हेल्प नेपाल र त्रिभुवन आर्मीको लगातार जीत

काठमाडौं । टिपटप हेल्प नेपाल क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार चौथो जित हात पार्दै अंक तालिकामा शिर्ष स्थानमा रहेका छन् ।
नेपाल भलिबल संघको आयोजनमा भएको लिगको आज सम्पन्न खेलमा हेल्प नेपालले नेपाल पुलिसलाई ३-२ सेटमा पराजित गर्दै अंक तालिकामा शिर्ष स्थानमा रहेको हो । टिपटप हेल्प नेपालले पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पायो । दोश्रो सेट पुलिसले २५-२० ले नै जित्दै खेललाई १-१ सेटको बरावरीमा ल्यायो । यस्तै पुनः हेल्प नेपालले तेश्रो सेट ३०-२८ ले जित्दै खेललाई २-१ को अवस्थामा ल्यायो । चौथो सेटमा हेल्प नेपाल पुलिससंग १८-२५ ले पराजित भए पश्चात खेल २-२ को अवस्थामा पुग्यो । संघर्षपूर्ण अन्तिम तथा निर्णायक खेलमा हेल्प नेपालले २४-२२ ले जित्दै थप ३ अंक बटुल्यो । यसका साथ चार खेलबाट टिपटप हेल्प नेपालको १२ अंक भएको छ ।
यस्तै अर्को खेलमा आर्मीले पनि अर्को विभागिय टोली एपिएफलाई ३-२ को संघर्षपूर्ण जित निकाल्यो । आर्मी पहिलो सेट एपिएफसंग १८-२५ ले पराजित भयो । दोश्रो सेट २६-१६ ले जित्न सफल भएको आर्मी तेश्रो सेटमा पुनः २४-२६ ले एपिएफलाई सुम्पन बाध्य भयो । चौथो सेट २८-२६ ले जित निकाल्दै आर्मीले खेललाई २-२ को बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक खेल १७-१५ ले जित्दै आर्मीले आफ्नो खातामा थप ३ अंक जोड्यो । यसका साथ आर्मीको पनि ११ अंक भएको छ ।
पुरुषकै अर्को खेलमा सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लबले दावाँली मिलन क्लबलाई ३-२ को सेटमा पराजित गर्दै ३ अंक जोड्यो । सैलुङ्गले २५-१९, १४-२५, २२-२५, २५-२१, १५-१३ ले पराजित गर्दै पहिलो जितका साथ ३ अंक जोडेको हो ।