न्युजर्सीबाट उडेको विमान अपहरणको प्रयास गरेको आरोपमा होन्डुरसका नागरिक पक्राउ
न्युजर्सी / न्युजर्सीको नेवार्कबाट लुइजियानाको न्यु अर्लिन्सतर्फ उडिरहेको युनाइटेड एयरलाइन्सको विमान अपहरण गर्ने प्रयास गरेको आरोपमा होन्डुरसका एक नागरिक पक्राउ परेका छन्।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) का अनुसार रोनी अलेक्जान्डर गोमेज–अल्बेर्टोले नोभेम्बर ९ मा विमानको ककपिटमा जबर्जस्ती प्रवेश गर्ने प्रयास गरेका थिए। उनले आफूसँग बम रहेको दाबीसमेत गरेका थिए।
विमान अवतरण भएपछि उनलाई नियन्त्रणमा लिएर बम राखेको धम्की दिएको, आतंककारी प्रकृतिको धम्की दिएको र अव्यवस्थित व्यवहार गरेको अभियोग लगाइएको छ।
घटनाको भोलिपल्ट नोभेम्बर १० मा इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले स्थानीय अधिकारीसमक्ष हिरासत अनुरोध (डिटेनर) जारी गर्दै उनलाई रिहा गर्नुअघि आइसलाई जानकारी दिन आग्रह गरेको छ।
दुईपटक देशनिकाला, तेस्रोपटक प्रवेशपछि शरण
डीएचएसका अनुसार गोमेज–अल्बेर्टोलाई यसअघि दुईपटक अमेरिकाबाट देशनिकाला गरिएको थियो। त्यसपछि तेस्रोपटक गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका उनले आफू ट्रान्सजेन्डर भएको र सोही कारण आफ्नो देश फर्किएमा हत्या हुन सक्ने डर रहेको भन्दै एसाइलम मागेका थिए।
विभागका अनुसार अध्यागमन न्यायाधीशले उनको शरण आवेदन स्वीकार गरेपछि उनलाई अमेरिकामा बस्न अनुमति दिइएको थियो।
डीएचएस सचिव मार्कवेन मुलिनले यस घटनालाई अमेरिकी शरण प्रणालीको कमजोरीसँग जोड्दै आलोचना गरेका छन्। उनले दुईपटक देशनिकाला भइसकेको व्यक्तिले शरण प्रणालीको दुरुपयोग गरेर अमेरिकामा बस्ने अनुमति पाएको आरोप लगाएका छन्।


















