जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टलाई १५ दिन भित्र हाजिर हुन उच्च अदालत पाटनको आदेश
बिष्णु हरि घिमिरे
पेन्सिलभेनिया, अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष गोरख बहादुर विष्ट (आनन्द) लाई पाटन उच्च अदालतले १५ दिन भित्र उपस्थित हुन आदेश दिएको छ।
अमेरिकाको न्यूयोर्कमा बस्दै आएका सुवर्ण लामाको निवेदनका सम्वन्धमा अदालतले विष्टलाई हाजिर हुने आदेश दिएको हो। विष्ट अहिले नेपालमा नै रहेका छन्।
उच्च आदालत पाटन ललितपुरवाट जारी भएको आदेशको सूचना सरकारी सञ्चार माध्यम गोरखा पत्र दैनीकमा प्रकासित भएको छ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विदेशी नागरिकलाई पनि प्रतिनिधि बनाएको विषयमा लामाले विष्ट समेतलाई विपक्षी बनाइ उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
त्यो बेलामा के भएको थियो यो समाचार पनि पढ्नु होस। विदेशि नागरिकले पनि गरे कांग्रेस महाधिवेशनमा मतदान, जनसम्पर्क समितिको वदमासी
कांग्रेसको महाधिवेशनमा विदेशी नागरिकबाट मतदान हुनु पार्टीको विधान र नेपालको संविधान विपरित भएको लामाले निवेदनमा जिकिर गरेका छन्।
लामाले दिएको निवेदनमा के छ ?
त्यसो त सन् २०१४ देखि जनसम्पर्क समितिको अध्यक्ष रहदै आएका विष्ट अत्यन्त विवादमा पर्दै आएका छन्। उनी माथि संस्थाको विधान लत्याएको र आर्थिक अपारदर्शीताको आरोप लाग्दै आएको छ।
जनसम्पर्क समितिको विधानत अनुसार एक कार्यसमितिको कार्यकाल तीन वर्षको हुन्छ। तर कांग्रेसको पूर्व आमन्त्रित केन्द्रीय सदस्य समेत भएका विष्टले आफु अध्यक्ष भए पछि अहिले सम्म समितिको अधिवेशन गराएका छैनन्। जनसम्पर्क समिति अमेरिका अहिले लथालिङ्ग अवस्थामा छ।
नेपाल परिवार नियोजन संघको कर्मचारी रहदाँ संघका तत्कालिन अध्यक्ष तथा कांग्रेस नेता सुनिल भण्डारी मार्फत अमेरिका आएका विष्ट शुरुमा कांग्रेसको कोइराला गुटका निकट थिए।
कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइराला निकटकी मृदुला कोइरालाको छत्रछाँयामा अमेरिकामा ‘करिअर’ विकास गरेका विष्ट पछिल्लो समय गुट परिवर्तन गर्दै पार्टी सभापति शेरबहादुर देउवा निकट हुन पुगेका छन्।
त्यसो त डाक्टर सुरेन्द्र देवकोटा र कृष्ण लामिछानेले हाकाहाकी आफुमाथि अशब्य व्यवहार गरे पछि, सुशिल कोइरालाले उनीहरुलाई ‘ठेगना’ लगाउन विष्ट च्यापेको जानकारहरु बताउछन्।
संगठन गर्न भन्दा पनि ‘सत्ता र शक्तिको निकट हुन सिपालु’ विष्ट अहिले देउवा समुहमा पनि प्रधानमन्त्री पत्नी डाक्टर आरजु देउवा निकट मानिन्छन्।
विष्ट माथि २०७२ सालमा नेपालमा भुकम्प जादा जनसम्पर्क समितिले अमेरिकामा संकलन गरेको राहत रकम हिनामिना गरेको आरोप छ।
भुकम्प पिडितका लागि उठाएको चन्दा हिनामिना गरेको अभियोगमा विष्टले महामन्त्री मुनिन्द्र नेम्वाङ्गलाई र नेम्वाङ्गले विष्टलाई पदबाट निस्काशन गर्दै कारवाही गरेको जनाएका थिए।
तर पछि टेक्सासमा कांग्रेसका तत्कालिन प्रवक्ता डाक्टर प्रकाशशरण महतको रोहवरमा विष्ट र नेम्वाङ बीचमा रहेको विवाद सेटल गराइएको थियो। विष्टले अमेरिकामा करछली गर्न आफुले भुकम्प पिडितका लागि उठाएको रकम नगद आफैले बोकेर तथा हुण्डी मार्फत नेपाल पुर्याएको पटक पटक सार्वजनीक कार्यक्रममा स्वीकार्दै आएका छन्।
