प्रेमगीत ३ : नेपाली उत्साहित
क्यालगरी, क्यानडा । हिन्दीमा डब गरिएर संसारभर वितरण गरिएको पहिलो नेपाली चलचित्र प्रेम गीत ३ अमेरिका र क्यानडाका विभिन्न चलचित्र भवनमा शुक्रवार देखी प्रदर्शनमा आएको छ ।
चलचित्र संसारभरका १२ सय भन्दा बढी हलमा लागेको छ । १२ सय मध्ये ५ सय भारतमा र ५ सय युएई, बेलायत, क्यानडा, अमेरिका, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्यु जिल्यान्ड फिजी, जापान दक्षिण कोरिया र अन्य युरोपेली मुलुकमा प्रदर्शन भएको हो । ती मध्ये २ सय नेपाली हलमा प्रदर्शन छ । सन्तोष सेन निर्देशित चलचित्रमा प्रदीप खड्का र क्रिस्टिना गुरुङको प्रमुख भूमिका रहेको छ । अन्य प्रमुख पात्रमा शिव श्रेष्ठ, माओत्से गुरुङ सुनिल थापा र मनिष राउतको पनि प्रमुख भूमिका छ ।
पहिलो पटक नेपाली चलचित्र यसरी आफ्नो घर नजिकैकै सिनेमा घरमा प्रदर्शनमा आएपछि विदेशी भुमिमा रहेका नेपाली हौसिएका छन् , एक अर्कालाई सामाजिक सञ्जालका माध्यमबाट प्रेम गीत ३ बारे सन्देश पठाउने, फेसबुकमा स्ट्याटस अपडेट गर्ने, चलचित्रको टिकट पोस्ट गर्दै खुसीयाली मनाइरहेका छन् ।
पुराना पत्रकार तथा हाल अमेरिका रहेका केशव सिग्देल शनिवार साँझको रिगल सिनेमाको टिकट राख्दै लेख्छन्, ‘भगेंरा मुटुले चलचित्र बजारमा ओथारो बसेर मात्रै हुँदैन भन्ने सशक्त सन्देश दिएका छन् सोल्टी सन्तोषले, जदौ ब्रो ।’ यसै गरी ट्विटर ह्यान्डलमा पनि प्रेम गीत ३ नेपाल र भारतीय माझ चर्चित हुँदै गएको छ ।
चलचित्रलाई युरोपेली तथा अमेरिकी मुलुकमा अझै केही दिन हेर्न चाहने हो भने, धमाधम कहिले हेर्न जाने हो त्यो दिनका निम्ति बुक गरी हाल्नु बुद्धिमानी हुने क्यालगरीका प्रमोद शर्मा बताउँछन् ।
यसै गरी अमेरिकामा रहेका जेफ खड्का हिन्दी चलचित्रका पारखी अफ्रिकी मूलका साथीभाइलाई चलचित्र हेर्न जान भनेको बताउँछन् । खड्का भन्छन् मसँगै काम गर्ने नाइजेरिया र सेनेगलको साथीलाई शनिवार साँझ सँगै हेर्न जान लागेको छु ।
भारतीय सञ्चार माध्यममा प्रेम गीत ३ को राम्रै रिन्यु आइरहेको छ । चलचित्र हेरेका भारतीयले सामाजिक सञ्जालमा प्रेम गीत बाहुबली चलचित्रकै हाराहारीकै रहेको बताएका छन् । स्मरण रहोस् बाहुबली भारतीय चलचित्र क्षेत्रकै सबैभन्दा बढी लगानी भएको चलचित्रमा पर्दछ । तर प्रेम गीत सो लगानीको एकछेउ पनि छैन ।