एनआरएनए अमेरिकाको ब्यानरमा नेटवर्किङ्ग व्यापारको प्रचार, अध्यक्ष बुद्दि सुवेदी आफै सहभागि
अमेरिका । गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको व्यानरमा नेटवर्किङ्ग व्यावसायको प्रचार गरिएको छ ।
एनआरएनए अमेरिका अन्तर्गत विस्किन्सीस लगायत विभिन्न च्याप्टरहरुको सहकार्यमा आयोजना गरेको हाइब्रिड रिटायरमेन्ट शिर्षकको कार्यक्रममा विवादित बीमा पोलिसीको प्रचार गरिएको हो । जुन कार्यक्रमका प्रमुख अतिथि एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दिसागर सुवेदी थिए ।
अमेरिकामा रहेका नेपालीलाई बीमाका बारेमा जनचेतना जगाउन कार्यक्रम गरिएको भनिए पनि विवादित र महङ्गो बीमा पोलिसीको पक्षपोषण गरिएको छ । त्यो पनि एनआरएनएका पदाधिकारीहरु बाटै । यो अमेरिकाको प्रचलित कानुन, एनआरएनएको उद्देश्य विपरित काम हो ।
एनआरएनए अमेरिकामा ५०१ सी अन्तर्गत दर्ता भएको संस्था हो । कानुनी रुपमा पनि ५०१ सीमा दर्ता भएको संस्थाले राजनीतिक वा कुनै कम्पनीको बारेमा लभिङ्ग गर्न पाउदैन । एनआरएनएका पदाधिकारी आफै बीमा एजेन्डको चंगुलमा परेर संस्थाको पेल्टफर्मको चरम दुरुपयोग गरिएको प्रष्ट हुन्छ । जनचेतनाको नाममा एउटा मात्र त्यो पनि विवादित पोलिसीको प्रचार र प्रोत्साहन गरेको छ ।
कार्यक्रममा रिसोर्स पर्सन एनआरएनए अमेरिकाका सल्लाहकार गोबिन्द श्रेष्ठ थिए । उनी आफै वल्ड फाइन्नालसियल ग्रुपका (डब्लुएफजी) का सिनियर मार्केटिङ्ग डाइरेक्टर हुन । श्रेष्ठले इन्डेक्स पोलिसीको पक्षपोषण हुने गरि कार्यक्रम प्रस्तुत गरेका थिए । डब्लुएफजी र सो ग्रपले बेच्ने बीमा पोलिसी दुबै निकै विवादित छन् । गुगलमा सर्च गर्दा यी दुईका बारेमा ग्राहकलाई ठगि गरेका सम्वन्धि नकारात्मक समाचार र कमेन्ट प्रसस्त भेटिन्छन् ।
डब्लुएफजी ग्रुपले अमेरिकामा फाइनाल्सियलको काम गर्छ । यो नेटवर्क ग्रुप हो । नेटवरर्किङ्ग व्यवसाय नेपालमा पनि एक समय निकै फस्टाएर विवादमा परेको हो । थुप्रै नेपाली नेटवर्किङ्गबाट ठगिएका छन् ।
डब्लुएफजी ग्रुपले इन्डेक्स युनिभर्सल लाइफको बजारिकरण गर्छ । अमेरिकामा यस्ता धेरै ग्रुप र पोलिसी छन् । तर एनआरएनएको कार्यक्रममा इन्डेक्स पोलिसीको मात्र बढाइचढाइ चर्चा गरिएको छ । श्रेष्ठले पटक पटक भनेका छन्’ ‘अरु सबै ठाँउको मुल्य घट्छ तर एन्डेक्स मार्केट कहिल्यै घट्दैन ।’
तर डब्लुएफजीलाई ग्राहाकलाई अनावश्यक प्रलोभन दिएर, झुक्याएर बीमा पोलिसी बेचेको आरोपमा पटक पटक जरिवाना गरिएको पाइन्छ ।
‘आजभोलिको स्टक मार्केटलाई हेर्नुस न, कहिले चालिस प्रतिशत बढ्छ, एक लाख राख्नु भएको छ भने दुई लाख पनि हुन्छ त्यो त साह्रै राम्रो हो, आनन्द भयो तर कहिले कहिले त्यो दुई लाख माइनस फ्ल्याटै भएको, म त मार्केटको ज्ञाता होइन दुई चार जना साथिहरु देख्या छु त्यो उहाँहरुलाई थाहा छ ।’ श्रेष्ठले आफ्नो पोलिसी राम्रो देखाउनका लागि आफ्नै गाँउको भाइको उदाहरण पनि दिएका छन् ।
