अवैध रूपमा अमेरिका जाने क्रममा पानाको जंगलमा एक नेपाली युवाको गयो ज्यान
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १० का मदन शाहीको अमेरिका छिर्ने प्रयास गर्दागर्दै पानामाको जंगलमा मृत्यु भएको छ ।
जिल्लाको आठबिसकोट– १० भयाउनेका २० वर्षीय शाहीको यही डिसेम्बर ११ मा मृत्यु भएको उनको परिवारले जनाएको छ । उनका दाई कपिल शाहीका अनुसार मदन पानामामा खोला तर्ने क्रममा बगेको र मृत्यु भएको हो ।
“खोला तर्नका लागि राखिएको डोरी चुडिँदा खोलामा बगेर भाइको मृत्यु भएको रैछ । हामीले बिहीबार मात्र जानकारी पायौं,” उनले भने ।
मदनको टोलीमा अन्य नेपाली नभएका कारण मृत्युको जानकारी आउन समय लागेको उनले बताए । उनका अनुसार भाइसँग गएका केही व्यक्तिलाई ब्राजिलबाट फर्काइएको थियो भने अन्य देशका टोलीसँग भाइ मात्र अवैध मार्ग हुँदै अमेरिकातर्फ गएका थिए ।
मृतक मदन पाँच भाइमध्येका काइँला हुन्। उनी गत फागुन १८ गते अमेरिकाका लागि नेपालबाट निस्किएका थिए। अहिलेसम्म भाइका लागि करिब ४० लाख खर्च भइसकेको कपिलले बताए। भाइको शव नेपाल ल्याउन पहल भइरहेको र यसका लागि जेठा दाइ हर्क शाही काठमाडौं गएको उनको भनाइ छ।








