नवौं राष्ट्रिय खेलकुदः पुरुष सावरमा राजेन्द्रलाई स्वर्ण
पोखरा । एपिएफका राजेन्द्र गजुरेलले फेन्सिङ्ग अन्तरगतको सावर विधामा एपिएफका लागि स्वर्ण जितेका छन् । उनले थोरै अंकको अन्तरमा सेनाका उपेन्द्र शाहीलाई १५–१२ अंकले पराजित गर्दै स्वर्णमा आफ्नो नाम लेखाएका हुन् । एपिएफका खेम खत्री र सेनाका रघु वीर चन्द संयुक्त तेश्रो हुँदै कास्य पदक प्राप्त गरे ।
इपी विधामा ओमकार सिंहले बागमती प्रदेशका लागि दोश्रो स्वर्ण जोडे । ओमकारले सेनाका राम थापालाई झिनो अन्तरले पराजित गर्दै स्वर्ण कब्जा गरेका हुन् । ओमकारले रामलाई १५–१४ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन् । तेश्रो स्थानमा सेनाका मिन कार्की र गण्डकीका विजय अधिकारी रहे ।
फ्वलको महिला तर्फको प्रतिस्पर्धामा सेनाकी रमा कुमारी सिंहले जित हात पार्दै सेनाको खातामा स्वर्ण जित्न सफल भईन् । उनले एपिएफकी मनिषा राईलाई १५–१४ अंकले पराजित गर्दै स्वर्णको हकदार बनिन् । एपिएफकी मन्दिरा थापा र अनिता अधिकारीले कास्यमा चित्त बुझाए ।
नवौं राष्ट्रिय प्रतियोगितामा फेन्सिङ्गमा ६ स्वर्णका छिनोफानो भएको छ भने समग्रमा ७ स्वर्ण पदकको छिनोफानो भएको छ । पुरुष क्रिकेटमा नेपाल पुलिसले पहिलो स्वर्ण जितेको थियो ।
एपिएफ र सुदूरपश्चिमको पहिलो जित
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश र एपिएफले पहिलो जित निकालेका छन् । पोखरामा भएको खेलमा एपिएफले बागमतीमाथि चार विकेटको जित निकाल्दा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो ।
पोखराको क्रिकेट रंगशालामा भएको दिनको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।
बागमतीका लागि कप्तान अश्मिना कर्माचार्यले नटआउट १९ रनको योगदान गरिन् । त्यस्तै सुमन खतिवडाले १९ रन बनाउँदा बागमतीका अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । बागमतीलाई सस्तैमा समेट्न एपीएफकी रेखा रावल, नेरी थापा र इन्दु वर्माले समान एक एक विकेट लिँदा अन्य चार खेलाडी रन आउट भएका थिए ।
९० रनको सामान्य लक्ष्य पछयाएको एपिएफले चार बल बाँकी छँदै लक्ष्य पुरा गरेको थियो । एपिएफलाई जित दिलाउन रोमा थापाले सर्वाधिक २२ रनको योगदान दिइन् । त्यस्तै एपिएफकी कप्तान सीता रानामगरले १६, ममता चौधरीले १७ , इन्दु बर्माले ५ रन बनाउँदा ओपनर ज्योति पाण्डे एक रनमै पविलियन फर्किएकी थिइन् ।
एपिएफकी नेरी थापा १६ तथा राजमती ऐरी चार रनमा अविजित रहे । बागमतीका लागि सोनी पाख्रिन र सुमन खतिवडाले दुई दुई विकेट लिँदा अस्मिनाले एक विकेट लिइन् । खेलको युमन अफ दि म्याच एपिएफकी नेरी थापा भएकी छिन् ।
दिनको दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ५९ रन बनाएको थियो । गण्डकीका लागि कप्तान श्रृष्टि जैशीले सर्वधिक अविजित २८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमकी ऋतु कनौजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र साबित्री धामीले एक एक विकेट लिए । ६० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले ५८ बल बाँकी छँदै चार विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । सुदूरका लागि ऋतु कनौजियाले सर्वाधिक २२ रन बनाउँदा स्नेहा महरा २१ रनमा अविजित रहिन् ।
