नेपालको मूलनिति बुद्ध दर्शनको आधारमा संचालित हुन्छ भन्न हामी किन हिचकिचाई रहेकाछौं ?
टेक्सास, अमेरिका । बुद्ध दर्शनलाई विज्ञानमा आधारित सत्यको खोजी गर्ने शास्त्रीय ज्ञानको रुपमा जगतले स्वीकार गरेछ । बहु सत्य र सत्यतामा परिवर्तन हुन्छ भन्ने ज्ञानमा आधारित यो दर्शनको जननी देश नेपालले किन बाहिरी दर्शन शास्त्रका उग्र र हिंसक दर्शन कार्यकर्तालाई पढाउदै आफ्नो वुद्ध दर्शन र यसमा आधारित शासकीय पध्दति अपनाउन सकेको छैन ?
यो म र मेरो जस्तै सोच भएका राष्ट्र र बुद्धवादसँग सरोकार राख्नेको चासोको विषय हुन सक्छ । जसकालागि यहाँ केही अनुत्तरित प्रश्नलाई बुँदागत रुपमा राख्ने प्रयास गरेको छु । यसमा केवल बुद्धवाद र शासकीय प्रणालीलाई मात्र उठान गरिएको छ जो विश्वजगतको मानवीयतावादसँग सम्वन्धित शासकीय स्वरुपसँग सम्वन्धित छ ।
बुँदा नं १: बुद्धवादले विश्व शान्तिको कामना गर्छ । जसले विश्ववन्धुत्व, भाईचारा र अहिंसाको मार्गलाई आँकलन गर्दछ । तर नेपाली नेतृत्वले क्रान्ति र प्रतिक्रान्तिको नाममा किन हजारौको बली चढाए? के यीनलाई विश्वसामू बुद्धवादका अनुयायी भन्न सुहाउन्छ? किन नेपाली माटो भित्र हत्याको राजनीतिलाई परास्त गरेर शासकीय सत्ताको मूलनितिको रुपमा बुद्धको शान्ति र अहिंसाको मार्ग बनाउन सबै नेपाली दलहरु सहमत हुन सकेका छैनन? किन पहिले परिकल्पना गरेको शान्तिक्षेत्र घोषणा कार्यान्वयन हुन सकेन?
बुँदा नं २: बुद्धवादले मानवीय करुणालाई प्राथमिकता दिन्छ । जसमा शासकीय स्वरुपले करुणामयी संरचना र संगठनले करुणामयी जीवन्त संगठनको परिकल्पना गर्दछ । बुद्धको करुणामयी जीवन्त संगठनले मानव दुख, पिडा, असाहय, गरिवको पक्षमा लाग्नु संगठनको दायीत्व ठान्दछ । यसले समतुल्य समाज निर्माणमा लाग्न निर्देशित गर्छ । परिणाम स्वरुप यसले जनतालाई दुख नदिई सेवा गरेर पिर मार्का समाधान गर्न प्रेरित गर्छ । तर यति गहन दर्शन हामी सँग हुँदा पनि किन देशका उच्चतहका नेता र पढेलेखेका प्राज्ञिक वर्गले यसमा गहन अनुसन्धान गरि देशको मूल कार्यान्वयनको नीतिको रुपमा स्वकार गर्न नसकेको होला ?
बुँदा नं ३: देशको शासकीय स्वरुप विगतका कालखण्ड देखि नै बदनियत किसिमका कामले जेलिएको आरोप छ । भ्रष्टाचार, परिवारवाद, नाता र कृपावादले बदनीयत शासन प्रणलीलाई मानव सेवा, गरिव, निमूखा केन्द्रित बनाउन बुद्धको करुणामयी जीवन्त संगठनद्वारा हरेक दिन कार्य सुरु पूर्व जानीजानी कुनै पनि अपराधजन्य काम नगरी सेवालाई निमूखा सम्म पुरयाउनेछु भन्ने प्रण र सदमार्गको लागि प्रतिज्ञा गराउनु नै यसको मूलमन्त्र हो भने यसलाई देशको मूलनीती बनाउन किन कन्चुस्याई?
बुँदा नं ४: राष्ट्रवादी कहलिएका पार्टीहरुले वाहिरिया दर्शनहरु कार्यकर्तालाई वाँड्नु र तीनका फोटाहरुले पार्टी कार्यालय सजाउनको सट्टा बुद्धदर्शनका ज्ञानबाट देशलाई सजाउन केले रोकेकोछ,जुन दर्शनशास्त्र विसुध्द विज्ञानमा आधारित समाजसेवा र मानवकल्याणमा आधारित छ ।
बुँदा नं ५: बुद्धवादको करुणामयी जीवन्त संगठन सिध्दान्त कुनै धर्मसँग सम्वन्धित नभएर आध्यात्मिक मूल्यमान्यतामा आधारित भएको तर पनि बिभिन्न संरचनाले यस शिक्षाको महत्व प्रसार र उपयोग नगर्नाको कारण के होला? किन हाम्रा स्कूलका नानीहरुमा करुणामयी भाव खस्कदो छ ? किन पढाउने गुरुमा करुणामयी स्वभावको कमी छ? किन शिक्षानीतीले यसलाई मूलनीतीको रुपमा स्वीकार गरेको छैन? जसको असर स्थानीय देखि केन्द्रिय शासनमा असर परेको छ।
बुँदा नं ६ : झुट वोल्नु, ठग्नु, घुसखोरी र कालोधन जम्मा गर्नु र कालोधनलाई सेतो बनाउन सधै लाग्नेबाट करुणामयी शासकीय संगठन सम्भव छैन भने यस्ता सामाजिक धमिरा हटाउने एक उपय नै बुद्धिज्मको करुणामयी ज्ञानको प्रसार हो । तर यसलाई किन र कसबाट यसको प्रसार हुन रोकिएको छ?
अन्त्यमा, हामी जसरी वुध्द जन्मेको देशका नागरिक भनेर गर्व गर्छौ त्यसै गरी यस दर्शनका हरेक पक्षलाई विज्ञानसँग दाजेर राज्यले अनुसन्धान गर्द लागु गर्नु पर्छ भने ठहर देखिन्छ । यो दर्शन कोरा ज्ञान नभएर उपयोगितामा आधारीत सीप हो । जसको एउटा सानो अंशको रुपामा करुणामयी सासकीय जीवन्ततालाई देशको मूलनितिमा समावेश गर्नु पर्छ भन्ने मेरो दृष्टीकोण नेपालको अहिलेको ब्याप्त शासकीय कमजोरी र भ्रष्टाचारको चरमतालाई ईंकित गर्दै समाधानमा हाम्रै दर्शन काफी भन्न खोजेको हो ।
तस्वीरहरु : लेखकबाट
(लेखक : यूनिभर्सिटी अफ नर्थ टेक्सासबाट शिक्षा मनोविज्ञानमा विद्यावारधी गर्नै हुनुहुन्छ।)