बल्लतल्ल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरे, पूर्णता अझैं भएन
काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री प्रचण्डले बिभिन्न दलहरुलाई समेटेर सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त उपप्रधान सहित मन्त्रीहरुलाई शितल निवासमा आयोजित समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ गराएका छन् ।
सरकारमा सहभागी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, शहरी विकासमन्त्री सीता गुरुङले सपथ ग्रहण गर्नुभएको छ । त्यस्तै उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा शक्ति बस्नेत, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा महिन्द्रप्रसाद राय यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराती र सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदी सरकारमा सहभागी भएका छन् ।
भने रञ्जिता श्रेष्ठ चौधरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र लोसपाका शरतसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री बनेका छन् ।
त्यस्तै वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री, अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएको छ । सातौंपटक मन्त्रिपरिषद् विस्तार भएपनि सरकारले भने पूर्णता पाउन सकेको छैन ।