गण्डकीकी शिला क्षेत्रीले दुई तथा श्रृष्टि जैशीले एक विकेट लिइन् । खेलको युमन अफ दि म्याच सुदूरपश्चिमकी ऋतु कनोजिया भएकी हुन् । सुदूरपश्चिम पहिलो खेलमा बागमती प्रदेशसँग आठ विकेटले पराजित भएको थियो ।
ह्याण्डबल : गण्डकीको जित
नवौ राष्ट्रिय प्रतियोगिता अन्तरगत महिला ह्याण्डबलमा गण्डकी प्रदेशले मंगलबाद दोश्रो दिन जित निकालेको छ । गण्डकीकी योगिता गुरुङ्गको ७ गोलको मद्धतले सुदूरपश्चिमलाई २७–४ गोल अन्तरले पराजित गर्न सफल भयो ।
पोखरा बहुउद्धेश्यिय कभर्डहलमा भएको प्रतियोगितामा कर्णाली प्रदेश र प्रदेश नं. १ ले पनि जित निकाले । कर्णालीले मधेस प्रदेशलाई ११–७ गोल अन्तरले पराजित ग¥यो । कर्णालीकी अन्जली शाही र संगिता सिंहले समान ५ गोल गरे । प्रदेश नं. १ की प्रेक्षा कटुवालको ८ गोल मद्धतले बागमतीलाई २४–८ ले पराजित गरेको हो ।
पुरुष तर्फ बागमती र लुम्बिनीले जित निकाले । बागमतीका सोनाम राकेश शेर्पाको ५ गोल मद्धतमा मधेस प्रदेशलाई २१–१३ गोल अन्तरले र लुम्बिनीले प्रदेश नं. १ लाई २९–२४ ले परातिज गरेको हो । लुम्बिनीका शरण थापाले आफ्नो टोलीका लागि १५ गोल गरे ।
बाणिज्य बैंक र राखेपविच सम्झौता
नेपालको अग्रणी बैंक राष्ट्रिय बाणिज्य बैंक र राष्ट्रिय खेलकुद परिषद्विच प्रायोजन सम्वन्धि सम्भौता भएको छ । नवौं राष्ट्रिय प्रतियोगितालाई मध्यनजार राख्दै बाणिज्य बैहले प्रायोजन सम्झौता गरेको हो । सम्झौता पत्रमा राष्ट्रिय बाणिज्य बैंकका महाप्रवन्धक किरण कुमार श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरे ।
बाणिज्य बैंकले नवौं राष्ट्रिय प्रतियोगितामा प्रायोजन गरेबापत आफ्नो संस्थाको लोगो सहित विभिन्न विज्ञापन गर्न पाउनेछ । जसमा खेल स्थल ओरीपरि होर्डिङ्गबोर्ड, स्टल, ब्यानर लगायत बिज्ञापनका सामाग्रीहरु प्रयोग गर्न पाउने छ भने विभिन्न प्रतियोगितामा पुरस्कार वितरणमा अतिथीको रुपमा सम्मान प्रदान गरिने छ ।
यस सम्झौता पश्चात राष्ट्रिय बाणिज्य बैंक र राष्ट्रिय खेलकुद परिषद्विच आगामी दिनमा हुने विभिन्न प्रतियोगिताहरुमा पनि प्रायोजन सम्बन्धि यात्रालाई निरन्तरता प्रदान गर्ने सहमती भएको छ । विगत लामो समय देखि खेलकुदका विभिन्न खेललाई प्रायोजन गर्दै आईरहेको बाणिज्य बैंकले नवौं राष्ट्रिय प्रतियोगितामा पनि आफ्नो प्रायोजन सम्वन्धि अग्रसरतालाई कायम गर्दै प्रायोजन गरेको छ ।
अन्तिम तयारी सम्वन्धि उपसमितिको बैठक
नवौं राष्ट्रिय खेलकुद् सम्वन्धि विभिन्न उपसमितिको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार पोखरामा बैठक बस्यो ।
उपसमितिका संयोजक र सचिवहरुले नवौं राष्ट्रिय खेलकुदलाई पूर्ण रुपमा सफल बनाउन आआफ्नो तर्फबाट भए गरेका प्रगती विवरणका प्रस्तुत गर्नुका साथै आउन सक्ने समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बारेमा छलफल भएको थियो ।
सदस्य सचिव घिसिङले उपसमितिका सदस्यहरुलाई एक जुट भएर नवौं राष्ट्रिय खेलकुद सफल पार्न निर्देशन दिएका थिए ।