एनआरएनए अमेरिका : अबको अध्यक्ष को ? ‘संस्थापन पक्ष अलमलमा, इतरपक्ष आक्रमक’

Getting your Trinity Audio player ready...
|
बिष्णु हरि घिमिरे
पेन्सिलभेनिया,अमेरिका / गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको चुनावी माहोल तात्न थालेको छ। संस्थापन पक्ष आन्तरिक सकसमै रहेको अवस्थामा इतरपक्ष भने टिम नै बनाएर आक्रमक रुपमा अगाडि बढेको छ।
अध्यक्षका स्वाभाविक दावेदार वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले ‘हात उठाए’ पछि संस्थापन पक्ष दवावमा परेको देखिन्छ।अमेरिकामा संस्थापन इतरको मत धेरै छ तर त्यो मत सदैव विभाजित हुदाँ अल्पमतमा रहेर पनि संस्थापन पक्षले ‘राज’ गर्दै आएको छ।
यस पटक संस्थापन पक्षबाट अध्यक्षका लागि वर्तमान कमिटीका उपाध्यक्ष दिलु पराजुलीलाई अगाडि सारिने तयारी हुदै थियो। वरिष्ठ उपाध्यक्ष र यस अगाडिका निर्वाचनमा राम्रै मत पाएका कृष्णजीवी पन्तको जाने ठाँउ अध्यक्ष नै हो भन्ने थियो।
अघिल्लो पटकको निर्वाचनमा अध्यक्ष पदमा तेस्रो भएका डा. अर्जुन बञ्जाडे हारको चोटबाट मुक्त हुन सकेका थिएनन्। ‘यस पटक गल्ति गरिएछ अर्को पटक त्यो सच्याउने मौका दिनु है भनेर साथीहरुले भनेका छन्।’ यो दुई वर्षमा बञ्जाडेले सबै भन्दा बढी दोहोर्याएको बाक्य थियो।
‘पदकै लागि मरिहत्ते’ गर्ने परम्परालाई तोड्न अप्रत्यासित कदम लिएको पन्तले आफु निकटलाई बताउदै आएका छन्।
अघिल्लो पटकको निर्वाचनका उवविजेता कृष्ण लामिछानेको मलामी जादा पन्तले टेक्सासमा आफ्नो कोर टिममा आफू अब अध्यक्ष उमेदवार नहुने घोषणा गरेका थिए।
पराजुली,पन्त र बञ्जाडे बीच प्रतिस्पर्धा हुदाँ पराजुलीलाई सजिलो हुने संस्थापन पक्षको आकलन थियो।
तर पन्तको घोषणा पछि, असजिलोमा परेको संस्थापन पक्षलाई अर्का उपाध्यक्ष सुमन थापाको कदम फलामको चिउरा बनेको छ। अघिल्लो साता भर्जिनियामा पन्त माथि संस्थापन पक्षले गरेको ‘प्रस्ताव’ लाई त्यसैको छनकको रुपमा लिन सकिन्छ।
एनआरएनए अमेरिकाको कार्यलय उद्घाटनका लागि जम्मा भएका संस्थापन पक्षका भेट्रान ‘नेता’ नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री डा. यादव पण्डित, एनआरएनए आइसीसीका महासिव एवं अमेरिकाका पूर्व अध्यक्ष डा. केवश पौडेल, एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सुवेदी, एनआरएनए अमेरिकाका संरक्षक बिष्णु सुवेदी लगायतको प्रस्तावलाई पन्तले ‘ढिलो भयो’ भन्दै टारिदिएको बताइएको छ।
