राष्ट्रपति र सभामुखको विषयमा कांग्रेससँग पनि छलफल हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा नेपाली कांग्रेससँग पनि छलफल हुने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो । उहाँले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा छलफल गर्न आगामी सोमबार प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।
नेपाली कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति, सभामुखलगायतका पदमा के गर्ने भनेर ऊसँग पनि छलफल गर्नुपर्ने आफ्नो दायित्व भएको दाहालले बताए ।
‘अस्ति ओलीजी र मैले सहमति गर्दा कांग्रेस प्रतिपक्ष हुन्छ भन्ने कल्पना गरिएको थियो । मलाई कांग्रेसले पनि समर्थन गरिसकेपछि मेरो पनि जिम्मेवारी हुने भयो। त्यसैले मैले कांग्रेस लगायतका दललाई धन्यवाद पनि भन्नुपर्नेछ, र राष्ट्रपति, सभामुख लगायतका विषय के गर्ने भनेर छलफल गर्नुपर्नेछ,’ प्रधानमन्त्री दाहालको भनाई थियो ।