अमेरिकामा करछली गर्नु गम्भिर अपराध मानिन्छ। विष्टले नेपाल लगेको रकम पनि कहाँ खर्च गरे भनेर अहिले सम्म प्रष्ट पार्न सकेका छैनन्। अमेरिकामा व्यवसाय गर्दै नेपालमा राजनीति गर्दै आएका हरिबोल भण्डारी मार्फत आफुले सो रकम नेपालमा खर्च गरेको विष्टले बताउदै आएका छन्। तर झण्डै तीस हजार अमेरिकी डलरको हिसाव उनले देखाउन सकेका छैनन्। भण्डारीले पनि यो विषयमा सार्वजनिक रुपमा केही बताएका छैनन्।
भुकम्प पीडितका लागि उठाइएको रकम हिनामिना प्रकरण पछि जनसम्पर्क समितिका कोषाध्यक्ष विजय थुलुङ जिम्मेवारी विहिन छन्।
त्यसो त वीपी कोइरालाको परिकल्पनामा स्थापना भएको जनसम्पर्क समितिलाई अप्रजातान्त्रिक रुपमा संचालन गरेको, समयमा अधिवेशन नगरेको भन्दै उपाध्यक्षहरु धर्म श्रेष्ठ, केशव बराल, सीपी पौडेल, सचिव भोजराज थोकर लगायतले आफु जिम्मेवारबाट मुक्त भएको घोषणा गरिसकेका छन्। पदाधिकारी सहित कार्यसमितिका बहुमत सदस्यले अधिवेशनको माग गर्दै आएको भए पनि विष्टले आफु खुसी संस्था चलाउदै आएका छन् ।
आरजु देउवाको दरिलो साथ पाएको भनिएका विष्टको पक्षमा अहिले अमेरिकामा खुलेर साथ दिने गौतम दाहाल बाहेक अरु छैनन्। तर विष्ट आफैले दाहाललाई पनि विश्वास गर्न सकेका छैनन्। सभापतिमा ‘टिको’ लागाउने आशमा क्याम्प चेन्ज गरेका दाहाल पनि अहिले यता न उता भएका छन्।
२४ सय भन्दा बढी क्रियाशिल सदस्य भएको जनसम्पर्क समिति अमेरिकाको संगठन ध्वस्त बनाएका विष्ट अहिले डोटीबाट संसदको टिकट लिने भन्दै समाजिक सञ्जालमा प्रचारमा व्यस्थ छन्। विष्ट जनसम्पर्क समिति मार्फत क्रियाशिल सदस्यता लिएका व्यक्ति हुन् ।
सबै भन्दा गम्भिर कुरा उनी सँग अमेरिकाको (स्थायी बसोबास अनुमति पत्र) ग्रिन कार्ड रहेको छ। नेपालको संविधान अनुसार जनप्रतिनिधिको उमेदवारी दर्ता गर्न ग्रिन कार्ड त्यागेको ९० दिन हुनु पर्दछ। विष्ट निकटका अनुसार उनले अहिले सम्म ग्रिन कार्ड त्यागेका छैनन्।
‘कांग्रेस सुदुरपश्चिम प्रदेश सभापति वीरवहादुर वलायरकै त टिकटको टुङ्गो छैन, डोटीमा एउटा निर्वाचन क्षेत्र हो, त्यसमा नेकपा समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेम आले र वलायर मध्ये कसले टिकट पाउने टुङ्गो छैन्, गठबन्धन भए पछि माओवादीको पनि भाग चाहिने होला, विष्टको के कुरा उही समाजिक सञ्जालमा बदाई खान मात्र हो।’ अमेरिकामा रहेका डोटीका कांग्रेसका एक कार्यकर्ताले समाज टाइम्स सँग भने।
आर्थिक पारदर्शितामा पनि शंका
भुकम्प पिडितका लागि उठाइएको चन्दा हिनामिना मात्र होइन, उनको नियमित आर्थिक स्रोतमा पनि शंका गर्ने ठाँउ भएको उनी निटक बताउछन्।
विष्ट निकाटका अनुसार अमेरिका आए पछि शुरुमा उनी कांग्रेस नेतृ मृदुला कोइरालाको रेष्टुरेण्टमा काम गर्थे। पछि कोइराला सँगै उनको सम्वन्ध राम्रो रहेन। त्यस पछि विष्टले अमेरिकामा ‘उभर’ चलाउदै आएको जानकारहरु बताउछन्। उनी निकटका अनुसार परिवारका सदस्यको पनि सामन्य कमाई छ। तर उनी नेपाल अमेरिका ओहोर दोहोर गरि रहेका हुन्छन्। उनको आम्दानीको श्रोत के हो भन्ने पनि शंकाको घेरामा रहदै आएको छ।
‘हामी रात दिन नभनी काममा घोटिदा त घर चलाउन हम्मे हम्मे पर्छ, मुड चलेको बेलामा मात्र उभर चलाएर विष्टलाई कसरी पुग्छ’ जनसम्पर्क समितिकै एक पदाधिकारी नाम उल्लेख नगर्ने शर्तमा समाज टाइम्स सँग प्रतिप्रश्न गर्छन्।
तीन वर्षका लागि चुनिएको मान्छे आठ आठ वर्ष सम्म अधिवेशन नगराइ पदमा रहनु अनि त्यस्ता व्यक्तिलाई बुढानिलकण्ठको शक्तिले च्याप्ने भने पछि त्यहाँ केही न केही त होलानी ती पदाधिकारी आशंका गर्छन।
‘सामाजिक व्यक्तिको सबै कुरा पारदर्शिता हुनु पर्छ। यहाँ त न संस्था न व्यक्ति पारदर्शि छ।’ उनी भन्छन।’ अमेरिकामा संगठन ध्वस्त पारे अव पालो डोटीको।’