प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अधिवेशन न्यूयोर्कमा

Getting your Trinity Audio player ready...
|
न्यूयोर्क। प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अधिवेशन सेप्टेम्वर १७ र १८ तारिक न्यूयोर्कमा हुने भएको छ।
मञ्चले सोमवार विज्ञप्ति जारी गर्दै अधिवेशनको विवरण सार्वजनिक गरेको हो। ‘सामाजिक अभियानमा सहभागि बनौ’ भन्ने नाराका साथ हुने अधिवेशनमा एक सय जना प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।
मञ्चका अध्यक्ष तथा अधिवेशन आयोजक कमिटिका संयोजक टेक गुरुङले राज्य कमिटी गठन भएको स्थानमा कमिटी मार्फत र कमिटी गठन नभएको स्थानबाट सोझै प्रतिनिधिको रुपमा सहभागिता जनाउने व्यवस्ता मिलाइएको बताए।
समाज टाइम्स सँगको कुराकानीमा गुरुङले भने, ‘अहिले सम्म आठ राज्यकमिटी गठन भइसकेको छ। तर हाम्रो अधिवेशनमा २५ राज्यबाट सहभागि हुने छन्, किमिटी गठन भएका राज्यमा पाँच जना सदस्य बाराबर एक जना प्रतिनिधिले भाग लिने छन्, जुन ठाँउमा राज्य कमिटी छैन त्यहाँबाट सोझै भाग लिन पाइने व्यवस्था गरिएको छ।’
मञ्चका महासचिव तथा अधिवेशन आयोजक कमिटीका उपसंयोजक शंकर पन्तका अनुसार अहिले सम्म ७५ जनाको सहभागिता पक्का भइसकेको छ । अन्तिम सम्म यो संख्या एक सय पुग्न सक्ने छ।
गुरुङका अनुसार सम्मेलन आयोजनाका लागि एक सय सदस्यीय कमिटी नै गठन गरिएको छ। यस्तै विभिन्न दश वटा विभाग पनि बनाइएका छन्।
अधिवेशनले विधान संसोधन गर्नुका साथै र नयाँ नेतृत्व पनि चयन गर्ने छ।
‘अमेरिकामा रहेका नेपाली समुदायलाई कसरी ससक्त बनाउने भन्नेमा हामी जोड दिन्छौ।’ गुरुङले भने, ‘ त्यस कारण हाइस्कूलमा अध्ययन गर्दै गरेका विद्यार्थीलाई पनि प्रोत्साहान गर्न बक्ताको रुपमा राखेका छौ। हामी पहिलो पुस्ता र नयाँ पुस्ताको बीचको सोचमा नै फरक छ त्यसलाई सम्वोधन गर्न हामी उद्घाटन कार्यक्रम हाइटेक र छरितो बनाउछौं ।’
प्रवासी नेपाली एकता मञ्चद्वारा प्रेस विज्ञप्ति
तपाईं हाम्रो प्यारो संस्था, ‘प्रवासी नेपाली एकता मञ्च अमेरिका’ लामो समय देखि समाजसेवामा क्रियाशील सामाजिक व्यक्तित्वहरुद्वारा निर्मित तथा संचालित अग्रणी संस्थाका रुपमा कार्यरत रहेको यहाँहरुलाई विदितै छ । दर्ताको हिसावले नयाँ भए पनि यो संस्था लामो इतिहासको निरन्तरताको उपज हो भन्ने पनि यहाँहरु सबैलाई जानकारी छ ।
हाम्रो संस्था अमेरिकाको संविधान तथा संघीय देखि आफुहरु भए रहेको राज्य समेतको प्रचलित ऐन नियम कानुन अनुसार दर्ता भै संचालित सामाजिक संस्थाका रुपमा क्रियाशिल संस्था भएको जानकारी पनि प्रवासमा रहनु हुने सम्पूर्ण आमाबुबा दिदी बहिनी, दाजु भाइ तथा पत्रकार साथीहरूमा स्मरण गराउन चाहन्छौं ।