भर्जिनियामा पन्तलाई सर्वसम्वतको अध्यक्ष बन्न आग्रह गरिएको थियो। ‘पन्त अध्यक्ष, पराजुली बरिष्ठ उपाध्यक्ष, बञ्जाडेलाई क्षेत्रीय संयोजक र थापालाई उप संयोजक (आरसी र डिआरसी) बनाउदा सबैलाई समेटिने र एकताको सन्देश जाने भन्दै गरिएको प्रस्तावलाई पन्तले नकारे।
‘हो मलाई त्यस्तो प्रस्ताव आएको हो तर मैले पहिला केही भन्नु भएन अब म बचनबाट पछाडि हट्दिन, ढिला भयो भन्ने जवाफ दिए।’ समाज टाइम्स सँग पन्तले भने।
उनले आफु पनि सर्वसम्मतिको पक्षमा रहेको तर अब बाँकी मध्येमा खोजिनु पर्ने आडानमा रहेको बताए।
‘डाक्टर बञ्जाडे सिनियर पनि हो।’ पन्तले भने, ‘उहाँको तिब्र इच्छा संस्थाको प्रमुख भएर काम गर्छु भन्ने छ। उहाँ बरिष्ठ उपाध्यक्ष भएको बेला म उपाध्यक्ष थिए। उहाँको कामबाट म प्रभावित छु।’ पन्तले आफ्नो समर्थन बञ्जाडेलाई नै हुने बताए।
बञ्जाडे टिमको बरिष्ठ उपाध्यक्षमा बिकास उप्रेति र महासिचवमा गोपेन्द्र भट्टराईलाई अगाडि सारिएको छ। सामाजिक सञ्जालमा व्यानर सार्वजनिक गरेको यो समुहले जुन ११ तारिक टेक्सासबाट औपचारिक रुपमा उमेदवारी घोषणा सभा गर्ने तयारी गरेको छ।
संस्थापन इतर चुनावी अभियानमा होमिदा संस्थापन पक्षले अध्यक्षको अन्तिम टुङ्गो लगाउन सकेको छैन।
‘अब केही दिनमा म औपचारिक घोषणा गर्छु।’ समाज टाइम्स सँग एनआरएनए अमेरिकाका उपाध्यक्ष दिलु पराजुलीले भने। अनौपचारिक रुपमा भने उनी तीन महिना देखि मैदानमा छन्।
अर्का उपाध्यक्ष सुमन थापाका कारण संस्थापन पक्ष तिब्र दवावमा देखिएको छ। शुरुमा यो समुहले पराजुलीलाई अध्यक्ष र थापालाई बरिष्ठ उपाध्यक्षमा तयारी गरेको थियो।
तर सदस्यता विस्तारको अन्तिम साता थापा आफै अध्यक्ष हुने भन्दै देश दौडाहमा निस्किए।
‘मलाई केही दिन अझै समय दिनुस अहिले सम्म अन्तिम निर्णय भएको छैन्, साथीहरु सँग छलफलमा नै छु, के हुन्छ भन्ने चाडै नै आउछ।’ थापाले भने,’म दिलु पराजुलीको बरिष्ठ उपाध्यक्ष चै होइन है होइन।’
