सिट बाँडफाँडले कांग्रेसमा किचलो
काठमाण्डौं । सिट बाँडफाँडले कांग्रेसमा किचलो निम्तिएको छ । नेपाली कांग्रेस संस्थापनइतर समूहले ४० प्रतिशत सिट माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ ।
संस्थापनइतर समूहको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गरेको छ । यसका लागि आउँदो बुधबार पार्टी कार्यालयमा एक घण्टा धर्ना दिने कोइराला समूहले निर्णय गरेको छ ।
केही दिनयता निरन्तर छलफलमा रहेको कोइराला समूहको सोमबारको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गर्दै दबाबस्वरुप बुधबार एक घण्टा पार्टी कार्यालयमा धर्ना दिने निर्णय गरेको हो ।
साथै भेलाले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूचीमा आफूहरुलाई उपेक्षा गरिएको भन्दै सच्याउन पनि माग गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीलाई खबरदारी सभासमेत गरेको कोइराला समूहले आफूहरुको माग बेवास्ता गरिएको आगामी ४ मंसिरमा हुने निर्वाचन बहिस्कार गर्नेसम्मको चेतावनी दिँदै आएको छ ।
पेलेर जाने सोचमा सस्थापन पक्ष
समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार पारिएको दाबी गरेको सस्थापन पक्षले पेलेर जाने संकेत गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको बताएका छन् ।
मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार पारिएको दाबी गरे । कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची नबनेको भन्दै उनले अहिले भइरहेको विरोध अनावश्यक र पार्टीको हितमा नरहेको बताए ।
उनले भने, ‘सबै समावेश भएर सहमतिबाट त्यो सूची पेश गरिएको छ । एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही भएको छैन । यो विषयलाई उठाएर एकलौटी गरियो, छलफल भएन भन्नेमा सत्यता छैन ।’
शेखर समूहका नेताहरुले गरिरहेको विरोधतर्फ संकेत गर्दै उनले यो उपयुक्त नभएको बताएका छन् । उनले भने, ‘यो पार्टी अनुशासनबाहिरको कुरा हो ।’