राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङको उम्मेद्वारी दर्ता
काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवास नेम्वाङको उमेद्वारी दर्ता भएको छ।
बानेश्वरस्थित संसद भवनमा पुगेर शनिवार दुबै जनाले उमेद्वारी दर्ता गराएका हुन्। पौडेललाई आठ दलीय गठबन्धनको समर्थन रहेको छ।
पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खान, जसपाका नेता अशोक राई रहेका छन्।
यस्तै, उनको समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे रहेका छन्।
चुनावअघिकै गठबन्धन ब्युँताएर माओवादीसहित आठ दलले राष्ट्रपतिमा कांग्रेस नेता पौडेललाई राष्ट्रपतिमा सर्मथन गरेका छन् ।
पौडेलको उम्मेदवारी दर्ताका लागि प्रस्तावक समर्थक लगायत शीर्ष नेताहरु संसद भवन पुगेका थिए ।
यसअघि एमालेको तर्फबाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका थिए।
एमाले अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विश्वकर्मा नेम्वाङको प्रस्तावक छन्।
यस्तै एमालेकै योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के सर्मथक छन् ।
उम्मेद्वारी दर्तापछि, कांग्रेस नेता पौडेलले राष्ट्रपतिमा सर्वसम्मत बत्रे आफ्नो इच्छा रहेको भन्दै संगै जेलमा बसेका एमाले अध्यक्ष ओलीले सहयोग गर्ने विश्वास ब्यक्त गरे । उनले भने
‘मैले सर्वसम्मत बत्रे इच्छा गरेको हो। निर्वाचनको दिनसम्म हुन्छ कि कोसिस रहन्छ। मैले अपेक्षा गरेको छु। एमाले अध्यक्ष ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो। पुरानो साथी हो। उहाँले पनि सबैको साझा पदमा सहमति जुटाउन योगदान गर्नुहोला भत्रे विश्वास लिएको छु।’
संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्नु अहिलेको चुनौती भएको बताउँदै आफुले जिते आफुले त्यसको सुदृढिकरणका लागि भुमिका खेल्ने बताए।
उम्मेदवारी दर्तापछि नेम्वाङले आफु राष्ट्रपतिमा निर्वाचित भए जनताको राष्ट्रपति भएको अनुभूत गराउने बताएका छन् ।
‘हामीले संविधान बनाएर राष्ट्रपतीय प्रणालीको व्यवस्था गरेको छौँ। त्यसभन्दा अगाडि निश्चित कुलको जेठो छोरा राष्ट्राध्यक्ष हुने प्रणाली थियो। तर हामीले जुनसुकै कुलमा जन्मिएको छोरा या छोरी राष्ट्रपति हुने व्यवस्था गरेका छौँ। अब जनताको राष्ट्रपति व्यवहारमा अनुभूत हुने गरी काम गर्ने मेरो प्रयास हुनेछ।’
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने छ।