मिटरब्याज पीडितहरुले सडकपेटीमै रात कटाए
काठमाडौं । ११ दिनको पैदलयात्रा गरेर काठमाडौं आइपुगेका मिटरब्याज पिडीतले सडक पेटीमै रात कटाएका छन् । काठमाडौंका खुलामञ्चमा प्रवेश नपाएका उनीहरुले खुलामञ्च अगाडिकै सडक पेटीमा बसेर रात कटाएका हुन् ।
सोमबार प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि मिटरब्याज पीडितहरूले खुलामञ्चको गेट अगाडि प्रदर्शन समेत गरेका थिए । महोत्तरीको बर्दिवासदेखि ११ दिनको पैदल यात्रापछि उनीहरु काठमाण्डौ आइपुगेका हुन् ।
सरकारले पहिले आफूसँग गरेका सम्झौता पालना गर्नुपर्ने उनीहरूको माग छ । न्याय खोज्दै ७२ जना पीडित पैदल हिँडेर काठमाण्डौ आएका छन् । मिटरब्याजविरुद्ध यसअघि पनि धर्नामा बसेका उनीहरु सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि फर्किएका थिए ।
तर सम्झौता कार्यान्वयन नभएपछि पुनः पैदलयात्रा गरेर काठमाडौं आएका छन् । गत जेठ अन्तिममा पनि देशभरबाट आएका पीडितहरु न्याय माग्दै माइतीघर मण्डलमा धर्ना बसेका थिए ।
जेठ र साउन गरी दुई चरणमा ६१ दिन धर्ना बसेपछि सरकारले असोज १ गते सम्झौता गरेको थियो । मिटरब्याज पीडितहरूले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने भएका छन् ।
यसअघि धेरै पटक सरकारबाट आश्वासन पाए पनि मिटर ब्याजीमाथि कारबाही नभएको र आफूहरूले न्याय नपाएको भन्दै अब भने समस्या समाधान नभएसम्म घर नफर्कने अडानमा उनीहरू रहेका छन् ।















