नयाँ पार्टी खोल्दै वामदेव गौतमले भने: “आउँदो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ”
काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो।
साविक नेकपामा अन्तद्र्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वाेच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा गौतमले कम्युनिष्ट आन्दोलन धरासयी बनेको बताए । उनले आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धरायसी बनेपछि नयाँ राजनीति दल खोल्नुपरेको बताए ।
आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धरासयी बनेको हेरेर बस्न नसक्ने भन्दै उनले गत स्थानीय तह निर्वाचनामा एमालेविरुद्ध पाँच दलीय गठबन्धन लागेको बताए ।
कम्युनिष्टबीच एकता तथा कार्यगत एकता भएन भने गठबन्धनका नाममा कांग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका गौतमले यदी बहुतम ल्याएन भने प्रतिनिधिसभा र प्रदेशसमा कांग्रेस सबैभन्दा ठूलो दल हुने बताए ।
यसपछि पाँच वर्ष कांग्रेसकै नेतृत्वमा देशको संरचना रहने भन्दै उनले दोस्रो निर्वाचनमा कांग्रेसलाई गठबन्धनको आवश्यक नपर्ने बताए ।
यो स्थितिलाई नियन्त्रणमा लिन आफूले नयाँ दल घोषणा गरेको बताउँदै गौतमले कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताए ।
सर्वाेच्च अदालतले कम्युनिष्टलाई शत्रुतापूर्ण अवस्थामा पुर्यायो
गौतमले सर्वाेच्च अदालतले कम्युनिष्ट पार्टीलाई शत्रुतापूर्ण अवस्थामा पुर्याएको बताए । पत्रकार सम्मेलनमा गौतमले साविक नेकपा खारेज, एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्च अदालतको फैसला त्रुटिपूर्ण र हानिकारक साविक भएको बताए । सो आदेशले कम्युनिष्ट पार्टीलाई शत्रुतापूर्ण अवस्थामा पुर्याएको गौतमले बताए ।
नयाँ पार्टी घोषणा कार्यक्रममा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सर्वोच्च अदालतको निर्णयले पुनर्स्थापित नेकपा (एमाले) पुनः विभाजन उन्मुख भयो र केही महिना पछि साँच्चिकै विभाजित भएरै छोड्यो । जुन तपाईहरुलाई अवगत नै छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्च अदालतको त्यो निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरुका बीचको सम्बन्धलाई शत्रुतापूर्ण अवस्थामा परिणत गरिदिएको छ । साथै नेपालको राजनीतिक अवस्थामा गम्भीर नकारात्मक प्रभाव बृद्धि भइरहेको छ । यी तथ्यहरुको आधारमा भन्नुपर्दा सर्वोच्च अदालतको निर्णय त्रुटीपूर्ण र हानिकारक सावित भएको छ ।’
यस्तो छ वामदेव गौतमको पार्टीको ‘हेडक्वाटर’
गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ को केन्द्रीय कमिटी ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने केन्द्रीय सदस्य निमकान्त पाण्डेले जानकारी दिए ।
उनकाअनुसार पार्टी बहुपदीय प्रणाली रहनेछ । केन्द्रीय कार्यसमितिमा एक अध्यक्ष, प्रत्येक प्रदेशसको ईञ्चार्जको जिम्मेवारी बहन गर्नेगरी सात उपाध्यक्ष, संगठनात्मक जिम्मेवारी पूरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने गरी व्यवस्था गरिएको पाण्डेले जानकारी दिए ।
मेरो श्रीमती र छोरा भएर मात्रै केन्द्रीय सदस्य भएका होइनन् : वामदेव गौतम
गौतमले आफ्नो छोरा र श्रीमती केन्द्रीय कमिटीमा रहनुलाई उनीहरूले गरेको कम्युनिष्ट आन्दोलनको परिणम भएको बताएका छन् ।
पार्टी घोषणा कार्यक्रममा उनले आफ्नै श्रीमती र छोरा मात्रै भएर केन्द्रीय सदस्य नभको दाबी गरे । उनले भने, ‘उनीहरू केन्द्रीय कमिटीमा छन् तर मेरो श्रीमती र छोरा भएर मात्रै होइनन् । मेरो सिंगो परिवार कम्युनिष्ट आन्दोलनमा छ ।’
कार्यक्रममा उनले आफैले स्थापना गरेको कम्युनिष्ट पार्टीले धेरै ठूला नेता जन्माएको पनि बताए । साथै, आफ्नै सक्रियतामा निकै ठूला ठूला राजनीतिक परिवर्तन ल्याएको दाबी गरे ।