अयोग्य लडाकुलाई होइन योग्य लडाकुलाई रकम दिऊँ

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली क्रिकेट टिमको पछिल्लो यात्रा अविश्वसनीय रुपमा अघि बढी रहेको छ । नेपाली टिमका तत्कालिन प्रशिक्षक पुवुदु दशानायकेले राजिनामा दिएपछि मोन्टी देशाई माघमा नेपाली टिम सम्हाल्न आइपुगेका थिए ।
उनी आउँदा नेपालले एक दिवसीय वरियता जोगाउन निकै संघर्षरत थियो । तर अहिले अवस्था फेरिएको छ । नेपालले पछिल्लो समय १८ मध्य १६ खेल जित्दै एक दिवसीय वरियता मात्रै जोगाएको छैन, जिम्बावेमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा स्थान बनाएको छ भने अब सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा पनि स्थान पक्का गरेको छ ।
काठमाडौंमा मंगलबार सकिएको एसिसी प्रिमियर कपको फाइनलमा युएईमाथि ७ विकेटको सहज जित निकाल्दै नेपालले एसिया कपमा पनि स्थान बनाउँदा अहिले नेपाली क्रिकेट टोलीलाई बधाईको ओहिरो नै लागेको छ । नेपाली टिमले खेल जितेको केही मिनेटमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाईं दिँदै उचित सम्मान गरिने बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सभामुख देवराज घिमिरेसहित विभिन्न दलका अध्यक्ष तथा नेताहरु बधाई र शुभकामना दिएका छन् ।
यो शुभकामना दिने चलन नै हो । यसमा वाद विवाद गर्न जरुरी पनि छैन । तर जुन अवस्थामा नेपाली क्रिकेट छ, त्यसको विकासका लागि सरकार र नेताहरुले सोँच्न भने जरुरी छ ।
अहिले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नो १०० दिनको उपलव्धि सार्वजनिक गर्दा खेल क्षेत्रको पनि चर्चा गरेका थिए । संयोग नै मान्नुपर्छ उनी प्रधानमन्त्री भएदेखि नेपाली क्रिकेट टिमले अविश्वस्नीय रुपमा प्रर्दशन पनि गर्दै आएको छ ।
क्रिकेटका पूर्वाधार अहिले पनि बनि सकेका छैनन् । बल्ल नेपालसँग २ वटा अन्तर्राष्ट्रिय मैदान छन् । मूलपानी मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । अहिले पनि मूलपानीको तल्लो मैदान निर्माणाधिन अवस्थामा छ भने चितवनको गौतमबुद्ध रंगशाला पनि बनाउने भनेर सरकारले घोषणासम्म गरेको छ ।
त्यसैले अहिले जुन उपलव्धि नेपाली क्रिकेट टिमले हासिल गरेको छ । त्यसका लागि उनीहरु सम्मानका असली हकदार छन् । अहिलेको माओवादी सरकारले अनमिनले अयोग्य ठहर गरेका लडाकुहरुलाई जनही २ लाख दिने निर्णय गरेको छ । यसमा राजनीतिकरुपमा अहिले पक्ष र विपक्षमा बहस भइरहेको छ ।
ती अयोग्य लडाकु भन्दा नेपाली क्रिकेट खेलाडीहरु भनेका योग्य लडाकु हुन् । उनीहरुलाई समान्न गर्न र खेलेरै नेपालको नामलाई अन्तर्राष्ट्रिय एरेनामा चिनाउनका लागि सरकारले कुनै कसर बाँकी राख्नु हुन्न् । त्यसैले अन्त्यमा फेरि सवैले भनौं ‘अयोग्य लडाकु होइन, खेलेर देशको नाम उच्च बनाउने योग्य लडाकुलाई सम्मान र नगद पुरस्कार दिन राज्य र कसैले पनि कन्जुस्याईं नगरौं ।’