दक्षिण एशियाबाट अमेरिकामा मानव तस्करी गर्ने गिरोहका आठ जना पक्राउ
अमेरिका । अमेरिका र ब्राजिलको समन्वयमा मानव तस्करमा संलग्न गिरोहका आठ जना पक्राउ परेका छन् । जुन घटनालाई अधिकारीहरुले ब्राजिलमा आधारित मानव तस्करीको ठूलो चट्टानमा अवरोध आएको टिप्पणी गरेका छन् ।
ब्राजिलको संघीय पुलिस, अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई), होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन (एचएसआई) र अमेरिकी न्याय विभागको आपराधिक विभागसँगको सहकार्यमा सो सफलता हात पारेको बताइएको छ ।
अमेरिकी भन्सार र सीमा सुरक्षा विभागद्वारा जारी गरिएको बुलेटिन अनुसार ‘अपरेशन ब्लड टाईज’ नाम दिएर गरिएको अनुसन्धानमा ब्राजिलका अधिकारीहरूले साओ पाउलो र मिनास गेराइस राज्यका विभिन्न २१ ठाँउमा छापा मार्दा आठ जना गिरफ्तार भएका हन् ।
पक्राउ पर्नेमा लेबनानी, बंगलादेशी र ब्राजिल नागरिक छन् । उनीहरु मानव तस्करी र आपराधिक उद्यम सञ्चालन गरेको संघीय आरोपका आरोपि थिए । उनीहरु बंगलादेश सहित दक्षिण एशियाका अन्य देशबाट संगठित रुपमा ब्राजिलमा सयौं व्यक्तिको अवैध मानव तस्करीको लागि जिम्मेवार भएको आरोप छ । त्यसरी ब्राजिलमा जम्मा हुने व्यक्तिहरुको अन्तिम गन्तव्य अमेरिका हुने गरेको रिपोर्टमा उल्लेख छ ।
मानव तस्करीमा संलग्न अन्तरराष्ट्रिय आपराधिक संगठनहरू सीमा सुरक्षा, सार्वजनिक सुरक्षा र राष्ट्रिय सुरक्षाको लागि निरन्तर खतरा हुने भएकाले उनीहरुको सञ्जालमा उल्लेख प्रभाव पार्न सफल भएको पनि अधिकारीले दावी गरेका छन् ।
तस्विर : यूएस भन्सार र सीमा सुरक्षा