सञ्चारमन्त्री रेखाको प्रष्टिकरण : बाहिरका हल्लाको पछि नलाग्नुस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नवढ्ने स्पष्ट पारेकी छिन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले दूरसञ्चार ऐनलाई लिएर भ्रमपूर्ण विषय बाहिर आइरहेको भन्दै राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नवढ्ने बताएकी हुन्। मन्त्री शर्माले दूरसञ्चार विधेयक प्रारम्भिक मस्यौदा तयारीको अवस्थामा रहेकाले गलत काम हुन नदिने र गर्न नदिनेमा आफु स्पष्ट रहेको जिकिर गरिन् ।
दूरसञ्चार ऐनलाई अन्तिम रुप दिनका लागि सरोकारवालाहरुसंगको छलफल र यसअघिको कानूनलाई टेकेर मात्रै अघि बढ्ने उनले बताइन् । दूरसञ्चार ऐन २०५३ लाई खारेज गरेर नयाँ दूरसञ्चार विधेयक तर्जुमा गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट स्वीकृति प्राप्त गरिसकेको जानकारी दिदै मन्त्री शर्माले उक्त विधेयकको विषयमा प्रारम्भिक मस्यौदा तयार गर्न छलफल सुरु भएको जानकारी दिइन् ।
त्यस्तै उहाले दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गरी सर्वसुलभ र सबैको पहुँचमा पु¥याउनका लागि काम भइरहेको जानकारी दिइन् ।