गोलावारीको हल्लाका कारण शुक्रवार अमेरिकामा स्कूल पठनपाठन प्रभावित,कयौं स्कूल बन्द
अमेरिका । शक्तिशाली मुलुक अमेरिकाभरीका स्कूलहरु शुक्रवार तनावमा रहे । कयौं स्कूल बन्द रहे भने केही स्कूल विषेश सुरक्षा सतर्कता सहित खुलेका थिए ।
स्कूलमा गोलि चलाउने भन्ने अज्ञात धम्कीको हल्लाका कारण अमेरिका अधिकांश स्कूलका पढाइ प्रभावित बनेका हुन । अज्ञात स्थान र समुहबाट टिकटकमा पोष्ट गरिएको भनिएको सो धम्कीका कारण अमेरिकी स्कूल पदाधिकारी र सुरक्षाकर्मीलाई पनि व्यस्थ बनाएको हो ।
अघिल्लो दिन बिहिवार साँझ देखि नै टिकटकमा पोष्ट भएका धम्की विश्वसनीय नभएको र नआत्तिन भन्दै निकायहरुले अभिभावकलाई सन्देश पढाएका थिए । शुक्रवार अमेरिकाका स्कूलमा गोलावारी हुदै छ भनेर टिकटकमा भिडियो आएको हल्ला फैलिए पछि स्कूल प्रशासनले अभिभावकलाई आश्वस्त बनाउन खोजेको थियो । तर पनि कयौं विद्यार्थी शुक्रवार स्कूल नै नगएको अमेरिकाका प्रमुख सञ्चार माध्यमले जनाएका छन् ।
धेरै राज्यका स्कूलहरू शुक्रबार बन्द भएको न्यूयोर्क टाइम्सले लेखेको छ । कतिपय स्कूलहरुले सुरक्षा उपायहरू बढाएर भए पनि स्कूल खोलेका थिए । टेक्सास, मिनेसोटा, मिसौरी, मोन्टाना र कनेक्टिकटका स्कूल बन्द भएको जनाइएको छ । शिकागो, मियामी, न्यूयोर्क शहर र लस एन्जलसमा भने स्कूल खुलै रहेको थियो । पेन्सिलभेनियाका केही स्कूलले स्कूल पुगेका विद्यार्थीलाई पनि बीचैमा घर फर्काएका थिए ।
टिकटकमा आएको भनिएको चेतावनी सम्वन्धी भिडियो कहाँबाट सुरु भयो भन्ने स्पष्ट नभएको अधिकारीहरुले बताएका छन् । शुरुमा टिकटकमा भिडियोबाट यस्तो धम्की आएको बताइएको थियो । स्कूल प्रशासकले अभिभावकलाई पठाएको सन्देशमा पनि टिकटक भिडियोको धम्की साँचो नभएको भनिएको थियो ।
स्थानीय समाचार रिपोर्टहरूमा सो भिडियोबारे टिकटकले छानविन गरिरहेको जनाएको छ । टिकटकका अधिकारीहरुले आफ्नो माध्यमबाट मार्फत त्यस्ता धम्कीहरू उत्पन्न भएको वा फैलिएको प्रमाण फेला नपारेको बताएका छन् ।
रिपोर्टहरूमा उल्लेख गरिएको अर्को प्लेटफर्म स्न्यापच्याटका प्रवक्ता राहेल राकुसेनले कम्पनीले सोशल मिडिया प्लेटफर्महरूमा हुने कुनै पनि धम्कीको लागि “नजीकसँग निगरानी” गरिरहेको बताएका छन् ।
अमेरिकी स्कूलमा गोलावारीका घटना बाराम्वार हुदै आएका छन् । नोभेम्बर ३० मा मात्र एक किशोरले मिशिगनको अक्सफोर्ड हाई स्कूलमा गोली चलाएका थिए । सो घटनामा ११ जनालाई गोलीलागेकोमा चार विद्यार्थीको ज्यान गएका थिए । दिनभर हल्लाले स्कूल क्षेत्र प्रभावित भए पनि साँझ सम्म कुनै अप्रिय घटनाको समाचार आएका छैनन ।