कार्यक्रममा संचालक पूर्ण श्रेष्ठ थिए । उनी पनि स्वास्थ बीमा सम्वन्धी क्षेत्रमा काम गर्ने गरेको बताइएको छ । श्रेष्ठ एनआरएन अमेरिका विस्कन्सिन च्याप्टरका कोषाध्यक्ष हुन । कार्यक्रमको सभापति विस्कन्सिन च्याप्टर सभापति दिपक थापाले गरेका थिए ।
जनवरी २२ मा भएको सो कार्यक्रम एनआरएनए अमेरिकाको आधिकारिक फेसबुक पेजमा समेत लाइभ गरिएको थियो । एनआरएनएको ब्यानरमा गोविन्द श्रेष्ठले प्रस्तुति दिने क्रममा यति सम्म भनेका छन ‘अमेरिकामा सोसलसेक्युरेटी, फोरवान के को समेत भर हुदैन तर इन्डेक्समा पूर्ण सुरक्षा छ ।’
फोर वान के अमेरिकी रिटायर्यमेन्ट पोलिसी हो, जुन काम गरेको ठाँउमा नियमित निश्चित रकम काटिन्छ । नेपालमा नागरिक लगानी कोष सँग यो पोलिसी मिल्दोजुल्दो छ ।
‘सोसलसेक्युरेटी हाम्रो कन्ट्रोलमा छैन जति बेला जे पनि हुन सक्छ हामी भरपर्न सक्दैनौ आजको मेन म्यासेज ।’ उनले भनेका छन् ।
एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दिसागर सुवेदीले आफुहरुले कुनै एक बीमा पोलिसीको प्रचार नगरेको दावी गरे । ‘अमेरिकामा जे पर्दा पनि गोफण्ड उठाउने क्रम बढेको छ त्यसलाई निरुत्साहित गर्न बीमाबारे सचेतना गर्न हामीले कार्यक्रम गरेका हौ ।’ तर फेसबुक पेजमा लाइभ समेत प्रसारण भएको भिडियोमा सुवेदीको दावी मेल खादैन ।
सुवेदीले भने जस्तो गोविन्द श्रेष्ठको प्रस्तुतिमा देखिदैन । उनेले सोझै आफुले काम गर्ने समुहको बीमा पोलेसी बाहेक अन्यकुराको चर्चा गरिका छैनन । अमेरिकामा केही परिहाल्यो भने हात पसार्ने चलन व्यापक छ । त्यसका लागि टर्म पोलिसी राम्रो हुने विज्ञहरुले सुझाव दिदै आएका छन् ।
यो पोलिसीमा माशिक शुल्क सस्तो हुन्छ । निश्चित बर्षलाई किटान गरि बीमा गराइन्छ । तोकिएको समयमा समन्विधत व्यक्तिको निधन भएमा परिवारले पैसा पाउछन् । टर्म पोलेसीका बारेमा श्रेष्ठको प्रस्तुतीमा केही उल्लेख छैन । उल्टो उनले सरकारी सेवा सुविधा तथा बैकमा बचत गर्नु भन्दा आफ्नो पोलिसीमा लगानी गर्न राम्रो भनेका छन् ।
‘भेरिएवल मार्केटमा मात्र डिपेन्डिवल हुन सकिदैन त्यसको मतलव भेरिएवल मार्केटमा लगानी नगर्नु भनेको होइन थोरै प्रतिशतलाई त्यसमा राख्नु होला तर यो मार्कटबाट रिटार्यमेन्ट हुन्छु भन्ने सोच्नु हुदैन ।’
बीमा क्षेत्रमा काम गर्नेहरुका अनुसार टर्म पोलिसीबाट एजेन्टलाई कमिशन कम आउछ । तर इन्डेक्समा नियमित र धेरै कमिशन आउछ । कमिशनका लोभमा एजेन्टहरुले आफन्तहरुलाई नै बढाइ चढाइ गरि गलत सुचना दिएर बीमा पोलिसी भिडाउने गरेको गुनासो यस अगाडी नेपाली समाजमा नै उठेको थियो ।
श्रेष्ठले आफ्नो तर्कलाई दरिलो बनाउन विज्ञको पनि नाम लिएका छन् । ‘यो वारेन्ट वकरले पनि भनेको विलगेटले पनि भनेको हाम्रा पाइनियरले पनि भनेको फाइनाल्सियल गुरुहरुले पनि भनेको मैले तपाइहरुलाई सेयर मात्र गरेको ।’
