लङ्ग आइल्याण्डका नेपाली समुदायको स्टेट निर्वाचनमा सक्रियता
न्यूयोर्क, अमेरिका / आगामी स्टेट निर्वाचनका लागि अमेरिकाको न्यूयोर्क राज्यको लङ्ग आइल्याण्डमा बसोबास गर्ने नेपालीले सक्रियता बढाएका छन्।
लङ्ग आइल्याण्डमा बसोबास गर्ने नेपालीहरु स्थानीय डिस्ट्रिक्ट १५ का एसेम्बलीका रिपब्लिकन पार्टीका उम्मेदवार जेक ब्लुमेनक्र्यान्सलाई जिताउन आव्हान गर्दै लागिपरेका हुन्।
उनीहरुले लङ्ग आइल्याण्डमा एक कार्यक्रमको आयोजना गरि ब्लुमेनक्र्यान्सलाई स्वागत र अभिनन्दन गर्दै समर्थन गरेका छन्।
नेपाली कांग्रेसका महासमिति पूर्व सदस्य, गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका सल्लाहकार एवं समाजसेवी वेदप्रसाद खरेलको अगुवाई र आव्हानमा हिक्सभिल स्थित उनकै निवासमा कार्यक्रम सम्पन्न भएको हो।
नेपालीहरूको महान चाड तिहारको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा राखिएको देउसी भैलोमा समेत उमेदवार ब्लुमेनक्र्यान्स छमछमी नाचेका थिए ।
कार्यक्रममा ब्लुमेनक्र्यान्सलाइ नेपाली टोपी लगाएर खरेलले स्वागत गरेका थिए। यस्तै एनआरएनए अमेरिकाका बोर्ड अफ डायरेक्टर विश्व बास्तोला, समता ग्लोवल सिनेटका बरिष्ट उपसभापति टिका ढकाल, लङ्ग आइल्याण्ड नेपाली समाजका अध्यक्ष वसन्त चापागाइले ब्लुमेनक्र्यान्सको स्वागत गरेका थिए।
यस्तै लङ्ग आइल्याण्ड नेपाली समाजका महासचिव बावुराम शर्मा, समाजसेवी यादव बास्तोला, शंकर भण्डारी, एकराज गौतम, केदार कट्टेल, नरेन्द्र सुवेदी, युवाको तर्फबाट विकाश खरेलको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
सहभागिले नेपाली समुदायको अवस्था र एसेम्बलीमा जितें पछि नेपाली समुदायलाइ गर्नुपर्ने कामहरूको ब्याख्या गर्दै स्वागत गरेका थिए।
लङ्ग आइल्याण्डमा नेपाली समुदाय सक्रिय र संगठित भएर स्थानीय चुनावमा लागेको यो पहिलो पटक हो ।
नेपालीमुलका अमेरिकीलाइ मुलधारको राजनीतिमा सहभागि गराउन आफुले यस्तो पहल गरेको खरेलको भनाई छ। ‘सरकारी निकायबाट पाउने सुविधा पाइँदैन र यो देशको मुलधारमा हाम्रो पहुँच पुग्दैन भने हामी सँधै पछाडि परिन्छ’ खरेलले भने, ‘मैले नेपाली समुदायलाइ यहाँको मुलधारको राजनीति र सरकारी अंग सँग जोडेर हामी र हाम्रा पुस्ताले यहाँ केही गर्ने बातावरण मात्र बनाउन पहल गरेको हुँ।’