घट्यो वीरगन्ज नाकाबाट हुने इन्धन आयात
पर्सा । यो वर्ष भारतबाट वीरगञ्ज नाका हुँदै भित्रिने पेट्रोल र डिजलको आयात घटेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार अघिल्लो वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म वीरगन्ज नाका हुँदै डिजेलको आयातमा ३३ र पेट्रोलको आयातमा ६ प्रतिशतले गिरावट आएको छ ।
यसको कारण भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल महंगो भएको बताइएको छ ।
भन्सारको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म यो नाकाबाट ५१ अर्ब ६५ करोड ९५ लाख १८ हजार रुपैयाँँ बराबरको ४ लाख ९ हजार ५ सय ४६ किलो लिटर डिजेल आयात भएको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा ४४ अर्ब ४१ करोड ८१ लाख ३५ हजार रुपैयाँँ बराबरको ६ लाख १४ हजार ३ सय ४९ किलो लिटर डिजेल आयात भएको थियो ।
त्यसैगरी, चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा यो नाका हुदै १९ अर्ब ३१ करोड ४९ लाख २१ हजार रुपैयाँ बराबरको १ लाख ९२ हजार ६ सय ३९ किलोलिटर पेट्रोल आयात भएको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा १६ अर्ब १२ करोड ९ लाख १६ हजार रुपैयाँ बराबरको २ लाख ५ हजार २ सय ५२ किलोलिटर पेट्रोल आयात भएको थियो ।
वीरगन्ज नाका इन्धन आयात हुने मुलुककै मुख्य नाका हो । डिजेलको ठूलो हिस्सा पेट्रोलियम पाइपलाइनबाट आयात हुन्छ भने पेट्रोल ट्यांकरबाट आयात हुन्छ ।
हाल वीरगन्जको सीमावर्ती भारतीय बजार रक्सौलमा पेट्रोलको प्रति लिटर मूल्य १ सय ७४ रुपैयाँ ७२ पैसा (नेरु) र डिजेलको प्रति लिटर मूल्य १ सय ५३ रुपैयाँ ३९ पैसा (नेरु) रहेको छ ।
यता वीरगन्जमा पेट्रोल प्रति लिटर १ सय ७५ रुपैयाँ ७५ पैसा र डिजेल प्रति लिटर १ सय ७२ रुपैयाँ ७५ पैसा रहेको छ । २०२२ मार्च महिनाको चौथो सातामा भारतमा इन्धनको मूल्य बढेपछि नेपालभन्दा भारतमा डिजेल करिब २० रुपैयाँ महगो भएको हो ।
हाल दुवै मुलुकमा पेट्रोलको मूल्यमा करिब १ रुपैयाँ मात्र अन्तर छ । भारतभन्दा नेपालमा पेट्रोल करिब १ रुपैयाँ महगो छ ।
करिब ४ वर्ष निरन्तर भारतभन्दा नेपालमा यी दुवै इन्धन सस्तो हुँदा भारततर्फ दुवैखाले इन्धनको तस्करी हुने गर्थ्यो । जिल्लाका ग्रामीण भेगमा रहेका पेट्रोल पम्पहरुले पनि त्यति बेला उल्लेख्य परिमाणमा इन्धन बिक्री गर्थे ।
सीमावर्ती भारतीय सहर तथा गाउँका सवारीधनीहरु मोटर साइकल तथा चारपांग्रे सवारी साधनमा इन्धन भर्न नेपाली बजारहरुसम्म आइपुग्थे । भारतका विभिन्न सहरबाट मालवस्तु बोकेर आउने ट्रक तथा लरीहरुले पनि यहीँबाट डिजेल भरेर भारत जाने गरेका थिए ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत दिल्ली सुवेदीले भन्सार कार्यालयले इन्धनको आयातमा सहजिकरणको काम मात्र गर्ने बताए । उनले आयात घटने वा बढ्ने कारणबारे भने आफूहरु अनभिज्ञ रहेको बताए ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतभन्दा नेपालमा इन्धन महँगो भएपछि यसको आयात स्वाभाविक रुपले घटेको बताए । यसबाहेक नेपालमा विकास निर्माणले अपेक्षाकृत गति लिन नसक्दा पनि इन्धनको खपत कम भएको उनको भनाइ थियो ।
‘विकास बजेटनै ११ प्रतिशत मात्र खर्च हुन सकेको अवस्था छ,’ उनले भने, ‘यसले देशमा विकास निर्माणको कामले गति लिन नसकेको र त्यसको कारण इन्धनको खपत पनि घटेको संकेत गर्छ ।’