अहिलेसम्म यात्रु बिमा जस्तो गरेर खेलाडीहरूले खेलिरहेको अवस्था रहेछ । खेल खेल्दै गरेको छोरा छोरीलाई केही भइहाल्छ की भन्ने चिन्ताले आमा बुवा पिरोलिरहेको अवस्था छ । आगामी दिनमा खेलाडीहरूको जीवन बिमा गरेर ढुक्क भएर खेल्ने खालको वातावरण बनाउनु पर्ने अवस्था छ त्यसलाई नीतिगत रूपमा अगाडि बढाउने कार्य भइरहेको छ । ’
मन्त्री लिम्बूले भौतिक पूर्वाधारको क्षेत्रमा पुँजीगत खर्च ९ प्रतिशत मात्र गरेको देखिएकोले यसको लागि छुट्टै इकाई निर्माण गरेर समयमा नै पूर्वाधार निमार्ण सम्पन्न गर्नु पर्ने बताए ।युवा नीति २०७२ लाई संशोधन गरेर युवाहरूलाई सशक्तीकरण गर्ने र प्रोत्साहन गर्ने उनको भनाई छ ।