राष्ट्रपति चुनाव समयमै गराउन कांग्रेसको माग, चुनावमा आफ्नो पक्षबाट पनि उम्मेदवार उठाउने निर्णय
काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी दलको दाबी गरिरहेको नेपाली कांग्रेसले राष्ट्रपतिको चुनाव समयमै गर्न माग गरेको छ । यसका साथै पार्टीले राष्ट्रपति चुनावमा उम्मेदवार पनि उठाउने भएको छ ।
सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले राष्ट्रपतिको निर्वाचन संविधानबमोजिम समयमै गर्न आग्रह गरेको हो ।
पार्टी प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचन समयमै गर्न माग गर्ने र राष्ट्रपतिको निर्वाचनको तयारीका विषयमा छलफल भएको बताए ।
‘राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ । कानुनमा कुनै समस्या छ भने पनि त्यसलाई बेलैमा संशोधन गरेर समयमै निर्वाचन गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय भएको छ,’ उनले भने, ‘त्यसका लागि हामीले संसद्मा रहेका सबै दलसँग समन्वय र संवाद गर्नेबारे छलफल भएको छ ।’
बैठकले सरकारले राष्ट्रपतिको निर्वाचन फागुन २८ भन्दा पनि पर धकेलेर मात्र गर्नका लागि प्रयास गरिरहेको भन्ने चर्चा सुनिएको भन्दै त्यसो गर्नु उपयुक्त नहुने भन्दै ध्यानाकर्षण गराएको हो ।
संविधानले राष्ट्रपतिको पदावधि पाँच वर्षको हुने र राष्ट्रपतिमा निर्वाचित भइसकेपछि कार्यकाल सुरू हुने व्यवस्था छ । तर, ऐनले भने राष्ट्रपतिको कार्यकाल समाप्त हुनुभन्दा एक महिना अगावै राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने व्यवस्था गरेको छ ।
कांग्रेसले संविधान र ऐनका बीचमा यसबारे देखिएको विरोधाभासलाई मध्यनजर गर्दै ऐनमा संशोधन र संविधानबमोजिम राष्ट्रपतिको निर्वाचन गर्न माग गरेको हो ।
बैठकपछि सहमहामन्त्री बद्री पाण्डेले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आफ्नै उम्मेदवार खडा गर्ने बताए । ‘अहिले हामीले राष्ट्रपतिको निर्वाचन समयमै माग गर्ने निणर्य गरेका हौँ,’ उनले भने, ‘को उम्मेदवार हुने ? भन्ने विषयमा छलफल भइसकेको छैन । तर राष्ट्रपतिमा कांग्रेसको आफ्नो उम्मेदवार हुन्छ । हाम्रो उम्मेदवारलाई जिताउनका लागि हामी सबै तागत प्रयोग गर्छौं । अन्य दलसँग पनि छलफल गर्छौँ । सकेसम्म जिताउने हाम्रो प्रयास हुन्छ ।’
उनले राष्ट्रपतिको कार्यकाल सकिएको दिन अर्को राष्ट्रपतिले पदबहाली गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । ‘फागुन २८ गते वर्तमान राष्ट्रपतिको कार्यकाल सकिँदै छ । उहाँ बिदाइ हुँदा अर्को राष्ट्रपतिले पदबहाली गर्ने अवस्था हुनुपर्छ । यसमा ढिलासुस्ती गर्न पाइँदैन,’ उनले भने ।
कांग्रेसले चुनावपछि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छैन । नेताहरू सत्ताको दाउपेचमै व्यस्त हुँदा पार्टीभित्र आन्तरिक छलफल र चुनावी समीक्षा हुन सकेको छैन । केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबारका लागि बोलाइएको छ ।