उनले अध्यक्षमा चुनाव लड्ने कि नलड्ने भन्नेमा पर्ख र हेरको अवस्थामा रहेको तर बरिष्ठ उपाध्यक्षमा चुनाव नलड्ने बताए। ‘भए अध्यक्षमै हो अन्य पदमा म चुनाव लड्दिन।’ थापाले भने।
थापाको यही अडान अहिले संस्थापन पक्षलाई भारी भएको छ। जसका कारण उनीहरुले टिम मिलाउन सकेका छैनन्।
‘धेरै साथीहरु लाइनमा हुनु हुन्छ उहाँहरुलाई मिलाएर बनाउने हो, टिममा सल्लाह हुदै छ।’ पराजुलीले भने।
संस्थापन पक्ष अब बरिष्ठ उपाध्यक्ष कसलाई बनाउने भन्ने खोजिमा रहेको बताइएको छ। महासचिवमा पनि अहिलेका कोषाध्यक्ष राजीव श्रेष्ठ, सचिव अनुप खनाल र यस अगाडि उपाध्यक्षमा हारेका रामहरी अधिकारी बीच तानातान छ।
पराजुली अध्यक्ष र थापा बरिष्ठ उपाध्यक्ष भए त्यो सबै भन्दा बलियो टिम हुने अनुमान गरिएको छ। यदी संस्थापन पक्षबाट थापा बाहिरिए भने बञ्जाडेले दोस्रो हारबाट पार पाउन सक्छन्।
थापा संस्थापन पक्षमा पछि भित्रिएका व्यक्ति हुन्। उनी टेक्सासका व्यापारी पासाङ शेर्पाको छत्रछायामा रहदै प्रवासी नेपाली राजनीतिमा उदाएका हुन्। थापालाई संस्थापनले पुरै ‘भर’ नगरेको अवस्थामा उनलाई भड्काउन सकियो भने खेल जितिने संस्थापन इतरको योजना देखिन्छ।
अमेरिका भ्रमणमा आएका एनआरएनए आइसीसीका पूर्व अध्यक्ष शेष घलेलाई टेक्सास विमानस्थलमा स्वागत गर्न पुगेर थापाले आफुलाई पुरानै टिमको पनि समर्थन छ भन्ने सन्देश पनि दिएका छन्। एनआरएनए आइसीसीको बिद्रोहमा शेष घले र पासाङ शेर्पा एकै ठाँउमा छन्। आइसीसीमा ‘वार्ता’ को चलखेल जारी नै छ।
चुनावी माहोल चर्किदै जाँदा अध्यक्षको आकांक्षी पनि थपिएका छन्। वर्तमान कार्यसमितिकी महिला उपाध्यक्ष दिक्षा बस्नेतले पनि आफु अब पाछाडि नहट्ने बताएकी छिन्।
‘यत्रो वर्ष काम गरे अब पछाडि हट्ने होइन, परिस्थिति त्यस्तै भयो ।’ समाज टाइम्स सँग उनले भनिन्, ‘सर्वसम्मत भएन भने म पनि अध्यक्षको उमेदवार हो, एउटै मात्र अध्यक्षको उमेदवार हुदाँ सहयोग गर्ने भनेको हो। तर चुनावमै जाने हो भने किन पछि हट्ने, म पनि उमेदवारी दिन्छु ।’
उनले आफुहरु बलियो टिम सहित चुनावी मैदानमा उत्रने बताइन। ‘हामीलाई सहयोग गर्ने बलियो शक्ति छ, टिम नै बनाएर आउछौ। जुन १५ सम्म टिम घोषणा हुन्छ।’उनले भनिन्।
फेरि पनि भिडन्त पौडेल र जोशीकै, सुनिल शाह कता ?
