एनआरएनए अमेरिका : च्याप्टर अध्यक्षहरुको विज्ञप्ति ‘मोइ माग्ने ढुङ्ग्रो लुकाउने’ ?

‘अध्यक्ष बुद्दी सुवेदी स्वीडेन हिडे लगत्तै, २९ च्याप्टर अध्यक्षको संयुक्त विज्ञप्ति सार्वजनिक’
पेन्सिलभेनिया, अमेरिका। पद बहाली गर्दा देखि नै एक पछि अर्को विवादमा फस्दै आएका गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दी सुवेदीलाई फेरि अर्को झड्का लागेको छ।
‘कलिङ्ग स्वीडेन फर एनआरएनए इआएम’ भन्दै अमेरिका छोडेको केही घण्टामा यहाँ च्याप्टर अध्यक्षले सुवेदीको कामको चर्को आलोचना गर्दै विज्ञप्ति सार्वजनिक गरेका छन्।
टास्क्स फोर्स र सल्लाहकारहरुमा गरिएका नियुक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको र आपत्ति प्रकट गरिएको भन्दै अमेरिकामा रहेका २९ च्याप्टर अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।
सुवेदीले फोटो सहित स्टाटस राख्दै स्वीडेन हिडेको ६ घण्टा पछि न्यूयोर्क च्याप्टरका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पाले बिहिवार आफ्नो स्टाटस मार्फत संयुक्त विज्ञप्ती सार्वजनिक गरेका हुन्।
जसले गर्दा पाहुना हुन गएका सुवेदीलाई घरको ‘झगडा’ का कारण मुख रातो हुनु पर्ने भएको छ। त्यसो त सुवेदी आफैमा अमेरिकी एनआरएनएको इतिहासमा सबै भन्दा विवादित र असफल अध्यक्ष हुन्। उनको कार्यकालमा एनआरएनए अमेरिका तीन टुक्रा भएको छ।
कार्यसमिति भित्रै पनि सुवेदी सदैव आलोचित छन्। भवन खरिद गर्ने बाहेक यस अगाडि सुवेदीका हरेक निर्णयमा बरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्त, उपाध्यक्ष विकास उप्रेति लगायतले सार्वजनिक रुपमा नै आलोचना गर्ने गर्दथे।
च्याप्टर अध्यक्षले सामुहिक रुपमा सुवेदीको कामको विरोध गर्दै यसरी विज्ञप्ति जारी गरेको यो दोस्रो पटक हो। यस अगाडि कलिङ्ग काठमाडौंलाई धोका दिएको भन्दै सबै च्याप्टर सभापतिहरुले संयुक्त विज्ञप्ति निकालेका थिए।
‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाले च्याप्टरहरुको नेत्रित्वलाई बेवास्था गर्दै टास्क्स फोर्स र सल्लाहकारहरुमा गरिएका केही नियुक्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण सहित आपत्ति रहेको छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्तो गहन ज़िम्मेवारी बोकेको गरिमामय संस्थाले संस्थाको हित विपरीतनै क्रियाकलाप गर्दै आइरहेका व्यक्तिहरुलाई यस्ता महत्वपूर्ण पदहरुमा नियुक्त गर्नु अत्यन्त दुःख लाग्दो कुरा हो।’
२९ च्याप्टरका अध्यक्षहरुले निकालेको विज्ञप्तिमा, ‘च्याप्टरहरु यस संस्थाको मेरूदण्डको रुपमा रहेको र यसको हित हामीहरु सबैको प्रत्यक्ष सरोकारको बिषय भएकोले यस संस्थामा हुने हरेक गतिबिधिहरु च्याप्टर र त्यस अन्तर्गत बनेका साधारण सदस्य तथा आजिवन सदस्यहरु सुसुचित हुन पाउनु संस्थाको विधानले दिएको अधिकार रहेको कुरा यसै मार्फ़त स्मरण गराउन चाहान्छौ!’ भनिएको छ।
च्याप्टर अध्यक्षहरु ‘मोइ माग्ने ढुङ्ग्रो लुकाउने‘ ?
