प्रधामन्त्री बन्न हस्ताक्षर संकलन गर्दै देउवा र प्रचण्ड
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नयाँ सरकारको प्रधानमन्त्री पदमा दाबी गर्नको लागि नेपाली कांग्रेसका सभापति एवं वर्तमान सरकारका प्रधानमन्त्री शेर बहादुर देउवा र सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै हस्ताक्षर संकलन गरिरहेका छन् ।
सरकार गठनका लागि राष्ट्रपतिले दिएको एकसाताको समयसीमा सकिन लाग्दासमेत गठबन्धन दलहरुबीच नयाँ सरकार गठनबारे सहमति जुट्न नसकेको अवस्थामा दुबै नेता हस्ताक्षर संकलनमा लागेका हुन् ।
कांग्रेस सांसद सञ्जय गौतमले हरेक राजनीतिक दलमा संसदीय दलले आफ्ना सदस्यको हस्ताक्षर सङ्कलन गरेर राख्ने र आवश्यक परेको बेला प्रयोग गर्ने प्रचलन अनुसार हस्ताक्षर लिएको उल्लेख गरे ।
त्यस्तै, कांग्रेसका अर्का सांसद दुर्लभ थापाले पनि आफूहरूले शुक्रबार नै संसदीय दलको कार्यालयमा पुगेर हस्ताक्षर बुझाएको बताए । प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८९ सांसद रहेका छन् ।
कांग्रेस सँगसँगै नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको छ । अर्थमन्त्री जर्नादन शर्माका अनुसार माओवादीका सांसदहरूले हस्ताक्षर बुझाइसकेको बताए । सङ्घमा माओवादीका ३२ जना सांसद रहेका छन् ।
नयाँ बन्ने सरकार कसको नेतृत्वमा बन्नेबारे गठबन्धन दलभित्र सहमति हुन सकेको छैन । पूर्व समझदारीअनुसार आफूले पहिलो पालामा सरकारको नेतृत्व पाउनुपर्ने माओवादीको दाबी रहेको छ भने कांग्रेसले पनि जनमतअनुसार पहिले आफूले पहिले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ ।















