एनआरएनए जर्मनी : अदालतको फैसला कार्यान्वयनमा ल्याउनुको विकल्प छैन : बिजय मोक्तान
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय कमिटि जर्मनीको (२०२१-२०२३) कार्यकालको लागि भएको निर्वाचन प्रकृयागतमा त्रुटी, विधिबिधान अनुसार नभएको साधारण सभालाई पनि मान्यता नदिएको र निर्वाचनमा भएका कमिकमजोरीलाई एकमुष्ट रुपमा अदालतको फैसलाले न्यायोचित ढंगले फैसला गरेको बारेमा एनआरएनएका जर्मनी अध्यक्ष हरि न्यौपाने ज्युको फेसबुकमा सबै उल्लेख गरि नेतृत्वले गरेको गल्ती कमिकम्जोरीलाई स्विकार्दै जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु।
तपाई हामी सबै मिलेर जर्मनीको नेपाली समाजलाई एकत्रित गर्ने र समाजमा भएका विकृती बिसङतीहरुलाई सुधार गरि बलियो नेपालीहरुको समाज बनाउन जोड दिनु पर्छ। एनआरएनए जर्मनी एउटा विशुद्ध सामाजिक संस्थाको रुपमा जर्मनीको कानुन अनुसार दर्ता भएको संस्था हो त्यसैले एनआरएनए जर्मनी जर्मन नियम कानुन र संस्थाको बिधिबिधानमा चल्नुपर्छ भन्ने मान्यता सबैको साझा हो।
नेतृत्वले एनआरएनए जर्मनीमा आबद्ध सबैलाई समेट्न नसकेको र एकतर्फी आफ्नै पारामा अगाडि बढेकोले सम्मानित अदालत सम्म न्याय खोज्न जानुलाई अन्यथा अनार्थ लगाउनु हुदैन। हामी कानुनी राज्यमा बसीरहेका छौ यहाँ कानुनले कसैलाई काखा र कसैलाई पाखा देख्दैन। प्रमाणका आधारहरुमा अदालतको फैसला आएकोमा कुनै धेरै अचम्मित हुनु पर्ने पनि छैन तर अदालतको फैसला अब तुरुन्त कार्यान्वयन हुनु पर्छ।
कार्यान्वयन नभए कानुन अनुसार अगाडि बढ्ने कुरालाई दोहराई रहनु पर्दैन। बिगतमा यस्ता धेरै कमिकमजोरी भएका थिए। बिगतको अनुभवको आधारमा हामीले गल्ती गरेका हौ भन्ने सहुलियत कानुनले कसैलाई छुट दिदैन। यो संस्थालाई आफ्नै पकेटमा राख्ने मनासायले यस्तो परिणाम आएको हो भन्ने हामीले बुझ्नुपर्छ। बिगतमा जस्तै सहमति र सहकार्यको लागि सबै सदस्यहरुसित छलफल र सुझाव सल्लाह लिनु ढिला गर्नु हुदैन।
एनआरएनए जर्मनी हामी सबैलाई आवश्यक भएर नै यसलाई निर्माण गर्न अग्रज तथा अभिन्यताहरुको धेरै ठूलो मेहनतको पसिना बगेको छ। यो योगदानलाई कदर नगरी एकलै गुटबन्दी गरि हिड्ने प्रवृत्तिले आज यहाँ सम्म पुर्याएको हो। आफुले गरेको काम र जिम्मेवारीलाई सच्चाउन सम्मानित अदालत गरेको फैसलालाई अझै पनि बाङोटिङो गरि भ्रम छर्नु हुदैन। अब अदालतको फैसला जस्ताको तस्तै कार्यान्वयनमा ल्याउनुको कुनै अर्को विकल्प छैन।
बिगतमा हामीले गल्ती गर्यौ अब पनि गल्ती गर्छौ भन्ने छुट कसैलाई छैन। सबैलाई मिलाएर सबैको अपनोत्व हुने गरि अगाडी बढ्नु पर्छ। यो हामी सबैको साझा आवाज हो। एकतर्फी र मनोमानी तवरले हिड्दा दुर्घटना हुन्छ भन्ने पुर्ण जानकरी सबैले पाइयो। अझै पनि हामी गल्ती गर्ने र सम्मानित अदालतको फैसलालाई हामी मान्दैनौ भन्नू ठूलो मुर्खता भन्दा अरु केही हुदैन।
अदालतको फैसला नमान्नेहरुलाई अझ सजायसित अदालतको मानहानी कानुनले कार्वाही हुन सक्छ। समयमा होस बिचार पुर्याउन जरुरत छ। कसैलाई आरोप प्रतीआरोप लगाई आफू चोखिने काम कसैले गर्नु हुदैन। नेपाली समुदायलाई बिभाजन गर्ने होईन एकतृत गर्न सबैले पहल गर्नु पर्दछ।
एनआरएनए जर्मनीलाई बिभाजन गर्न कसैले पनि गलत मनस्थिति बनाउनु हुदैन। सबैको साझा संस्था भएकोले सबैको भरोसा र बिश्वासको संस्था बनाउनु पर्दछ। संस्थालाई सबैको भर पर्दो र बिश्वासिलो बनाउन आर्थिक अनियमिता र पारादर्शितामा जबाफदेहिता हुनु पर्छ। अहिले संस्थाको सदस्यहरुले आर्थिक बिषयमा प्रश्न उठान औला ठाडो पार्न लागि सकेका छन। नेतृत्वले यस बिषयमा स्पष्ट पर्न जरुरत छ।
टालटुल गरि अब ढाट्ढुट गरि पेलेर अगाडी जान्छु भन्ने कुचेष्टा नगर्दा अति उत्तम हुने छ। सदस्य शुल्कबाट उठेको रकम हिनामिना गर्ने अधिकार कसैलाई छैन। हिसाबको छिनोफानो नेतृत्वले गर्न सक्नुपर्छ। अन्त्यमा समस्यालाई अझै धेरै बल्जाउने काम कसैले गर्नु हुदैन। सबै एनआरएनहरुको आपसी समझदारी समस्यालाई समाधान गरौ एकता भएर आगामी दिन अझ धेरै सहज बनायौ। नेतृत्वबाट गल्तीकमी कमजोरी भएको सम्मानित अदालत फैसलाले प्रमाणीकरण गरि सकेकोले अब एनआरएनए नेतृत्वले जर्मनी निवासी सबै एनआरएनहरुसित क्षमा याचना गरी माफी माग्नु बुद्दिमानि हुन्छ। धन्यवाद
बिजय मोक्तान
पूर्व अध्यक्ष
गैर आवासिय नेपाली संघ जर्मनी
२०१७-२०१९