ओहायोमा नेपाली भाषी भुटानी व्यवसायी सिन्चुरीको हत्या र लुटपाट प्रकरण : एक आरोपी पक्राउ, अर्का खतरनाक रहेको प्रहरीको चेतावनी
गोबिन्द गुरुङ ‘लेक्स’
कार्लाल, पेन्सिल्भेनिया / अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा नेपाली भाषी भुटानी व्यवसायीको हत्या र लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना आरोपीलाई पक्राउ गरेको छ ।
त्यस्तै, अर्का आरोपीको खोजी तीव्र बनाएको फेयरफिल्ड प्रहरी विभागले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । फेयरफिल्ड प्रहरी विभागका अनुसार गत महिना अक्टोबर २० मा दिउँसो करिब १ बजे दुई जना पुरुष एभरेस्ट ज्वलर्स नामक नेपाली गरगहना पसलमा प्रवेश गरेका थिए। उनीहरूले सामान खरिद गर्ने बहाना बनाएर पसलका सञ्चालक तारा सिन्चुरीसँग कुराकानी गरेका थिए।
केही समयपछि उनीहरूले बन्दुक निकाल्दा विवाद र सङ्घर्ष सुरु भएको थियो। सोही क्रममा पसल सञ्चालक सेन्चुरीको हत्या भएको प्रहरीले जनाएको छ। त्यसपछि अभियुक्तहरूले पसलमा रहेका बहुमूल्य सामान तथा गरगहना लुटेर घटनास्थलबाट फरार भएका थिए।
घटनाको सूचना पाए लगत्तै अनुसन्धानमा जुटेको फेयरफिल्ड प्रहरीले विभागको फ्लक अटोमेटेड लाइसेन्स प्लेट रिडर ‘एएलपीआर’ प्रणाली प्रयोग गरी घटनामा संलग्न हुन सक्ने एउटा सवारीसाधन पहिचान गरेको थियो। उक्त सुराक र पसलमा जडान गरिएको ‘सीसीटीभी’ फुटेजका आधारमा प्रहरीले दुई जना आरोपीको पहिचान गरी पक्राउ पुर्जी जारी गरेको थियो।
प्रहरीका अनुसार नोभेम्बर ४ मा अनुसन्धान टोली न्युयोर्क पुगेको थियो। अमेरिकी ‘यूएस मार्शल्स सर्भिस’को सहयोगमा कार्लोस इड्रोगो एरियास नाम गरेका एक आरोपीलाई पक्राउ गरिएको हो। उनी हाल ओहायो सुपुर्दगी गर्ने प्रक्रियाका लागि न्युयोर्कमा हिरासतमा रहेका छन्।
यस घटनामा संलग्न रहेको आरोप लागेका अर्का आरोपी रिचार्ड गुज्मान–गुज्मान भने अझै फरार छन्। उनी न्युयोर्क वा न्यु जर्सी क्षेत्रमा रहेको हुन सक्ने प्रहरीको अनुमान छ। उनको खोजी तथा पक्राउका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले फरार आरोपी रिचार्डलाई हतियारसहित खतरनाक व्यक्तिका रूपमा लिनुपर्ने भन्दै सर्वसाधारणलाई उनी नजिक नजान आग्रह गरेको छ। उनको अवस्थिति वा गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ।
त्यस्तै, घटनामा संलग्न दुवै आरोपी वा अनुसन्धानसम्बन्धी कुनै जानकारी भएका व्यक्तिलाई फेयरफिल्ड प्रहरी विभाग अथवा आफ्नो स्थानीय प्रहरी निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ।
फेयरफिल्ड प्रहरीले अनुसन्धानमा सहयोग पुर्याउने संघीय निकायहरू फेडरल ब्युरो अफ इन्भेस्टिगेसन ‘एफबीआई’, होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स ‘एचएसआई’, ब्युरो अफ अल्कोहल, टोबाको, फायरआर्म्स एन्ड एक्सप्लोसिभ्स ‘एटीएफ’ तथा यूएस मार्शल्स सर्भिसप्रति धन्यवाद व्यक्त गरेको छ।
यस्तो ठूलो प्रकृतिको अपराध अनुसन्धानका लागि पर्याप्त स्रोतसाधन र विभिन्न निकायबीच समन्वय आवश्यक पर्ने उल्लेख गर्दै प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याउन सबै साझेदार निकायको सहयोग महत्त्वपूर्ण रहेको जनाएको छ।
तस्वीर सौजन्य: फेयरफिल्ड प्रहरी विभाग



















