प्रधानमन्त्री देउवा र एनआरएनए प्रतिनिधिबीच भेटघाट, नागरिकता विधेयकमाथि छलफल
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसीको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको भेटमा देउवाले एनआरएनएको माग पनि समेटेर सरकारले नागरिकता विधेयक अगाडि बढाएको बताए।
संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि भएको व्यवस्था अनुसार नै विधेयक पारित हुनेमा प्रधानमन्त्री देउवाले आश्वस्त गराए।
सो भेटमा एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा बद्रि केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरुले यो विधेयक ल्याउन सरकारले चालेको सकारात्मक कदमको लागि धन्यवाद दिएका थिए।
कार्यक्रममा एनआरएनएको तर्फबाट युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, पूर्व आइसिसि सदस्य पशुपति भण्डारी लगायतका प्रतिनिधिहरु, गैरआवासीय नेपाली नागरिकता सम्बन्धी फोकल पर्सन सरोज दाहाल र सचिवालयका तर्फबाट अधिकृत कुनाल मिश्रा लगायतको उपस्थिति रहेको थियो ।
टोलीले पूर्व प्रधानमन्त्री एंव नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सँग पनि भेटवार्ता गरेको छ। टोलीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री माननीय गोबवन्द प्रसाद शर्मा (कोईराला),परराष्ट्र मन्त्री डा नारायण खड्का,नेपाल सरकारका मुख्य सचिव शंकर दास वैरागी सँग पनि भेट गरेको जनाएको छ।
भेटमा विधेयक ल्याउनको लागि सहयोग गरिदिएकोमा एनआरएनएको तर्फबाट सबैलाई धन्यवाद प्रकट गर्नुका साथै यो विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गर्नको लागि पहल गरिदनु हुन आग्रह गरिएको एनआरएनए आइसीसी सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
गरेका थिए ।















