अमेरिकामा गौरा र देउडाको रौनक : ‘गैजाउकि उडेर उतै अमेरिका छोडि’
मेरिल्याण्ड, अमेरिका । दौरा सुरुवाल र ढाका टोपीमा चटक्क सजिएका बाजुरा त्रिवेणी नगरपालिका खिरपाटाका ४९ वर्षीय पदमबहादुर शाही, अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको हिन्दु बौद्ध मन्दिरमा आइतवार दङ्दास देखिन्थे ।
कहिले उनी देउडा खेलका लागि समुह संगै हुन्थे, अनि फेरि कुनै बेला कम्वरमा दुबै हात लगेर मन्दमुस्कान सहित साथीभाइका गतिविधि निहालिरहन्थे।
बाजुराको पन्धारामा रहेको मस्टेश्वरी माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक शाही बेलामौकामा खट्नपटनमा पनि उत्तिकै सक्रिय हुन्थे।
बाल्टिमोरमा व्यवसाय सञ्चालन गर्दै आएका शाही पछिल्ला नौ वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका छन्।
‘एउटा सानो व्यवसाय शुरु गरेको छु, हतपत फुर्सद नै हुदैन तर आज चाँजोपाजो मिलाएर आएको साह्रै रमाइलो भयो’ देउडा खेल्दा खेल्दै शाहीले समाज टाइम्स सँग भने।
नौ वर्ष अगाडि अमेरिका आएका ‘हेडशर’ शाही मात्र होइन, उनी जस्तै नेपाली पन झल्कने पोशाकमा सजिएर आएका अन्य सहभागिलाई सुदूरपश्चिमकै ‘नामी’ गायीका-गायकजोडी चाँदनी मल्ल र शंकर सिंह विष्टले पनि भरपुर मनोरञ्जन दिलाए। स्थायी बसोबासका लागि नौ महिना अगाडि अमेरिका आएका देउडा गायक जोडि भर्जिनियाबाट मेरिल्याण्डको कार्यक्रममा आएका हुन्।
बाल्टिमोर र आसपास बसोवास गर्ने सुदूरपश्चिमेली र उनीहरुले आमन्त्रण गरेका पाहुना गरि झण्डै तीन सय जनाले सेप्टेम्बर ४ तारिक आइतवार मन्दिरमा लगभग चार घण्टा रमाइलो गरे।
यसरी सबैलाई एकै ठाँउमा रमाइलो गर्ने अवसर ‘गौरा’ पर्वले गरेको थियो। सुदूरपश्चिम समाज मेरिल्याण्ड, अमेरिका र नेपाल अमेरिका सांस्कृतिक केन्द्र (हिन्दु बौद्ध मन्दिर) ले गौरा पर्वको अवसर पारेर कार्यक्रम गरेको हो।
सोहि अवसरमा गौरा माताको प्रतिमा प्रदर्शन तथा पुजा आजा गरि गौरा माता को दमाह बाजा सहित स्वागत तथा अन्त्यमा विदाइ समेत गरिएको थियो ।
महिला र पुरुष मिलेर सात सात चरण सम्म देउडा पनि खेले। देउडामा महिला पुरुषले पालै पालो भट्याउने गरिएको थियो।
देउडा औपचारिक प्रदर्शनका लागि गीत डोटीका भीम बिक्रम शाही, कैलालीका गणेश भट्टराई र बाजुराका जनक थापाले तयार गरेका थिए।
गोलाकारमा हाते साङ्गो बनाएर अगाडि पछाडि गर्दै नाच्दै केटा पक्षले देउडा शुरु गरे
गौराको रौनक होला सात समुन्द्र पार
प्रदेशमा भेट भयाको सबलाई नमस्कार!
त्यस पछि केटीको तर्फबाट जवाफ आयो …
तिल हाली तिरकुलो हाली मील पेली हालौ
गौराको मौसर पाणी देउडा खेली हालौ!
केटापक्ष: फागुनमा होली रन्को बझाङ चैतली
सुदूरको डेउडा आयो मिलाइ देउ पैतली!
केटी: का हो बाज जन्मभुमी का हो क्रमभुमी
आजकादिन भेट हुन्यारैछ आया घुमीघुमी!
केटा : जति हेर्यो त्यति राम्रो जोराइलको सेरो
बादलमा लुकेको जुनझै सुदूरपश्चिम मेरो!
केटी: डडेलधुरा उग्रतारा अछाम राम्रो साँफे
उडार सुदूरमा लैजा हिमचुलीका डाँफे!
केटा : धनगडिमा जोकर ताल सुखड घोडाघोडि
गैजाउकि उडेर उतै अमेरिका छोडि!
केटी : जौपाते पगडी बान्दो राजा दर्नाली
वइछ सेती वइछ काली वइछ कर्णाली!
