प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री बीचको फोन सम्वाद पछि राजदूतले भेटे गृहमन्त्री खाणलाई
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले एमसीसीबारे नेपाल सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूहरुले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको बताएका छन् । गृहमन्त्रालयमा बुधबार गृहमन्त्री बालकृष्ण खाणसँगको भेटमा राजदूत बेरीले आफूहरुले पहिला देखि भन्दै आएको विषयमा घोषणामा समेटिएको बताएका हुन् ।
‘एमसीसीबारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणाबारे हामी पहिल्यैदेखि जानकार थियौं। व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन्,’ राजदूत बेरीले भने ।
एमसीसी निर्णयार्थ प्रस्तुत हुने बेलामा नेपाल सरकारले अमेरिकन राजदूतावास र अन्य अमेरिकी सहयोग निकायलाई प्रदान गरेको सुरक्षा व्यवस्थाका लागि राजदूत बेरीले धन्यवाद दिए। उनले नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधै साथमा रहने विश्वास व्यक्त गरे ।
भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताए। एमसीसी पास गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंगलबार धन्यवाद दिएको राजदूत बेरीले प्रष्ट पारे ।
गृहमन्त्री खाणले नेपाल र अमेरिकाबीच अहिलेसम्म रहँदै आएको सम्बन्ध अझै गाढा र सदभावपूर्ण रहोस् भन्नेमा नेपाल सरकार रहेको बताए। भेटमा उनले एमसीसी पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिएका थिए ।
गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन सत्तामा हुँदा मात्र नभइ प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको बताए ।
प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन, युक्रेनमाथि रूसी आक्रमणबारे संवाद
युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् ।
रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता, भौगोलिक अखण्डताबारे आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री एन्टोनीले ट्वीटरमा उल्लेख गरेका छन् । उनीहरूबीच मंगलबार साँझ कुराकानी भएको हो ।
ब्लिनकनले भनेका छन्-रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएकाे छ । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौं ।’
नेपालका प्रधानमन्त्री देउवाको सचिवालयले भने यसबारे कुनै औपचारिक टिप्पणी गरेकाे छैन । नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा युक्रेनको पक्षमा मतदान गरेको थियो ।
नेपालको संसदबाट एमसीसी पारित गरेकाे दुई दिनपछि अमेरिकी विदेश मन्त्रीले प्रधानमन्त्री देउवासँग कुरा गरेका हुन् ।