उनी यतिमा रोकिदैनन्, ‘मैले अलिकति टाइम दिएर किन भनिरहेको छु भने अर्को इन्डेक्स मार्केट छ बजारमा जुन बजार घट्दा घट्दैन बजार बढदा बढ्छ रिक्स प्रि सुरक्षित छ ।’
श्रेष्ठ यस्तो मार्केट आफैले पत्ता लगाएको शैलिमा प्रस्तुत भएका छन् । ‘यस्तो मार्केटबारे धेरै मान्छेलाई थाहा छैन आज धेरै सीपीए साथिहरुले पनि कुरा गर्दा यस्तो मार्केट छ र ? मैले देखेको छैन पनि भन्नु भएको छ, उहाँहरुले । तर छ, तपाईले आज दुई लाख लगानी गर्नु भयो भने अरुको ५० प्रतिशत गुमाएर एक लाख हुन्छ तपाईको दुई लाख घट्दैन ।’
एनआरएनएको प्लेटफर्ममा अमेरिकामा सामान्यतय बीमा एजेन्टहरुले नियमित ग्राहकका लागि पहिलो पटक प्रस्तुत गरिने प्याकेज नै श्रेष्ठले प्रस्तुत गरेका छन् ।
तर एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीले श्रेष्ठको प्रस्तुतिमा कुनै गलत काम नभएको बताए । उनले समाज टाइम्सले अनावश्यक विषय खोतलेको आरोप लगाए । ‘हामीले हरेक हप्ता कार्यक्रम गरेका छौं यी बारेमा मिडियाले कहिल्यै कभरेज गरेन,अहिले अनावश्यक इशु उठाउनु भएको छ ।’
सुवेदीले आफु सफल व्यवसायी भएको र समाज सेवाका लागि मात्र एनआरएनएमा समय दिएको दावी गर्दै गलत समाचार लेखेर समाज टाइम्सलाई आफ्नो विश्वसनीयता नगुमाउन सुझाव दिए । ‘म कस्तो मान्छे हु भन्ने मलाई चिन्ने सबैलाई थाहा छ तपाइले लेखेर के हुन्छ ? तपाईकै समाचारको विश्वसनियता घट्छ ।’
सुवेदीले समाज सेवा भनिएको इन्डेक्स बीमा पोलीसी सँग मिल्दो जुल्दो पोलिसीबाट यस अगाडि अमेरिकामा नै नेपालीहरु ठगिएको भन्दै कानुनी उपचार पनि पाएका थिए । केही बर्ष अगाडि इन्डेक्स युनिभर्सल लाईफले नेपालीलाई ठगि गरेको भनेर ठूलै विवाद भएको थियो । इन्डेक्स युनिरभर्सल लाइफ नेपाली समुदायमा बदनाम भएको बीमा पोलिसी हो ।
के हो इन्डेक्स युनिभर्सल लाईफ प्रकरण
इन्डेक्स युनिभर्सल लाईफ सन् २०१४ देखि १७ मा नेपाली बीचमा निकै नै विवादित बीमा पोलिसी हो । नेपाली समुदायलाई ठगि गरेको आरोप यो पोलिसीका एजेन्टहरुलाई लागेको थियो । जुन पछि पुष्टि नै भयो ।
विषेश गरि भर्जिनिया र बोस्टन क्षेत्रमा बस्ने नेपालीहरु यो कम्पनीबाट पिडित भएका थिए । इन्डेक्स युनिभर्सल लाइफ इन्सुरेन्स लिएमा घाटा कहिले पनि नहुने, बिमाको लागि तिरेको रकम कहिल्यै नघट्ने भन्ने आश्वासन दिएर बीमा बेचिएको पिडितले बताएका थिए ।
यस्तै आफूले जम्मा गरे भन्दा कैयौं गुना बढ्ने, लङ्गटर्म केयर, डिसएबिलिटि (शारिरक अक्षमता) आदि सुबिधा पनि पाइने, अझ प्रिमियम फाइनान्सियल एलाइन्स (पिएफए) नामको नेटवर्किंगमा समेत आबद्ध भइने प्रलोभव समेत देखाइएको थियो ।
विभिन्न प्रलोभव दिएर बीमा खरिद गराइएको भए पनि केही बर्ष पछि भनिए अनुसार क्यास भ्यालु नभएको पाइए पछि पिडित नेपालीले उजुरी दिएका थिए । त्यस पछि नेपालीलाई झुक्याएर बीमा बेच्ने नेपाली एजेन्टको लाइसेन्स रद्द गरिएको थियो ।