केटा : सिलगडि शिलदेवी थान नारिकी नातर
बर्षैबर्ष खेल्ने हौकि यई साल मातर!
केटी : कासे थाल झिलिमीली बाखरिको बोसो
रित मात्रै जनाउनु पण्यो गाउँघरका जसो!
केटा : सिलगडि शिलदेवी थान नारिकी नातर
बर्षैबर्ष खेल्ने हौकि यई साल मातर!
केटी : दार्चुला गोकुलेश्वर बैतडी पाटन
यइ मनाउ सुदूरकापर्व सौरणी कटाउन!
केटा : सिलगडि शिलदेवी थान नारिकी नातर
बर्षैबर्ष खेल्ने हौकि यई साल मातर!
केटी : दशैमा भेटेर फेरि झलना रेटौला
गौरामाता दाइने भया अर्कोसाल भेटौला!
केटा : खेल्ने धोको साची रउला आउने साल दशै
हास्नुखेल्नु इसै होइझाउ दुखनहो कशैकि!
केटी : राइसल्ला धुपीका दौरा बल्दा धमस्कार
विटमार्छौ पछाडिसर्छौ सबलाई नमस्कार!
‘सुदूरपश्चिममा रहेका नौ जिल्लाका आआफ्नै संस्कृति छन्, त्यसमा गौरा पनि एक विषेश हो, तर अमेरिकामा पहिलो पटक गौरा पर्वमा सहभागि हुन पाए।’ शाहीले भने, ‘सबै साथिहरु सँग भेटघाट भयो देउडा खेलियो उत्साहित भए’
हुन पनि मेरिल्याण्डमा सामुहिक रुपमा सार्वजनीक स्थानमा गौरा पर्व मनाइएको यो पहिलो पटक हो। ‘एक दुई परिवार भेटेर लिभिङ रुममा खाइपिए गरि गौरा मनाइए पनि सामुहिक रुपमा यो पहिलो पटक हो।’ सुदूरपश्चिम समाज मेरिल्याण्डका अध्यक्ष दमन विक्रम शाहले भने,’यो पटकको आयोजनाले हामीलाई ठूलै पाठ सिकाएको छ, अब अर्को पटक भब्य रुपमा गौरा मनाउछौं।’
‘गौरा र देउडाको कुरा मात्र भएन हामीले समग्र संस्कृतिलाई नै उठाउनु पर्छ, अहिले हामीले गर्यौ भोली अर्कोले गर्छ त्यसो हुँदा समग्रमा देशकै संस्कृति उठ्ने हो नी’ पहिलो कार्यक्रमबाट उत्साहित अध्यक्ष शाह भन्छन्,’कोठामा रहेको सुदूरपश्चिमको संस्कृति समुदायमा आयो त्यो पनि प्रभाव पार्ने गरि, अव अरु समुदायलाई पनि सकारात्मक चुनौति थपियो, उनीहरुलाई हामीले किन नगर्ने भन्ने हुन्छ।’
शाह कार्यक्रमले उत्साहित बनाएको बताउछन्, ‘समग्रमा म खुसी छु, कतिखुसी छु, म बयान नै गर्न सक्दिन,कति आमाहरुले टाँउकोमा हात राखेर आशिष दिएर गए, अहिलेको नयाँ पुस्तालाई पो यो गौरा के हो भन्ने भो।’ शाह थप्छन, ‘जो नेपालबाट आएका थिए लामो समय सम्म गौरा मनाउन पाएका थिएनन् तिनले त धन्यवाद भनेर गए यस्तो गर्न नछाडेस भनेका छन् उनीहरुको प्रतिक्रिया हेर्दा त हामीले गज्जव गरेका रहेछौं भन्ने भएको छ।’
कार्यक्रम संयोजक भीम बिकेले सुदूरपश्चिमको मात्र नभइ सिङ्गो मुलुककै संस्कृति दोस्रो पुस्तालाई कसरी हस्तान्तरण गर्छौं त्यो सोच्नु पर्ने भएको बताए। ‘संस्कृतिको विकास गर्न सकेनौ भने, उचित रुपमा हस्तान्तरण गर्न सकेनौ भने हामीले हाम्रो विकास गर्न सक्दैनौ।’
पुराणमा ‘मानस खण्ड’ क्षेत्रको रुपमा वर्णन गरिएको हालको सुदुरपश्चिम, मध्यपश्चिम, भारतको कुमाउँ तथा गढवाल क्षेत्रमा मनाईने यो विशेष पर्व गौरा लाई सुदुरपश्चिमको विशेष सांस्कृतिक पर्वको रुपमा मनाउने गरिन्छ । महिलाहरुको सम्मान तथा जातिय भेदभावको खारेजी यस पर्वका विशेषता हुन ।