गण्डकीमा सभामुखको निर्वाचन शनिबार हुने
कास्की । गण्डकी प्रदेशमा सभामुखको निर्वाचन शनिबार हुने भएको छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार शनिबार दिउँसो ३ बजे निर्वाचन हुन लागेको हो । प्रदेशसभा पहिलो बैठक पुस १८ मा बसेको थियो ।
सभामुख मित्रलाल बस्यालले शुक्रबार बसेको प्रदेशसभा बैठकमा शनिबार सभामुखको निर्वाचन हुने समय तालिका घोषण गरेका हुन् । सत्ता समीकरणअनुसार सभामुख माओवादी केन्द्रको भागमा परेको छ । गोरखाबाट निर्वाचित कृष्ण धिताल बलियो उम्मेदवार हुन् । यस्तै, माओवादीकै सुशीला सिम्खडा पनि सभामुखको आकांक्षी हुन् ।
यस्तै, उपसभामुख निर्वाचन माघ २ गते हुने संसद् सचिवालयले जनाएको छ । उपसभामुखका लागि एमालेभित्र भीम कार्की र पद्मा जिसी आकांक्षी रहेका छन् । स्रोतका अनुसार माओवादीबाट कृष्ण धिताल सभामुख बने भने एमालेबाट पद्मा जिसी उपसभामुख बन्ने निश्चितजस्तै छ ।
माओवादीबाट महिला सभामुख बनायो भने एमालेबाट उपसभामुख भीम कार्की बन्नेछन् ।














