एनआरएनए विवाद: ‘यथास्थितिमा हुने चुनाव बहिस्कार गर्छौं’ : कुल आचार्य
अमेरिका । अध्यक्षका प्रत्यासी कुल आचार्य टिमले गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आसन्न निर्वाचन बहिस्कार गर्ने भएको छ ।
‘यथास्थितिमा हुने निर्वाचनमा हामी माग लिन्नौ’ समाज टाइम्स सँगको छोटो कुराकानीमा एनआरएनएका सल्लाहाकार एवं अध्यक्ष पदका प्रत्यासी आचार्यले भने ।
एनआरएनएको सस्थापन पक्षले डिसेम्बर २६ र २७ तारिखका लागि घोषित निर्वाचनको प्रक्रिया अगाडि बढाइसकेको छ । डिसेम्बर ६ तारिक मतदाता नामावली प्रकाशन गरेको एनआरएनए निर्वाचन समितले १० तारिकमा अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । यस्तै ११ तारिकका दिन उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम राखेको छ ।
मनोनयनका लागि तीन दिन भन्दा कम समय बाँकी रहेको बेला हाल नेपालमा रहेका आचार्यले चुनावि प्रक्रियामा आफ्नो टिमले चासो नदिएको बताए । ‘अहिलेकै अवस्थामा हामी चुनावमा भाग लिन्नौं, अधिकांश एनसीसीहरुको (राष्ट्रीय समन्वय परिषद्) पनि भनाई त्यही छ, विवाद सुल्झाएर मात्र चुनावमा जाने ।’
‘आफैले प्रतिनिधि छनौट गर्ने र आफै चुनिने कुरामा हामी सहमत हुन सक्दैनौ ।’ आचार्यले भने । संस्थापन पक्षले त निर्वाचन प्रक्रिया अगाडि बढाएको छ अब के गर्नु हुन्छ भन्ने प्रश्नमा आचार्यले भने,’जुन समस्या छ त्यसलाई समाधान नगरि एक तर्फी चुनाव भए त्यो एनआरएनएका लागि दुर्भाग्य हुने छ ।’
त्यसो त कुल टिमबाटै महासचिवका दावेदार रहेका एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डाक्टर केशव पौडेलले दुई दिन अगाडि मात्र विज्ञप्ति जारी गर्दै एनआरएनएलाई दुर्घटनाबाट बचाउन अपिल गरेका थिए ।
आचार्यले सस्थापन पक्षले विवाद समाधानका लागि पहल नगरेको पनि बताए । नियमित तालिका अनुसार गत नोभेम्बरमानै एनआरएनए आइसीसीको निर्वाचन हुनुपर्ने हो । तर प्रतिनिधि छनौटमा मनोमानी भएको भन्दै केही सदस्यले परराष्ट्र मन्त्रालयमा उजुरी दिएका थिए ।
सोही उजुरीको आधारमा तत्कालिन समयमा मन्त्रालयले एनआरएनए आइसीसीको चुनाव रोक्न भनेको थियो । त्यस पछि मन्त्रालयले फेरि अर्को परिपत्र जारी गर्दै सदस्याता विवाद समाधान गरेर निर्वाचन गर्ने जिम्मा संरक्षक परिषद्लाई दिएको थियो ।
परराष्ट्रको सोही पत्रको विरुद्दमा एनआरएनए आइसीसीका अध्यक्ष कुमार पन्त अदालत गएका थिए । पाटन उच्च अदालतले परराष्ट्रको पत्र कार्यन्वयन नगराउन अन्तरिम आदेश दिएको थियो । अदालतले प्रारम्भिक बहसमा अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
संघको १०औं महाधिवेशनको लागि अध्यक्ष पदमा डा. बद्री केसी र रविना थापाले पनि उम्मेदवारी घोषणा गरेका छन् । केसी वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन । केसी र वर्तमान महासचिव डाक्टर हेमराज शर्माले सदस्याता छनौटमा एकलौटी गरेको कुल आचार्य टिमको आरोप छ ।