प्रहरीले सन्दीप लामिछाने र किशोरी भएको सीसी क्यामरा दृश्यमा यस्तो भेट्यो

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र किशोरीको क्लोज सर्किट (सीसी) क्यामराका दृश्य संकलन गरेको छ । जबरजस्ती करणी गरेको भनिएको होटलको ती दृश्यमा लामिछाने र पीडित भनिएकी युवती भदौ ५ गतेको दृश्य भेटेको हो ।
होटल काठमाडौं इनमा लामिछाने किशोरीसहित राति ११:५५ बजे पुगेका थिए । उनीहरु होटलको कोठा नम्बर ३०५ सम्म पुगेको देखिएको प्रहरीले जनाएको छ ।उनीहरु बिहान साढे ६ बजेतिर फर्किएको होटलका कर्मचारीले पनि दुईजनाको उपस्थितिलाई पुष्टि गरिदिएका छन् ।
‘यसले घटना भएको भनिएको दिन पीडित र लामिछानेसँगै भएको देखाउँछ,’ एक अधिकृत भन्छन्, ‘लामिछाने नियमित जाने होटल भएकाले त्यो दिन उनीहरु कसैको पनि परिचय पत्र त्यहाँ राखिएको रहेनछ ।’
लामिछानेले होटलका सञ्चालकलाई फोन गरेरै कोठा बुक गरेको पनि पाइएको अनुसन्धानक्रममा थाहा भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार पीडितको बयान अनुसार उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् । तर लामिछानेले एउटा मात्र कोठा खाली भएको बताउँदै एउटैमा बस्नुपर्ने बताएका थिए ।
राति लामिछानेले मादक पदार्थ पनि सेवन गरेको पीडितको भनाइ छ । ‘राति पटकपटक जबरजस्ती करणी गरेको किटानी जाहेरीमा उल्लेख छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोरा भन्छन्, ‘प्राविधिक पक्षको अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीले नगरकोटमा उनीहरु गएको भनिएको होटलको पनि सीसी टीभी फुटेज संकलन गरेको छ । ‘सन्दीपमाथि लागेको अभियोगविरुद्ध सीसी टीभी फुजेट र कर्मचारीले गरिदिएको कागज महत्वपूर्ण प्रमाण हुनेछन्,’ ती अधिकृत भन्छन्, ‘अन्य प्राविधिक पाटोबारे अनुसन्धान भइरहेको छ ।’
लामिछाने अहिले क्याराबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि जमैकामा छन् । केन्यामा पाँच वटा टी–२० क्रिकेट खेलेपछि उनी जमैका गएका थिए । आफूमाथि लागेको अभियोगबारे हालसम्म लामिछाने मौन छन् ।