एनआरएनए अमेरिकाको अध्यक्षमा अहिले सम्म चार जनाको चर्चा भए पनि समग्रमा भिडन्त भने आइसीसीका महासचिवद्वय गौरी जोशि र केशव पौडेलका बीचमा हुने देखिन्छ।
संस्थापन पक्षमा असन्तुष्टलाई आफ्नो टिममा निम्तो दिदै उमेदवार बनाउदै आएका जोशीले यस अगाडि कृष्ण लामिछानेलाई बोकेका थिए। यस पटक जोशीले डा.बञ्जाडेलाई धाप मार्ने भएका छन्। अध्यक्षमा आफ्नो उमेदवार नपाए पनि जोशीले बरिष्ठ उपाध्यक्षमा बिकास उप्रेतीलाई सेटल गराएका छन्।
बञ्जाडे समुहको औपचारिक घोषणा नै टेक्सासमा रहेको जोशीकै रेष्ट्ररेष्टबाट हुने भएको छ। जोशी आफै सो कार्यक्रममा सहभागि हुने बताइएको छ।
अघिल्लो पटक आफ्नो बचनमा अडिक रहेको बन्दै बञ्जाडेलाई दह्रो साथ दिएका एनआरएनए आइसीसीका कोषाध्यक्ष तथा अमेरिका निवर्तमान अध्यक्ष सुनिल शाह यस पटक शुरु देखि नै बञ्जाडेको पक्षमा देखिएका छन्।
राजनीति कठोर हुन्छ भन्ने गरिन्छ। हुन पनि डा.पौडेल पक्षका व्यक्ति एक पछि अर्को गर्दै जोशी कित्तामा पुगेका छन्।
पौडेल र साह कुनै समय नङ्गमासुको सम्वन्धमा थिए। तर यस पटकको चुनावमा जोशी र शाह एक ठाँउमा हुने भएका छन्।
यस अगाडिका हरेक चुनावमा साथमा रहदै आएका गोपेन्द्र भट्टराईले पनि यस पटक पौडेलको समुहलाई वाईवाई गरेका छन्। जवकी भट्टराईलाई टिममा राख्दा फरक पार्टीको मान्छेलाई बोकेको भनेर पौडेलको आलोचना भएको थियो। अहिले तिनै भट्टराई पौडेल सँग टाडा हुदै जोशी निकट पुगेका छन्। उपाध्यक्ष भइसकेका भट्टराई पद घटुवा हुदै नयाँ गुटमा होमिएका छन्।
भट्टराई जोशी लाइनमा पुगे पनि यस अगाडिको चुनावमा लामिछानेलाई भोट मागेका नेपाली जनसम्पर्क समितिका पूर्व संयोजक बिष्णु सुवेदी पुरानै टिममा फर्किएका छन्। तर जनसम्पर्कको राजनीतिमा सदैव सुवेदी सँग रहेका एनआरएनए आइसीसीका सचिव प्रमोद सिटौला जोशी सँगै रहेर बञ्जाडेलाई सहयोग गर्ने भएका छन्।
नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारी अहिले सम्म खुलेका छैनन्।’मेरो उमेदवार कृष्णजीवी पन्त हुन तर अब उनी मैदानमा नभए पछि म खुल्ला छु।’ त्यसको अर्थ जोशी सँग मनपेट जोडिएका भण्डारीलाई त्यो ‘टिम’ नाघ्न धौ धौ पर्ने देखिन्छ।
समग्रमा एनआरएनए अमेरिकाको चुनाव यस्तो मोडमा पुगेको छ की यहाँ नतिजाले भोली आइसीसीको निर्वाचनलाई खलबलाउने छ।
डा.पौडेल आइसीसीमा अब अध्यक्षको उमेदवार हुने तयारीमा छन्। एनआरएनए पश्चिम क्षेत्रीय सम्मेलनमा कांग्रेसीहरुको तर्फबाट डा. पौडेल अब अगाडि बडाउने भद्र सहमति भएको जनाइएको छ।
आइसीसीका उपाध्यक्ष महेश श्रेष्ठ र डा. पौडेल मध्ये कसलाई अगाडि बढाउने भन्नेमा कोर टिममा छलफल भएको थियो।
चार वर्ष अगाडि डा.पौडेल आइसीसी उपाध्यक्षमा २८ भोटले हारेका थिए। त्यो बेला उनलाई घर (अमेरिका) मिलाउन नसक्दाको क्षति भनिएको थियो। किनकी जोशी पक्षले खुलेरै पौडेलको विरोध गरेको थियो। आइसीसीको महासचिव पछि पछिल्ला समय जोशी र पौडेल सम्वन्धमा सुधार आएको आकलन गरिएको थियो।
तर अमेरिकाको चुनावले उनीहरुलाई फेर विपरित टिममा पुर्याउने संकेत गरेको छ। एनआरएनए अमेरिकाको अध्यक्षमा पात्र जो सुकै भए पनि भिडन्त पौडेल र जोशी बीच नै हुने माहोल विकसित भएको छ।