अमेरिकी ग्रीनकार्ड त्यागेका वंशलाल र प्राध्यापक पेशा त्यागेका प्रेमध्वज कांग्रेस सिन्धुपाल्चोक सभापतिमा भिड्दै

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिमा डा.प्रेमध्वज लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुने सम्भावना बढेकाे छ ।
१४ औं जिल्ला अधिवेशनबाट सभापतिका लागि धेरैले आकांक्षा देखाए पनि अन्तत: सभापति शेरबहादुर देउवा पक्षधर लामा र शेखर कोइराला पक्षधर तामाङबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।
२०४६ मा कांग्रेस जिल्ला सदस्य हुँदै गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिकाका अध्यक्ष तामाङको पार्टी संगठन विस्तारमा लाग्ने नेता हुन् । उनी लामो समय अमेरिका बसेर पुन नेपाल फर्किएका हुन् । तत्कालिन नेकपा माओवादी बिद्रोहको समयमा नेपाल छोडेका वंशलाल अमेरिकाको न्यूयोर्कमा झण्डै एक दशक विताएर नेपाल फर्किएका हुन् ।
न्यूयोर्कमा रहदा उनी नेपाली जनसम्पर्क समितिमार्फत कांग्रेस राजनीति र सिन्धु वेलफेयर सोसाइटी मार्फत समाजसेवामा सक्रिय थिए । मुलुक शान्ति प्रक्रियामा गए सँगै वंशलाल नेपाल फर्किए र इन्द्रावती गाँउपालिकाको अध्यक्ष पनि विजयी भए । नेपालमा पुन राजनीति गर्नका लागि वंशलाले अमेरिकी स्थायी बसोबास अनुमति पत्र ( ग्रीनकार्ड) त्यागेका थिए ।
यस्तैकाठमाडौंमा बसेर अधिकांश समय प्राध्यापनमा बिताएका लामाले कांग्रेस सभापतिकै लागि त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदबाट राजीनामा दिएका हुन्र । लामा सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिसमेत भएका थिए । लामा सभापति देउवा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत निकट हुन् ।
अन्तिम समयमा तामाङलाई समर्थन गरेर अगाडि बढ्ने रणनीतिमा कोइराला पक्षका नेता छन् । देउवा पक्षमा भने बस्नेतले छानेका व्यक्ति सभापतिको उम्मेदवार हुने निश्चित छ ।
कांग्रेस सिन्धुपाल्चोकको १४औँ जिल्ला अधिवेशन १३ फागुनमा हुँदैछ । समायोजन, क्रियाशील विवाद र विभिन्न आन्तरिक द्वन्द्वले पटक-पटक स्थगित भएको अधिवेशन फागुनमा हुन लागेकाे हाे ।