प्यान एम १०३ बिस्फोटमा संलग्न व्यक्ति ३४ वर्ष पछि पक्राउ
वासिङ्टन । ३४ वर्षअघि प्यान एम १०३ विमानमा बम विष्फोट गराएको आरोपमा एक लिबियाली व्यक्ति पक्राउ परेका छन् ।
स्कटल्याण्डका अधिकारीहरूले उक्त व्यक्ति हाल अमेरिकी प्रहरीको हिरासतमा रहेको बताएका छन् । उनले आक्रमणका लागि बम तयार पारेको आरोप छ ।
अमेरिकाले अबु अजिला मसूदविरुद्ध दुई वर्षअघि अभियोग लगाएको थियो ।
अमेरिकाले सन् १९८८ डिसेम्बर २१ मा भएको प्यान एम बम विष्फोटमा उनको भूमिका महत्वपूर्ण रहेको बताएको थियो ।
उक्त बम विष्फोटमा बोइङ ७४७ मा सवार २ सय ७० जनाको मृत्यु भएको थियो ।
२१ डिसेम्बर १९८८ मा, फ्रान्कफर्ट एयरपोर्टबाट डेट्रोइटको लागि प्यान एम एयरलाइनको उडान लन्डन र न्यूयोर्कमा दुईवटा स्टपओभर थियो ।
विमान स्कटल्याण्डको लकरबी पुग्दा त्यसमा बम विस्फोट भएको थियो । यसलाई बेलायतमा भएको सबैभन्दा घातक आतंकवादी हमला मानिन्छ ।
गत महिना, मसूदलाई लिबियाको एक मिलिशिया समूहले अपहरण गरेको समाचार बाहिर आएको थियो, जसले गर्दा समूहले मसूदलाई परीक्षणको लागि अमेरिकी अधिकारीहरूलाई सुम्पिने अनुमान गरिएको थियो ।
अमेरिकी न्याय विभागका प्रवक्ताले रोयटर्सलाई भनेका छन् कि संदिग्धलाई पहिलो पटक वाशिंगटनको संघीय अदालतमा पेश गरिनेछ । पाँच वर्षअघि उनी बम बनाउने अभियोगमा लिबियाको जेलमा सजाय काटिरहेका थिए ।