अमेरिकामा राखियो सडकको नाम ‘तेन्जिङ्ग नोर्गे शेर्पा मार्ग’
न्युयोर्क, अमेरिका / विश्वको शिखर सगरमाथाको शिखरमा पहिलो मानव पाइला राख्ने तेन्जिङ्ग नोर्गे शेर्पाको नाममा अमेरिकामा सडकको नामाकरण गरिएको छ।
न्युयोर्क राज्यको क्विन्स स्थित ज्याक्सन हाइटमा रहेको शेर्पा किदुग अगाडिको ७५ स्ट्रिट देखि उडसाइड सम्मलाई अब तेन्जिङ्ग नोर्गे शेर्पा मार्ग भनिने छ।
सगरमाथा दिवसको अवसर पारेर सोमवार औपचारिक रुपमा सडकको नामाकरण गरिएको हो। न्युयोर्क सिटी, शेर्पा किदुग, शेर्पा संघ अमेरिका र नेपाल अमेरिका आरोही संघको संयुक्त आयोजना कार्यक्रम गरिएको थियो।
कार्यक्रममा न्यूयोर्कस्थित नेपाल महावाणिज्य दूतावास कार्यवहाक महाबाणिज्यदूत विष्णुप्रसाद गौतम, न्युयोर्क सिटी काउन्सिल सदस्य शेखर कृष्णन,तेन्जिङ नोर्गे शेर्पाका छोरा नोर्बुको उपस्थिति रहेको थियो।
यसै गरि राज्य सीनेटर माइकल जियानारिस,राज्य सभा सदस्य क्याटालिना क्रुज,राज्य सभा सदस्य जेसिका गोन्जालेज-रोजास,काउन्सिल सदस्य जुली वोन पनि कार्यक्रममा सहभागि थिए।
युनाइटेड शेर्पा संघका अध्यक्ष टेम्बा शेर्पा, युएस नेपाल पर्वतारोही संघका अध्यक्ष पासाङ शेर्पा, शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा पनि कार्यक्रममा उपस्थित थिए।
अमेरिकाका रहेका नेपालीको सम्मानका लागि सडकको नामकरण गरिएको हो। यस अगाडि न्युयोर्कमै एभरेष्ट मार्ग नामकरण गरिएको थियो।