प्रतिनिधि सभाको सिट बाँडफाँटमा नेपालकाे असन्तुष्टी
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभाको सिट बाँडफाँटको विषयमा गठबन्धन दलकाे बीचमा हेपिएकाे बताउन थालेका छन्।
गठबन्धनका शीर्ष नेता बीचको छलफलमा मात्र होइन सार्वजनिक अभिव्यक्तिमा पनि उनकाे असन्तुष्टी देखिएका छन्।
कांग्रेसले अहंकार देखाउँदा सिट संख्यामा कुरा मिल्न नसकेको नेपालले सार्वजनिक आरोप लगाएका छन्। सबैले आ-आफ्नो अडान कायमै राख्दा सहमतिमा पुग्न नसकिएको उनको भनाइ छ। गत शनिबार विराटनगर पुगेका उनले भनेका थिए,‘बालुवाटारमा बालुवा पेलेका पेल्यै छौं, तर तेल निस्किन सकेको छैन।’
कांग्रेसले ७० सिटभन्दा बढी राख्न नहुने उनले अडान राख्दै आएका छन्।
शीर्ष नेताको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले २०७४ सालको प्रतिनिधि सभाको परिणामअनुसार सिट बाँडफाँट हुनुपर्ने अडान राख्दै आएका छन्।
१ सय ६५ निर्वाचन क्षेत्रमध्ये १०० क्षेत्रमा दाबी गर्दै आएको कांग्रेस ९० भन्दा तल नझर्ने पक्षमा छ। यता, माओवादी केन्द्रले पनि ४५ सिटमा सशक्त दाबी गरिरहेको छ। कम्तीमा पनि २६ सिटमा दाबी पेश गरिरहेको एकीकृत समाजवादी गठबन्धनका दुई ठूला दल कांग्रेस र माओवादीको अडानका कारण अप्ठेरोमा परेको छ। एकीकृत समाजवादीमा प्रत्यक्ष निर्वाचित सांसदको संख्या १३ छ। यो संख्यालाई कायमै गराउने सहमति सत्ता गठबन्धनमा पहिले नै भएको समाजवादीका नेताको दाबी छ।