संस्थामा आवद्ध प्रत्यक सदस्यहरु संस्थागत स्थापनाको उदेश्य र मान्यतामा दृढ रहँदै सदैव नेपाली—अमेरिकी समुदाय र अमेरिकी समाजको हितमा क्रियाशील रहँदै आउनु भएको छ । त्यसका साथै मातृभूमि नेपालको वृहत्तर हित र नेपालीहरुलाइ आवश्यक परेका बेला साथ र सहयोगमा हाम्रो संस्था सदैव प्रतिवद्ध रहँदै आएको छ ।
नेपालमा लोकतन्त्र स्थापना र त्यसको सन्धर्वका सवाल होस् वा मानव अधिकार रक्षाका सवालमा, हाम्रो संगठनले सदैव सहयोगी भूमिका निर्वाह गर्दै आएको छ र निरन्तर यस भूमिकाप्रति जिम्मेवार पनि रहँदै आएको छ । यहि मुल्य र मान्यता अनुसार लोकतन्त्र, शान्ति र सुशासनमा विश्वास राख्ने दलहरुप्रतिको हाम्रो शुभेच्छा पनि कायम छ ।
नेपाल र नेपालीको समस्यामा हाम्रो संस्था सदैव भर पर्दो साथी भएर अग्रपंतीमा उभिने गरेको यहाँहरलाई अवगत नै छ । अमेरिकामा रहेका नेपालीहरुलाइ भावनात्मक रुपमा जोड्दै तथा आपसी सुख दुखमा एक अर्काको सहयोगी रहँदै आएको संस्थाले नेपालमा भुकम्प,बाढी पहिरो देखि कोरोना कहरको समयमा गरेका सहयोगबारे पनि सर्व बिदितै छ ।
हाम्रा सबै काममा यहाँहरुको साथ, सहयोग र सदभाव रहेको तथ्यलाई हामी सम्मानका साथ स्मरण गर्दछौं र त्यसको लागि यहाँहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं । यहाँहरुको माया र स्नेहले सदैव सफल रहँदै आएको हाम्रो संस्था अब आफ्नो अधिवेशन गर्ने र नयाँ नेतृत्व छनोटको पुर्व सन्ध्यामा पुगेको जानकारी दिन पाउँदा हामी गौरावान्वित छौं ।
अधिवेशन सम्पन्न गर्न सँस्थाका अध्यक्ष टेक गुरुङ संयोजक रहने गरी मुल आयोजक कमिटि निर्माण भै त्यस अन्तर्गत विभिन्न विभागीय जिम्मेवारी समेत तोकि सकिएकोबारे जानकारी गराउँदै यही सेप्टेम्बर १७–१८ मा न्युयोर्क राज्यमा हुन गैरहेको संस्थाको अधिवेशनमा यहाँहरु सबैलाइ हार्दिकतापूर्वक निमन्त्रणा गर्न चाहन्छौं ।
सदा झैँ यहाँहरुबाट प्राप्त साथ र सहयोगले मात्रै हामीले यस पटक पनि हाम्रो अधिवेशनलाइ सफल पार्न सक्ने छौं । यस अधिवेशन पश्चात अमेरिकी नेपाली समाजको हितमा अझै धेरै योजना र कार्यक्रम लिएर हामी आउने छौं भन्ने जानकारी दिन चाहन्छौं ।
नेपालका पुर्व प्रधानमन्त्री श्रद्धय माधव कुमार नेपालले जुम मार्फत उदघाटन गर्नुहुने हाम्रो अधिवेशनमा अमेरिकाका विभिन्न राज्यबाट प्रतिनिधिहरुको सहभागिता रहने छ । विविध सांस्कृतिक र रचनात्मक कार्यक्रम सहित सम्पन्न हुने यस अधिवेशनले संगठनिक एकता साथै सिंगो समाजमा थप सकारात्मक उर्जा र उत्साह थप्ने विश्वास हामीले लिएका छौँ ।
पुन: एक पटक यहाँहरुको अमुल्य साथ र सहयोगको अपेक्षा सहित यहाँहरुले प्रदान गर्नुभएको विश्वास र हौसलाका लागि सम्पूर्णमा आभार सहित हार्दिक धन्यवाद प्रकट गर्दछौं ।
प्रचार प्रसार विभाग
प्रवासी नेपाली एकता मञ्च अमेरिका ।