प्रधानमन्त्री देउवाले बालेनलाई भने- “तपाईंले त चमत्कार नै गर्नुभयो,हाम्रो सहयोग हुन्छ”
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह बधाई दिएका छन्।
देउवालाई भेट्न शाह बुधवार बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका थिए। भेटघाटका क्रममा मेयरमा निर्वाचित भएकोमा शाहलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले बधाई दिएका हुन् ।
‘शाहलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ भन्नुभयो,’ बालेनका सहयोगी कुमार व्यञ्जनकारले बालेनलाई उदृद गर्दै भने ।
काम पर्दा आफूलाई २४ घन्टा सम्झन बालेनलाई प्रधानमन्त्रीले आग्रह गरेको उनले बताए । प्रधानमन्त्री देउवासँग बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गरेका थिए ।

भेटमा मेयर शाहले महानगरको विकास निर्माणमा सहयोगका लागि पार्टी र सरकारका तर्फबाट देउवासँग सहयोग मागेका थिए ।
प्रधानमन्त्रीले महानगरले गर्ने काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीक प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
‘विकासको काममा सहयोग हुन्छ, महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाको भनाइ उदृत गर्दै उनले भने ।
शाहले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।
शाहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए । निर्वाचित घोषणा हुन अघि उनी बालकोट पुगेका थिए ।












