ट्रम्पको चेतावनी : मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न आप्रवासी काराभान अघि बढ्दै
वासिङ्टन डीसी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको हुँदै अमेरिकातर्फ अघि बढ्ने आप्रवासीका ठुला समूह (काराभान) गठन भइरहेको दाबी गर्दै त्यसलाई मेक्सिकोले तत्काल रोक्नुपर्ने बताएका छन्।
ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा लेख्दै यी समूहमा विभिन्न देशले आफ्नो मुलुकमा राख्न नचाहेका व्यक्तिहरू पनि रहेको दाबी गरेका छन्।
उनले लेखेका छन्, “ठुला आप्रवासी समूह गठन भइरहेका छन् र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने यात्रामा अघि बढ्न थालेका छन्। यी समूहमा विभिन्न देशले आफ्ना नागरिकका रूपमा राख्न नचाहेका मानिसहरू पनि छन्। उनीहरू ‘अमेरिका पठाइदेऊ’ भनिरहेका छन्। तर उनीहरूलाई अमेरिकामा प्रवेश दिइने छैन।”
ट्रम्पले मेक्सिकोलाई त्यस्ता समूह तत्काल रोक्न आग्रह गर्दै मेक्सिको सरकार, टेक्ससका गभर्नर, अमेरिकी सीमा सुरक्षा निकाय (बोर्डर पेट्रोल) र इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) लाई यसबारे जानकारी गराइसकेको बताएका छन्।
उनले टेक्ससका नयाँ गभर्नरलाई समेत उल्लेख गर्दै सीमा सुरक्षा निकाय र आइसलाई आवश्यक तयारीका लागि सूचित गरिएको जनाएका छन्।
ट्रम्पले यसअघि पनि मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासी समूहलाई रोक्न सीमा सुरक्षा कडा बनाउने र गैरकानुनी आप्रवासन नियन्त्रण गर्ने नीति अघि सार्दै आएका छन्।


