यस पटकको च्याप्टर अध्यक्षहरुको विज्ञप्ति अमूर्त छ। उनीहरुले मोइ माग्ने ढुङ्ग्रो लुकाउने नेपाली उखान चरितार्थ गरेका छन्।
विज्ञप्तिमा ‘केही नियुक्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण सहित आपत्ति रहेको छ।’ तर त्यो केही नियुक्ति बारेमा खुलाइएको छैन्।
यस्तै ‘संस्थाको हित विपरीतनै क्रियाकलाप गर्दै आइरहेका व्यक्तिहरुलाई यस्ता महत्वपूर्ण पदहरुमा नियुक्त गर्नु अत्यन्त दुःख लाग्दो कुरा हो।’ भनिएको छ तर नियुक्त मध्ये कुन व्यक्तिले संस्थाको हित विपरीत क्रियाकलाप गर्यो भनेर खुलाइएको छैन्।
पेन्सिलभेनिया च्याप्टरका अध्यक्ष सुभाष बैठा र विस्कन्सिनका अध्यक्ष दिपक थापाले विज्ञप्तिका बारेमा थप कुराकानी गर्न चाहेनन्।
‘जे छ त्यो विज्ञप्तिमै छ हामी थप केही बोल्दैनौ’ छुट्टै छुट्टै टेलिफोन कुराकानीमा बैठा र थापाको एउटै स्वर रह्यो।
क्यालिफोर्नियाका अध्यक्ष एक देव शर्माले नियुक्तिको पुरै प्रक्रियामा नभइ केही नाममा साथीहरुको असहमति रहेको बताए। ‘हाम्रो तिर कुनै समस्या छैन्, क्यालिफोर्नियाबाट जो जो मनोनित हुनु भएको छ, सबै राम्रै हुनु हुन्छ।’ समाज टाइम्स सँगको कुराकानीमा शर्माले भने,’ तर अन्य च्याप्टरले कार्यक्रम गर्दा असहयोग गरेकाहरु अहिले ल्याइयो भन्नेमा साथीहरुको असहमति रह्यो।’
उनले व्यक्तिको नाम भने आफुहरुले बाहिर नल्याउने बताए। ‘कुन नाममा असहमति हो भन्ने कुरा नियुक्ति गर्नेलाई थाहा भइसेको छ।’ शर्माले भने। त्यसो हो भने विज्ञप्ति नै जारी गरि रोइलो किन भन्ने समाज टाइम्सको प्रश्नमा शर्माले भने, ‘तपाईको प्रश्नको जवाफ म सँग छैन, तपाइकै क्षेत्र (न्यूयोर्क) को समस्या हो।’
न्यूयोर्क च्याप्टरका अध्यक्ष आङछिरिङ्ग शेर्पाले पनि कुन व्यक्तिको नियुक्तिमा च्याप्टर अध्यक्षहरुको असहमति हो भन्ने बताउन चाहेनन।, ‘तीन दिन सम्म भएको च्याप्टर अध्यक्षहरुको बैठक पछि यो विज्ञप्ति जारी गरिएको हो, असहमत ब्यक्तिको नाम सार्वजनिक नगर्ने सहमति भएको छ।’
शेर्पाले पनि थाहा हुनुपर्ने व्यक्तिलाई जानकारी भएको ओठे जवाफ दिए। थाहा हुनु पर्नेलाई मात्र हो भने सार्वजनिक विज्ञप्ति किन भन्ने प्रश्नमा उनले जवाफ दिन चाहेनन।’
च्याप्टर अध्यक्षहरुको सामुहिक विज्ञप्तिको पूर्णपाठ
मिति: ६ असोज २०७९
बिषय: च्याप्टरहरुको ध्यानाकर्षण भएको बारे।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाले च्याप्टरहरुको नेत्रित्वलाई बेवास्था गर्दै टास्क्स फोर्स र सल्लाहकारहरुमा गरिएका केही नियुक्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण सहित आपत्ति रहेको छ। यस्तो गहन ज़िम्मेवारी बोकेको गरिमामय संस्थाले संस्थाको हित विपरीतनै क्रियाकलाप गर्दै आइरहेका व्यक्तिहरुलाई यस्ता महत्वपूर्ण पदहरुमा नियुक्त गर्नु अत्यन्त दुःख लाग्दो कुरा हो।
च्याप्टरहरु यस संस्थाको मेरूदण्डको रुपमा रहेको र यसको हित हामीहरु सबैको प्रत्यक्ष सरोकारको बिषय भएकोले यस संस्थामा हुने हरेक गतिबिधिहरु च्याप्टर र त्यस अन्तर्गत बनेका साधारण सदस्य तथा आजिवन सदस्यहरु सुसुचित हुन पाउनु संस्थाको विधानले दिएको अधिकार रहेको कुरा यसै मार्फ़त स्मरण गराउन चाहान्छौ!
धन्यवाद सहित,
च्याप्टर अध्यक्षहरू
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद अमेरिका
च्याप्टर अध्यक्षहरू
१-आंग छिरीङ शेर्पा – न्युयोर्क,
२-वल राई – नेभाडा,
३-बासुदेव भट्ट – नर्थ क्यारोलाईना,
४-बिकाश देवकोटा – फ्लोरिडा,
५-बिमल अधिकारी – नेब्रास्का,
६-विबेक झा – मिनेसोटा,
७-दिलिप कुमार बानिया – जोर्जिया,
८-दिपक थापा – विस्कोंसिन,
९-एकदेव शर्मा – क्यालिफोर्निया,
१०-डा. गंगा आचार्य – न्यु मेक्सिको,
११-इन्द्र कान्त चौधरी – इलिनोइस,
१२-ज्योति बराल – आईवा,
१३-सन्तोष काजी थापा – टेनिसी,
१४-कमल ढुंगाना – न्यु ह्याम्पसाएर,
१५-केशब राज लोहनी – केन्टकी,
१६-खेम राज खतिवडा – इन्डियाना,
१७-सोफिन थापा – टेक्सास,
१८-मोहन न्यौपाने – ओहायो,
१९-मुना तिवारी – कनेक्टिकट,
२०-फिलीप केसी – क्यान्सास,
२१-प्रेम तामांग – म्यासाचुसेट्स,
२२-राजु पराजुली – मेरील्याण्ड,
२३-रामचन्द्र पन्त – कोलोराडो,
२४-सुभाष कुमार बैठा- पेन्सलभेनिया,
२५-सुबोध रेग्मी – भर्जिनिया,
२६-सुर्य मोहन तिवारी – न्युजर्सी,
२७-टंक दाहाल – वासिङ्टन,
२८-तुल्सी शिवाकोटी – मिशिगन,
२९-लक्ष्मण दर्लामी – ओरेगन