तीस करोड डलर भन्दा बढीका नक्कली चीनीयाँ सामान अमेरिकी सीमामा जफत
अमेरिका । होलिडे शपिङ्गको मुख्खैमा अमेरिकी भन्सार र सीमा सुरक्षा अधिकारी (सीबीपी) ले करोडौं मूल्यका नक्कली चीनीयाँ सामाग्री जफत गरेका छन् ।
लस एन्जलस समुन्द्री बन्दरगाहमा १३ हजार पाँच सय ८६ थान नक्कली डिजाइनर उत्पादन कन्टेनर जफत गरिएको सीबीपीले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ । ती सामाग्री चीनबाट आएको उल्लेख छ ।
सीबीपीका अधिकारीहरूले ह्यान्डब्याग, खेलौना, विभिन्न प्रकारका झोला, टिसर्ट, सर्ट,पाइन्ट जफत गरेको जनाएको छ । यी सामाग्री गुच्ची, च्यानल, फेन्डी, वाइएसएल, लुइस लगायतका ब्राण्डका ट्रेडमार्कहरू भएका छन् ।
नजिकिदो चाडबाड सँगै अमेरिकामा अहिले ठूलो मात्रामा किनमेल हुन्छ । क्रिसमश र नयाँ बर्षको लामो विदालाई ‘होलिडे शपिङ्ग’ पनि भनिन्छ । अधिकारीहरुले जफत गरिएको सामानको मुल्य तीस करोड अमेरिकी डलर भन्दा बढी रहेको जनाएका छन् ।
आर्थिक वर्ष सन् २०२० मा सीबीपीका कर्मचारीहरूले राष्ट्रव्यापी रूपमा २६ हजार पाँच सय तीन ढुवानीहरू जफत गरेको तथ्याङ्क छ । जसमा नक्कली सामानहरू लगभग एक दशमलव तीन बिलियनको भएको जनाइएको छ ।
सीबीपी अधिकारीहरुले युएस होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन एचएसआइको विशेष एजेन्टहरूसँगको सहकार्यमा ढुवानी जफत गरेको हो । लस एन्जलस फिल्ड अपरेसनका निर्देशक कार्लोस सी मार्टेलले ‘सीबीपीका अधिकारी नक्कली र पाइरेटेड सामाग्रीमा सतर्क रहेको र त्यस्ता तस्करी कार्यहरुलाई अवरोध गर्नमा केन्द्रित हुने बताए ।
अधिकारीहरुले यस्ता नक्कली उत्पादनका सामाग्री अवैध वेबसाइट र भूमिगत आउटलेटहरूमा बेचेको पाइएको जनाएका छन् । इ-कमर्सको उदयले अपराधीहरूका लागि आश्रय प्रदान गरेको र प्रसिद्ध वेबसाइटहरूमा देखिने वैध सूचीहरू पछाडि लुक्न सक्षम हुने गरेको पनि अधिकारीको भनाइ छ ।
‘नक्कली वस्तुहरूको बिक्रीले तस्करहरू र तस्करहरूको अवैध नाफालाई गुणा गर्दछ जसले त्यस्ता बिक्रीबाट प्राप्त आम्दानीलाई थप आपराधिक उद्यमहरूमा पुन: लगानी गर्दछ।’
लस एन्जलस सीपोर्टका पोर्ट निर्देशक डोनाल्ड आर. कुसर अगाडि थप्छन,’खराब अनलाइन प्लेटफर्महरू मार्फत नक्कली र असुरक्षित सामानहरू बेचेर ई-कमर्स सञ्चालनहरू शोषण गर्छन्, विशेष गरी बिदाको मौसममा जब पसलहरू डिलहरू खोजिरहेका हुन्छन् ।’ उनले नक्कली सामानहरू प्रायः खराब गुणस्तरका हुने त्यो असुरक्षित हुन सक्ने बताए ।
नक्कली सामानहरूबाट आफू र आफ्नो परिवारलाई जोगाउन उपभोक्ताहरूले सरल कदमहरू चाल्नु पर्ने डोनाल्डको भनाई छ । उनले ट्रेडमार्क धारक वा अधिकृत खुद्रा विक्रेताहरूबाट सीधा सामानहरू खरिद गर्न सुझाएका छन् । यस्तै अनलाइन किनमेल गर्दा, विक्रेता समीक्षा पढ्न तथा अमेरिकी फोन नम्बर र ठेगाना पनि जाँच गर्न आग्रह गरेका छन् ।
नक्कली र पाइरेटेड वस्तुहरूको व्यापारले अमेरिकाको नवप्रवर्तन अर्थतन्त्र, व्यवसायहरूको प्रतिस्पर्धात्मकता र केही अवस्थामा राष्ट्रिय सुरक्षा र उपभोक्ताहरूको स्वास्थ्य र सुरक्षालाई खतरामा पार्ने अधिकारीको भनाई छ ।
तस्वीरहरु : सीबीपी