नेपालमा अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन एकअर्काको आवश्यकता छ : अमेरिका
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्न पहिलेभन्दा बढी एकअर्काको आवश्यकता रहेको बताएका छन्।
नेपाल अमेरिका सम्वन्धको ७५ वर्ष पुगेको उपलक्षयमा शुभ कामना सन्देशन जारी गर्दै राजदूत बेरी यस्तो धारणा राखेका हुन्।
“जनता-जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै यस बहु-पुस्ताको अमेरिका-नेपाल सम्बन्धको जग हो ।” भन्दै राजदूत बेरीले भनेका छन्, “आजको दिनमा जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ ।”
राजदूत बेरीले नेपाल सँग मिलेर काम गर्न अमेरिका उत्सुक रहेको पनि बताएका छन्। “यो काम हामी एकअर्कासँग मिलेर गर्न उत्सुक छौँ र यसबाट फल प्राप्त गर्नेछौँ, जसरी पुस्तौँदेखिको हाम्रो मित्रताले हामीलाई प्रतिफल दिँदै आएको छ ।” सन्देशमा बेरीले भनेका छन्।
राजदूत बेरीको वक्तव्यको पूर्ण पाठ
अमेरिका र नेपालबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठको अवसरमा राजदूत र्यान्डी डब्लु. बेरीको वक्तव्य
काठमाडौँ :यस वर्ष संयुक्त राज्य अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको छ । ७५ वर्षको यस अवधिमा हाम्रा दुवै देशमा भएका परिवर्तनका दशकहरूमा अमेरिका र नेपाल एकअर्काको साथमा उभिँदै आएका छन्।
अमेरिकी जनताले नेपालीहरूलाई चिकित्सा र विज्ञानमा प्रशंसनीय प्रगति गर्ने, पर्वतारोहीका रूपमा लगभग असम्भव उचाइमा पुग्ने, राष्ट्रसंघीय शान्ति सेनामा सम्मानजनक र बहादुरीका साथ सेवा गर्ने र कला र संस्कृतिको विशाल विविधतामार्फत विश्व सम्पदालाई समृद्ध बनाउने मानिसहरूका रूपमा चिन्दछन् ।
यस साताले हामीलाई अमेरिकी र नेपालीहरूबिचको सम्बन्ध एक यस्तो सम्बन्ध हो जुन पुस्तौँदेखि चल्दै आएको छ र चलिरहने छ भन्ने कुराको स्मरण गराउँदछ ।
नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले हाम्रो साझेदारीको सशक्त परिणामलाई झल्काउँछ । सन् १९५० को दशकमा औलोले लगभग २५ प्रतिशत जनसङ्ख्यालाई असर गरेको थियो । युएसएआईडीमार्फत अमेरिकी सरकारले औलो नियन्त्रण कार्यक्रमलाई सहयोग गर्यो र सन् १९६८ भित्र औलोका बिरामीहरूको सङ्ख्या राष्ट्रव्यापी रूपमा २० लाखभन्दा बढीबाट २ हजार ४६८ मा झर्यो ।
महामारी सुरु भएयताका पछिल्ला दुई वर्षमा अमेरिकाले नेपाललाई झन्डै ३८ लाख कोभिड–१९ खोपका मात्रा र १२ करोड ४८ लाख डलरभन्दा बढीको कोभिड सहायता प्रदान गरेको छ ।
साथै, गत फागुनमा नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपाल कम्प्याक्ट सम्झौतालाई अनुमोदन गर्यो । यस कम्प्याक्ट कार्यक्रमको प्रतिफलस्वरूप नेपालमा ऊर्जा र यातायात क्षेत्रको आधुनिकीकरणमा मद्दत पुग्नेछ र २ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग पुग्नेछ ।
नेपालको समृद्ध इतिहासको अमेरिका प्रशंसा गर्दछ । सांस्कृतिक संरक्षणका लागि राजदूत कोष नामक कार्यक्रमले विश्वभरका सांस्कृतिक सम्पदाको संरक्षणमा मद्दत गर्दछ । झन्डै २० वर्षको अवधिमा यस कार्यक्रमले नेपालमा २५ ओटा सांस्कृतिक संरक्षण परियोजनालाई सहयोग गरी ३८ लाख डलरभन्दा बढी लगानी गरेको छ । यस कार्यक्रमका परिणाममध्ये काठमाडौँको सुन्दर गद्दी बैठकको जीर्णोद्धार पनि पर्दछ ।
जनता-जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै यस बहु-पुस्ताको अमेरिका-नेपाल सम्बन्धको जग हो । आजको दिनमा जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ । यो काम हामी एकअर्कासँग मिलेर गर्न उत्सुक छौँ र यसबाट फल प्राप्त गर्नेछौँ, जसरी पुस्तौँदेखिको हाम्रो मित्रताले हामीलाई प्रतिफल दिँदै आएको छ ।