ए डिभिजन लिगमा मनाङ र पुलिस विजयी

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ । दशरथ रंगशालामा आज साँझ भएको खेलमा मनाङले खुमलटारएफसीलाई १–० गोलले पराजित भएको हो ।
पहिलो र दोस्रो हाफ गोलरहित बराबरीमा टुंग्निने अवस्थामा पुगेको खेलमा मनाङका रोशन राना मगरले गोल गरेका थिए । दोस्रो हाफको अतिरिक्त समयमा रानाले गोल गर्दै मनाङलाई १–० को जितमात्रै दिलाएनन् की उनले तालिकामा पनि ३ अंक थप्न सफल भए ।
५५ औं मिनेटमा खुमलटारका एलन थापाले पेनाल्टी मिस गर्नुनै दुर्भाग्य बन्न पुग्यो । मनाङले २३ खेलमा ३१ अंक जोडेको छ । मनाङ तालिकाको पाँचौं स्थानमा छ । खुमलटार भने २३ खेलमा २४ अंक जोडेर पुछारमा छ ।
यस्तै, आज भएको अर्को खेलमा विभागीय क्लब नेपाल पुलिसले न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गरेको छ । पुलिसको जितमा विदेशी खेलाडी मोसेर ग्याबाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । उनले ७९ औं मिनेटमा गरेका थिए । त्यसैगरी हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।