एनआरएनए विवाद : शेष घलेलाई बाहिरै राखेर मध्यरातमा डा.बद्री र कुल दुबै जना अध्यक्ष हुने सहमति, अन्य पद पनि आकांक्षि अनुसार थपिने
अमेरिका । प्रमुख संरक्षक शेष घलेले आह्वान गरेको महाधिवेशन शुरु हुनु केही घण्टा अगाडि मध्यरातमा काठमाडौंमा डाक्टर बद्री केसी र कुल आचार्य दुबै जना गैर आवासिय नेपाली संघ (एनआरएनए) को भावि अध्यक्ष हुने सहमति गरेका छन् ।
यद्यपी उनीहरु बीचमा भएको सहमतिको पूर्ण विवरण सार्वजनिक भएको छैन । एनआरएनएको विधानमा पनि बहुअध्यक्षको व्यवस्था छैन ।
धेरै लामो समय देखि बहुपदिय अवधाराणमा सहमति खोजिए पनि त्यसमा अन्तिम टुङ्गो लागेको थिएन । शुरुमा डाक्टर बद्री केसीले दुई अध्यक्ष हुने प्रस्ताव अस्वीकार गरेका थिए । त्यस पछि केही समय कुल समुहले पनि आनाकानी गरेको थियो ।
तर उच्च अदालत पाटनको सोमवारको आदेश पछि बद्री समुह अत्तालिएको बताइएको छ । आफु सडकमै पुग्नु भन्दा केही भने पनि लिने भनेर बद्रीले दुई अध्यक्षको मोडल स्वीकार गरेको उनी निकट एक आइसीसी सदस्यले समाज टाइम्सलाई बताए ।
उच्च अदालतले एनआरएनए संस्थापन पक्षको निर्वाचन प्रक्रिया तत्लकाल अगाडि नवडाउ र बुधवार छलफलमा आउन भनेको छ ।
बद्री र कुलले आफुहरु दुबै जना अध्यक्ष हुने सहमति गरे पनि रविना थापाको व्यवस्थापन कसरी गर्ने भन्नेमा नेपालको समय अनुसार भोलि बिहान कुरा हुने भएको छ । रविनालाई बद्री समुहको डमी उमेदवारको रुपमा प्रचार गरिदै आइएको छ ।
यता शेष घलेले विधान भन्दा बाहिर गएर गरिने सहमतिमा आफुलाई सरोकार नहुने बताउदै आएका छन् । घले समुहद्वारा गठित महाधिवेशन मुल आयोजक समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष सोनाम लामाले नेपालको समय अनुसार मंगलवार विहान महाधिवेशनको उद्घाटन हुने बताए ।
“हामी कुनै व्यक्तिलाई अध्यक्ष बनाउने कति वटा अध्यक्ष बनाउने भनेर लागेका होइनौ, विधान अनुसार हुनुपर्छ भन्ने हो । भागबण्डामा पद बाडफाड हुदैन । दुई अध्यक्ष बनाउने भनेर विधानमा कहाँ छ, कुल आचार्यले गरेको सहमति हाम्रा लागि बाध्यकारी हुदैन ।” समाज टाइम्स सँग लामाले भने । “हाम्रो कार्यक्रम पूर्व निर्धारित अनुसार नै हुन्छ ।”