विदेशि नागरिकले पनि गरे कांग्रेस महाधिवेशनमा मतदान, जनसम्पर्क समितिको वदमासी
अमेरिका । अन्तत विदेशि नागरिकता लिएका व्यक्तिले पनि नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान गरेको तथ्य खुलेको छ । नेपालको संविधान र कांग्रेसको विधान अनुसार विदेशि नागरिकता लिएको व्यक्तिले नेपालमा मतदान गर्नु गैर कानुनी काम हो । तर सत्तारुढ पार्टीले नै आफ्नो महाधिवेशनमा विदेशि नागरिकता लिएको व्यक्तिलाई मतदान गर्न दिएको छ ।
नेपाली जनसम्पर्क समिति अमेरिकाबाट सहभागि १४ जना महाधिवेशन प्रतनिधि मध्ये एक जनाको अमेरिकी राहदानीको फोटो कपि समाज टाइम्सलाई प्राप्त भएको छ । प्राप्त राहदानीको प्रतिलिपि न्यूयोर्क लङ्गआइल्याण्डमा बस्दै आएका विश्वराज बास्तोलाको हो । नेपालमा उनी कास्की हेम्जाका हुन् ।
अमेरिकाबाट गएका अर्का महाधिवेशन प्रतिनिधि गौतम दाहालले फेसबुकमा पोस्ट गरेको फोटोमा बास्तोला पनि मतदान गर्ने लाइनमा देखिएका छन् ।
जनसम्पर्क समिति अमेरिकाले छानविन गरेरै प्रतिनिधि लगेको दावी गरेको थियो । कांग्रसेले पनि नेपाली राहदानी भएकालाई मात्र क्रियाशिल सदस्यता दिन भनेको थियो ।
जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट स्वयम नेपाली कांग्रेसका निवर्तमान आमन्त्रित केद्रीय सदस्य हुन् । त्यसो त कांग्रेसको महाधिवेशन उद्घाटन हुनु अगाडि नै विदेशको नागरिकता लिएको ब्यक्ति पनि महाधिवेशन प्रतिनिधि भएर आएको भन्दै पार्टी मुख्यालयमा उजुरी परेको थियो । स्रोत भन्छ ‘विष्टलाई सबै कुरा थाहा थियो तर पनि पार्टी सभापति शेरबहादुर देउवा निकट भएका कारण उनले सबै कुरा पेलेरै गरेका हुन् ।’
जनसम्पर्क समिति अमेरिकामा बिष्ट अत्यन्त विवाधित पात्र हुन् । सन् २०१४ मा सम्पन्न अधिवेशनबाट अध्ययक्षमा निर्वाचित बिष्टले त्यस यता जनसम्पर्क समितिको अधिवेशन नै गराएका छैनन । बीचमा २०७२ सालमा नेपालमा भुकम्प जादाको समयमा अमेरिकामा संकलन गरिएको चन्दा अपचलन गरेको र हुण्डी मार्फत अमेरिकाबाट मोटो रकम नेपाल लगेको आरोप उनलाई लागेको थियो ।
त्यसो त बिष्टले महासचिव मुनिन्द्र नेमाङ्गलाई सो आरोप लगाएका थिए । एकले अर्कोलाई भष्ट्राचारी भन्दै कारवाही समेत गरेका थिए । यस पटक महाधिवेशन प्रतिनिधि लैजादा यी दुई मात्र होइन , जनसम्पर्क समिति अमेरिकामा सन् २०१४ देखि प्रतिपक्षमा रहदै आएका पूर्व संयोजक बिष्णु सुवेदी सहितको टोलीले क्रियाशिल सदस्यता प्रदान गर्दा छानविन गरेको जनाएका थिए ।
साथै गिरिजा प्रसाद कोइराला फाउण्डेशनका अमेरिकाका उपाध्यक्ष सुवर्ण लामाले उच्च अदालत पाटनमा यस बारेमा मुद्दानै दायर गरेका छन् । अदालतमा मुद्दा विचाराधीनै रहेको छ ।
त्यसो त जनसम्पर्क समिति मार्फत अमेरिका बाहेक अन्य देशबाट गएका प्रतिनिधिहरु मध्ये अन्य केहीले पनि विदेशि नागरिकता लिएर पनि कांग्रेस महाधिवेशनमा मतदान गरेको दावी गरिएको छ।
यस बारेमा प्रतिक्रिया लिन खोज्दा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, प्रतिनिधि विश्वराज बास्तोला उपलब्ध हुन मानेनन् । सम्पर्कमा आएका गौतम दाहालले आफुले प्रतिक्रिया नदिने बताए । बिष्ट र बास्तोलाले फेसबुक म्यासेन्जरमा समाज टाइम्सको प्रश्न पढे पनि कुनै जवाफ दिएनन ।
महाधिवेशन स्थलमा रहेका अर्का एक प्रतिनिधिले विदेशि नागरिकले मतदान गरेको कुरा जो जस्ले जति नै उचाले पनि केही फरक नपर्ने प्रतिक्रिया दिए । नाम नलेख्ने सर्तमा उनले भने,’ यी सबै सार्वजनिक खपतका लागि भएका कुरा हुन, केही साथिहरुलाई रत्यौली खेल्ने कुरा भएको छ, अदालतमा पनि मुद्दा परेकै छ खोइ स्टे अडर आयो?’ उनले प्रतिप्रशन्न गरे । विदेशि नागरिकता लिएकाले पनि मतदान गरेको सबैलाई थाहा छ तर केही हुदैन उनको भनाइ छ। ‘पार्टीको निर्वाचन समिति, अदालत गएकै हुन त खोइ केही भयो ? उही तपाईलाई समाचारको लागि मशला मिलेको छ ।’
यस सँग समन्धित थप समाचार
‘अमेरिकी पासपोर्ट लुकाएर कांग्रेस महाधिवेशनमा भाग लिन पाइदैन’
कांग्रेस महाधिवेशन : काठमाडौंमा मुद्दा दर्ता, जनसम्पर्कमा खैलाबैला