एनआरएनए विवाद : कुमार पन्त समुह चुनाव रोकेर शेष घले सँग बार्ता गर्न याकएण्ड यति होटलमा
अमेरिका । गैर आवासिय नेपाली संघ (एनआरएनए) को संस्थापन पक्षले निर्वाचनका सबै प्रक्रिया स्थगित गरेको जनाएको छ ।
निर्वाचन समितिको तर्फबाट जारी सूचनामा उच्च अदालतको अल्पकालिन आदेशका कारण निर्वाचनका सबै प्रक्रिया रोकिएको जनाइएको छ ।
उच्च अदालत पाटनले सोमवार एनआरएनए संस्थापन पक्षलाई अर्को आदेश नभए सम्मका लागि निर्वाचन सम्वन्धि कुनै पनि काम अगाडि नबढाउन र बुधवार दुबै पक्षलाई छलफलमा आउन भनेको थियो ।
संस्थापन पक्षले गर्न लागेको निर्वाचन रोकिपाँउ भनि एनआरएनए सदस्यहरु चिन्तामणि सापकोटा र उमेश कुमार पुडासैनीले रिट दायर गरेका थिए ।
सोही निवेदनमा प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत पाटनले सोमवार दिएको आदेशलाई बुधवार पनि कायमै राखेको हो । मुद्दा दायर कर्ता मध्येका एक सापकोटाका अनुसार बुधवारको छलफल बिहिवार सरेको छ ।
बहुपदिय सहमति घलेले नमान्ने
यसै बीच एनआरएनएका अध्यक्षका तीन उमेदवार बीचमा आपसमा भएको सहमतिलाई प्रमुख संरक्षक शेष घले समुहले नमान्ने भएको छ ।
डाक्टर बद्री केसी, कुल आचार्य र रबिना थापा तीनै जना अध्यक्ष हुने अन्य पदमा पनि आकांक्षि अनुसार पद थप्ने गरि विधान संसोधन गरिने सहमति भएको थियो । तर त्यो सहमतिमा घले समुहले गम्भिर आपत्ति जनाउदै आएको छ ।
सापकोटाका अनुसार अहिले एनआरएनए अध्यक्ष कुमार पन्त सहितको टोलि पनि होटल याक एण्ड यतिमा पुगेका छन् ।
घले पक्षले आफूले शूरु गरेको महाधिवेशन र विश्व सम्मेलनको स्वामित्त एनआरएनएले लिनु पर्ने माग गरेको छ । यस्तै हालकायम रहेको विधान अनुसार यसै सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिनु पर्ने भाग पनि घले समुहको रहेको छ ।
घले समुहको महाधिवेशन आयोजक समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष सोनाम लामाले वार्ताकै लागि अहिले आफूहरुले चुनावी प्रक्रियालाई केही समय स्थगन गरेको बताए ।
समाज टाइम्स सँगको कुराकानीमा लामाले भने,’हामी विधान विपरित पद भागबण्डा गर्ने पक्षमा छैनौ र मिलेर जाने सवालमा हामी अवरोधक पनि होइनौ, कुमार पन्तहरुले वार्ता गरौ भनेकाले केही समयका लागि हाम्रो कार्यक्रम स्थगित भएको हो ।”
कुमार पन्त समुह सहमतिमा नआए आफूहरुले चुनाव प्रक्रिया शुरु गर्ने लामाको भनाइ छ । तपाईहरुको चुनावलाई सकारकारले मान्यता दिन्छ त भन्ने प्रश्नमा लामाले भने “त्यो त अदालतले भन्ला नी ।”
अब एनसीसीका सबै सदस्य आइसीसी प्रतिनिधि
घले समुहले आयोजना गरेको महाधिवेशनको आजको बन्द सत्रले आइसीसी प्रतिनिधि छनौटको सम्वन्धमा अहिले कामय रहेको व्यवस्था संसोधन गर्ने निर्णय गरेको छ । विधान मस्यौदा समितिका सदस्य बाबुराम (बीआर) लामा का अनुसार एक पटक सदस्यता नविकरण गरेका एनसीसी सदस्य स्वत आइसीसीको प्रतिनिधि हुन पाउने छन् ।
“अहिले एनआरएनमा देखिएको विवादको मुख्य कारक नै आइसीसी प्रतिनिधि देखियो त्यस कारण अब देखि एनसीसीमा सदस्यता नविकरण गरेका सबै जना आइसीसीको सदस्य हुन पाउछन तर उनीहरुले नाम दर्ता गर्दै आफै काठमाडौं जानु पर्ने हुन्छ ।” लामाले भने ।