राष्ट्रपति ट्रम्पलाई नवनिर्वाचित सिनेटर सयदको प्रस्ताव : सबै अमेरिकीलाई निःशुल्क स्वास्थ्य सेवा
मिचिगन / अमेरिकी इतिहासमा मुस्लिम समुदायबाट निर्वाचित पहिलो सिनेटर अब्दुल एल–सयदले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकामा सबै नागरिकलाई जन्मदेखि मृत्युसम्म निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रस्ताव गरेका छन् ।
मिशिगनका नवनिर्वाचित सिनेटर सयदले सामाजिक सञ्जालमार्फत ट्रम्पलाई सम्बोधन गर्दै भनेका छन्, “डोनाल्ड, यो प्रस्ताव तपाईँका सामु छ। प्रत्येक अमेरिकीलाई जन्मदेखि मृत्युसम्म स्वास्थ्य सेवाको ग्यारेन्टी गरौँ।”
यो अभिव्यक्ति उनको लामो समयदेखिको ‘मेडिकेयर फर अल’ नीतिको समर्थनसँग जोडिएको छ। नोभेम्बर ११ मा सीएनएनसँगको अन्तर्वार्तामा उनले ट्रम्प सार्वभौम स्वास्थ्य सेवा योजना अघि बढाउन तयार भए त्यसको नाम ‘ट्रम्पकेयर फर अल’ राख्न पनि आफू तयार रहेको बताएका थिए।
सायदले बिहीबार आफ्नो सामाजिक सञ्जालमा यो विषय फेरि उठाएका छन् । उनले ‘ट्रम्प केयर’ भन्दै स्वास्थ्य बीमा कार्डको नमुना समेत फेसबुकमा राखेका छन् ।
सयदले प्रस्तावको नामभन्दा त्यसले दिने सुविधा महत्त्वपूर्ण भएको स्पष्ट पारेका छन्। ट्रम्पलाई आफ्नो नाममा योजना ल्याउन रुचि हुने टिप्पणी गर्दै उनले त्यसको श्रेय ट्रम्पले लिए पनि आफूलाई आपत्ति नहुने बताउँदै आएका छन् ।
उनले योजनाअन्तर्गत कुनै पनि अमेरिकीले स्वास्थ्य उपचारका लागि मासिक प्रिमियम, को–पे वा डिडक्टिबल तिर्नु नपर्ने उनको प्रस्ताव छ। अर्थात् आर्थिक अवस्थाका कारण कसैले पनि उपचारबाट वञ्चित हुनुपर्ने छैन।
उनले अमेरिकामा अहिले नै करिब २२५ अर्ब डलर बराबरको स्वास्थ्य उपचारसम्बन्धी ऋण रहेको उल्लेख गर्दै यस्तो व्यवस्थाले नागरिकलाई मेडिकल ऋणको बोझबाट जोगाउन सक्ने बताएका छन्। स्वास्थ्य उपचारका कारण परिवार आर्थिक संकटमा पर्नुपर्ने अवस्था अन्त्य गर्नु उनको प्रस्तावको प्रमुख उद्देश्य हो।
सयदको प्रस्ताव ‘मेडिकेयर फर अल’ अवधारणामा आधारित छ। हालको मेडिकेयर कार्यक्रम मुख्यतः ६५ वर्षमाथिका नागरिक तथा निश्चित अपाङ्गता भएका व्यक्तिका लागि हो। तर मेडिकेयर फर अलले सबै अमेरिकीलाई सरकारी वित्तपोषणमा स्वास्थ्य सेवा उपलब्ध गराउने परिकल्पना गर्छ।
अमेरिकामा अहिले सरकारी स्वास्थ्य बीमा ओबामा केयरबाट परिचित छ । तर ट्रम्प प्रशासनले पछिल्ला वर्ष सरकारी स्वास्थ्य बीमा सुविधाहरू भारी मात्रामा कटौती गरेको छ ।


















