आईसीसी यू–१९ छनोटमा कुवेतमाथि नेपालको ऐतिहासिक जित : अर्जुन र देवको शतक,आकाशको नाममा ६ विकेट
काठमाडौं । अर्जुन कुमाल र देव खनालको शतकीय योगदानमा आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतमाथि दुई सय ४३ रनको ऐतिहासिक जित हात पारेको छ।
युएईको मलेक क्रिकेट ग्रउन्डमा नेपालले दिएको तीन सय ४४ रनको लक्ष्य पछ्याएको कुवेत ३० दशमलव ५ ओभरमा एक सय रनमा अलआउट भएको हो ।
कुवेतलाई कम स्कोरमा रोक्ने क्रममा आकाश चन्द एक्लैले ६ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४३ रन दिएर ६ विकेट लिएका हुन् ।
१९ वर्षमूनीको टोलीका कप्तान गुल्सन झालाई सिनियर टिमबाट रिलिज गर्न प्रशिक्षक मोन्टी देसाईँले नमानेपछि उनको स्थानमा आकाशले अवसर पाएका आकाशले ६ विकेट लिएका हुन । उनी युएई जाने अघिल्लो दिन मात्रै टिममा परेका थिए ।
नेपालका तिव्र गतिका बलर हेमन्त धामी र स्पिनर दिपेश कंडेलले समान २–२ विकेट लिए ।
कुवेतका लागि ओपनर जुड क्रिस्टोफर सल्धनाले सर्वाधिक २६ रन बनाए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको हो । नेपालका लागि विस्फोटक ब्याटिङ गरेका देव खनालले ११७ बलको सामनागर्दै ९ चौका र ३ छक्का हान्दै १२५ रनमा आउट भए ।
आफ्नो करिअरको पहिलो शतक हिर्काएका अर्जुन कुमालले एक सय १२ बलमा १२ चौका हान्दै १०८ रनमा आउट भए ।
अर्जुन गत वर्षमात्रै यू—१९ एसिया कपमा बंगलादेशविरुद्धको खेलमा डेब्यू गरेका थिए ।