यही विषयमा समाचार सम्प्रेषण गरेर समुदायलाई सुसुचित गरेको भन्दै पत्रकार त्रय शिव प्रकास,दिनेश कार्की र मनोज अधिकारीलाई नेपाल अमेरिका पत्रकार संघ नेजाले सन् २०१७ मा ‘नेजा सामुदायिक पुरस्कार’ दिएको थियो ।
पिएफएले नेशनल लाइफ इन्सुरेन्स कम्पनीको र डब्लुएफजीले ट्रान्स अमेरिकाको इन्डेक्स युनिभर्सललाईफको नेटवर्किंग गर्दै आएका छन । सुवेदीले डब्लुएफजी कुनै विवादमा आएको समुह नभएको दावी गरेका छन् । तर यो समुहलाई समय समयमा ठगिको आरोपमा जरिवाना पनि गरिएको छ ।
के हो डब्लुएफजी
बल्ड फाइनान्सियल ग्रुप (डब्लुएफजी) एउटा मल्टीलेभल मार्केटिंग अर्थात चलनचल्तीको भाषामा नेटवर्क मार्केटिंग कम्पनी हो । पिरामिड शैलीमा विमा अभिकर्ताहरुले आफ्नो खल्ती भर्नु, आफन्त साथीभाइको सहारामा आफ्नो नेटवर्क विस्तार गर्नु र उनीहरुलाई नैं पिडित बनाउनू विवादित नेटवर्क मार्केटिंगका आधारभूत चरित्र हुन् ।
धेरै मानिसहरुले डब्लुएफजीको आफ्नो उत्पादन विक्रि गर्ने शैलीलाई स्क्याम अर्थात ठगी धन्धाको रुपमा आरोप लगाएको पाईएको छ । आरोप लगाइएको मात्र होइन कतिपय स्थितिमा उजूरी गरिएको र डब्लुएफजीले ठूलो रकम हर्जाना र क्षतिपूर्ति पनि विभिन्न समयमा तिरेको कुरा एउटा सामान्य गुगल सर्च गरेरै भेट्टाउन सकिन्छ ।
एल्पको रिभ्यू अनुसार डब्लूएफजीले कलेजबाट भर्खर ग्रयाजुयट भएका व्यक्तिलाई लक्षित बनाउँछन् । वास्तविक सन्सारको अनुभव नभएका र सुटटाई लगाइ भब्य गाडिमा हुईकिने ब्यक्तिहरुबाट चाँडो प्रभावितहुनेहरु नेटकर्क मार्केटिंगका सहज शिकार हुने गर्छन् ।
बिजनेश अपर्चुनिटी भन्दै नयाँ सेल्स पर्सनलाई आफ्नो नेटवर्कमा डब्लूएफजीले लगाउँदछ । उनीहरुले फाइनान्सियल एजुकेशनका नाममा केही ट्रेनिंगहरु पनि दिने गर्छन् र विमा अभिकर्ताको लाइसेन्स पनि उपलब्ध गराउन मद्दत गर्छन् ।
प्रशासनिक खर्चको नाममा नगद एक सय डलर तिरेपछि नयाँ भर्ना गरिएकाहरुलाई एशोसियटको दर्जा दिइन्छ । त्यसपछि उनीहरुलाई व्यक्तिगत चिनाजानीका मानिसहरुलाई सदस्य बनाउन दबाब दिइन्छ । पिरामिड शैलीको सञ्जाल भएको डब्लूएफजीमा माथिका मानिसले सजिलै धेरै पैसा कमाउँछन । तर भर्खरै उक्त सञ्जालमा लाग्नेहरुले कमिशन कमाउन आफ्नो मातहतमा धेरै मानिसहरुलाई फसाउनु पर्ने हुन्छ ।
डब्लुएफजीको पिरामिड यस्तो छ
डेडिकेटेड र नन डेडिकेटेड गरी दुइथरी सदस्य हुन्छन् डब्लूएफजीका । डब्लुएफजीको पिरामिडमा चारवटा तह हुने गरेको बताईएको छ जसमा ट्रेनिंग एशोसियट, एशोसियट, मार्केटिंग डाइरेक्टर र सिनियर मार्केटिंग डाइरेक्टर छन् । ट्रेनिंग एशोसियटले २५ प्रतिशत कमिशन प्राप्त गर्छन् भने सिनियर मार्केटिंग डाइरेक्टरले ६५ प्रतिशत ।
कानूनी मुद्दाहरू
डब्लुएफजीले विगतमा कानुनी मुद्दा भोगेको छ । जसले डब्लुएफजीको ठगि आरोपलाई पुष्टि गर्छ । यो समुहलाई सन् २००४ यता पटक पटक जरिवाना लगाइएको छ ।