तीन अध्यक्ष सहित जम्बो टोली घोषणा गर्दै एनआरएनएको विश्व सम्मेलन सम्पन्न, मागे जति सबैले पाए पद
काठमाडौं । सहमतिको नाममा तीन अध्यक्ष सहित जम्बो टोलीको घोषणा गर्दै गैरआवासीय नेपाली संघ (एनआरएरए) को १० औं विश्व सम्मेलन तथा महाधिवेशन सकिएको छ ।
अध्यक्ष मण्डलको तर्फबाट निवर्तमान अध्यक्ष कुमार पन्तले नयाँ कार्यसमितिको घोषणा गरेका थिए ।
उनले अध्यक्ष पदका आकांक्षी डाक्टर बद्री केसी, रबिना थापा र कुल आचार्य तीन जनालाई अबको १८ महिनाका लागि अध्यक्ष घोषित गरे । पन्तले नै घोषित तीन अध्यक्षलाई सपथ खुवाएका थिए ।
पन्तका अनुसार पहिलो ६ महिना कुल त्यस पछि रबिना र अन्तमि ६ महिना बद्रीले कार्यकाल चालउने छन् ।
प्रतिनिधि विवादका कारण गत अक्टुबरमा हुनु पर्ने निर्वाचन अवरुद्द हुँदै आएको थियो । अन्तमा उमेदवारहरु सबैलाई समेट्न विधान नै संसोधन गरिएको हो । शनिवार पारित विधानलाई आइतवार परराष्ट्र मन्त्रालयले स्वीकृत दिएको थियो ।
पन्तद्वारा घोषित कार्यसमितिमा ११ जना उपाध्यक्ष छन् । जसमा महेश श्रेष्ठ, भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी र दुर्गा आचार्य छन् ।
यस्तै अन्य उपाध्यक्षहरुमा निवर्तवान महासचिव डाक्टर हेमराज शर्मा, गोविन्द श्रेष्ठ, जयप्रकाश गुरुङ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा छन् । महिला उपाध्यक्षमा याश्मिन वेगम र डा. विष्णुमाया परियार छन् । युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ छन् ।
महासचिवमा डाक्टर केशव पौडेल र गौरीराज जोशी छन् । यी दुबै जना अमेरिका बाट हुन् । विधानमा उपमहासचिव पद पनि थपिएको छ । जसको संख्या ६ जनाको रहेको छ ।
यस अगाडि रबिना थापा टिमबाट महासचिवका उमेदवार रहेका विनय अधिकारी सहित गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ र रामशरण सिंखडा उपमहासचिव बनेका छन्
सचिव पद पनि दुई बाट बढाएर १० पुर्याइएको छ । कोषाध्यक्षको उमेदवारी घोषणा गरेका राजन त्रिपाठी सहित चिरञ्जिवि घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रविण गुरुङ, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम र होम पाण्डे सचिव घोषित भएका छन् । महिला सचिवमा डा. अलिलि पोखरेल र टिका गुरुङ घोषित भएका छन् ।
उपाध्यक्षमा उमेदवारी घोषणा गरेका एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष सुनिल शाह सहित लोक दाहाल र फणिन्द्रमणि पोखरेलले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
समग्रमा उमेदवारी घोषणा गरेका सबै जना कुनै न कुनै पदमा अटाएका छन् । यद्यपी पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घले समुहले यस अगाडि नै छुट्टै महाधिवेशन सम्पन्न गरि सकेको छ ।