शेर्पा संघ अमेरिकामा नयाँ नेतृत्व
न्यूयोर्क । शेर्पा संघ अमेरिकाले नयाँ नेतृत्व पाएको छ। न्यूयोर्कमा शनिवार सम्पन्न संस्थाको तेश्रो महाधिवेशन पसाङ दोर्जी शेर्पा (एपी लामा) को अध्यक्षतामा नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको हो।
ज्याक्सनहाइट स्थित शेर्पा किदूगको हलमा भएको महाअधिवेशनले ११ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्ष श्रीमती श्याम्बु शेर्पा, उपाध्यक्षमा दा जिमा शेर्पा र महासचिब छिरिङ्ग शेर्पालाई चयन गरेको छ।
संघको सचिवमा पेम्बा ग्युर्मी शेर्पा, कोषाध्यक्षमा छिरिङ शेर्पा र सहकोषाध्यक्षमा सांगे शेर्पा चयन भए। यस्तै सदस्यहरुमा निमा दोर्जी शेर्पा, आङ छोग्याल शेर्पा, गेलु शेर्पा र ल्हाक्पा ठिलेन शेर्पा छन्।
राजनीतैक अधिकार सहित सन् २०१७ मा शेर्पा संघ अमेरिका स्थापना भएको हो। निवर्तमान अध्यक्ष आङ जाङ्बु शेर्पाका अनुसार युनाइटेड शेर्पा एशोसिएशन अमेरिका र त्यस अन्तर्गतको शेर्पा किदूग धार्मिक गतिविधि गर्नका भनेर १९९६ मा स्थापना भएको हो।
‘किदूगबाट अमेरिकामा राजनीतिक गतिविधिमा लाग्दा आउन सक्ने समस्याको आकलन गर्दै शेर्पा संघ अमेरिका नाममा नयाँ संस्था खोलिएको हो, यो एक अर्काको प्रतिस्पर्धी होइन, कतिपयले नबुझेर शुरुमा शेर्पा किदूग फुट्यो पनि भने तर त्यो होइन।’ निवर्तमान अध्यक्ष शेर्पाले समाज टाइम्स सँग भने दुबै संस्था अमेरिकामा रहेका शेर्पाहरुकै हितका लागि खोलिएका हुन हामी सहकार्य गर्दै अगाडि बढ्ने हो र त्यो भइ पनि रहेको छ, हामी दुबै संस्थामा समान रुपमा खटेका छौ।’
उनका अनुसार ‘अमेरिकी कानून अन्तर्गत शेर्पा संघ ५०१(सी)४ को रूपमा दर्ता छ, किदूग ५०१(सी)३ को रूपमा दर्ता छ, किदूगले भाषा, धर्म र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको छ, संघले अमेरिकामा रहेका शेर्पाहरुलाई मूलधारको राजनीतिमा सहभागी गराउन चेतना जगाउने बारेमा काम गर्छ।’
निमा शेर्पा संघका संस्थापक अध्यक्ष हुन्। त्यस आङ जाङबु शेर्पा अध्यक्ष भएका थिए।
आङ जाङबुकै सभापतित्वमा सम्पन्न महाअधिवेशनको उद्घाटनमा प्रमुख अतिथि नेपाली महावाणिज्यदूतवास न्यूयोर्कका महाबाणिज्यदूत गणेश प्रसाद अधिकारी रहेका थिए। यस्तै बौद्ध धर्मगुरु टुल्कु उर्गेन खम्बाचे विषेश अतिथि तथा नेपाल शेर्पा संघकी उपाध्यक्ष पसी शेर्पा, गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिका, न्यूयोर्कका च्याप्टरका अध्यक्ष आङ छिरिङ्ग शेर्पा, शेर्पा किदुगकी अध्यक्ष छिरिङ्ग शेर्पा, युएस नेपाल क्लाईम्बर्स एशोसियसनका अध्यक्ष पासाङ शेर्पा लगायत अथितिको रुपमा सहभागि भएका थिए।
महाधिवेशनमा निर्वाचन समितिमा प्रमुख आयुक्त आङ ङिमा ग्याल्जेन शेर्पा र सदस्यमा छेवाङ लामा, फरादेन्डी शेर्पा र तेन्डी शेर्पा रहेका थिए।
उद्घाटन समारोहमा महाधिवेशनको सफलताको कामना गर्दै विभिन्न संस्थाद्वारा पठाइएको शुभ कामना सन्देश बाचन गरिएको थियो।
नेपालबाट विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पा, नेपाल शेर्पा संघ र नेपाल आदिबासी जनाजाति महासंघका अध्यक्ष गेल्जे लामा, नेपालका संघिय सभासद जीप छिरिङ्ग लामा शेर्पा लगाएतले शुभ कामना सन्देश पठाएका थिए।